गाली गर्नेलाई ३ घण्टा, कर्णालीको आवाज सुनाउनेलाई ३ मिनेट : सांसद महत- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाली गर्नेलाई ३ घण्टा, कर्णालीको आवाज सुनाउनेलाई ३ मिनेट : सांसद महत

'हामी बोल्ने बेला तालाचाबी लगाइदिनुहोला, अनि जतिबेला बोल्न मन लाग्छ आउनुहोला र तालाचाबी खोल्नुहोला।'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले संसद्‍मा कर्णालीको आवाज प्राथमिकतामा नपर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा आगामी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले कर्णालीका कुरा सुनाउन ३ मिनेट समय छुट्याइने गरेको बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको बिहीबारको सम्बोधनलाई लक्षित गर्दै उनले भने, 'यहाँ गाली गर्नेलाई ३ घण्टा छ, कर्णालीको आवाज सुनाउनेलाई ३ मिनेट छ । त्यसो भएकाले पनि मलाई अलि गाह्रो भइरहेको छ । कसरी बोल्ने के बोल्ने भन्नेमा गाह्रो भइरहेको छ ।'

उनले एमालेले आफूले धित मरुन्जेल बोल्ने र अरुले बोल्दा अवरोध गर्ने गरेको बताए । 'सदनभित्र हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइँदैन कि भन्ने लाग्याथ्यो अलि ठूलो स्वर गर्‍यो भने अवरोध हुने हो कि भनेर म चिन्तामा छु उहाँहरू धित मरुन्जेल यहाँ गाली गर्नुहुन्छ तपाईंहरू धित मरुन्जेल बोल्नुहोला,' उनले भने । त्यस्तै रोस्ट्रमबाट तालाचाबी देखाउँदै उनले भने, 'हामी बोल्ने बेला तालाचाबी लगाइदिनुहोला, अनि जतिबेला बोल्न मन लाग्छ आउनुहोला र तालाचाबी खोल्नुहोला।'

त्यस्तै उनले संसद्‍‍मा सम्बोधन गर्दा दुइटा शब्द सच्याइनुपर्ने भन्दै व्यंग्यसमेत गरे । उनले भने, 'हिजो सच्याउने कुरा आयो, यहाँ दुइटा शब्द सच्याउने पर्ने भयो दानवीर बलीको ठाउँमा दानवीर ओली राख्नुपर्‍यो सभामुख महोदय, त्यस्तै बलिदानको ठाउँमा ओलीदान बनाउनुपर्‍यो किनभने उहाँले बलिदानलाई त स्वीकार्नुहुँदैन ।'

उनले सरकारलाई कृषिलाई प्राथमिकतामा राख्न पनि आग्रह गरे । 'पाँच लाख युवालाई १/१ लाख रुपैयाँका दरले सूर्यमुखी र भटमास लगाउन योजना ल्याउनुपर्‍यो . त्यस्तै १० लाख किसानलाई भैंसी पाल्न लगाएर मलको अभाव हटाउनुपर्‍यो,' उनले भने ।

जुम्लाका सांसद महतले तातोपानी गाउँपालिकामा कांग्रेस कार्यकर्ताले माओवादी कार्यकर्तालाई आक्रमण गरेको र आक्रमणकारीविरुद्ध मुद्दा दर्ता नभएको भन्दै आपत्तिसमेत जनाए ।

प्रकाशित : जेष्ठ १४, २०७९ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्

तानसेनमा आगलागीबाट हुने विपद् जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास

माधव अर्याल

पाल्पा — पाल्पाको तानसेन टुँडिखेलमा आगलागीबाट हुने विपद् जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना र नेपाली सेना, प्रहरी, रेडक्रस सोसाइटी, तानसेन नगरपालिकाको संयोजनमा आगलागीको घटनालाई लिएर प्रयोगात्मक अभ्यास गराइएको हो ।

गर्मी मौसममा हुने आगलागीको जोखिमलाई मध्यनजर गरेर विपद् प्रतिकार्यका लागि अभ्यास गरिएको नेपाली सेनाको दि फेमस महेन्द्र दल गणका प्रमुख सेनाली रमेश खड्काले बताए । आगलागी नियन्त्रण, घटनाको तथ्यांक संकलन, खोज उद्धार, प्राथमिक उपचार, आपत्कालीन स्वास्थ्यलगायत विषयलाई अभ्यास गराइएको उनले बताए ।

आगलागीमा पर्नेहरुको उद्धार, घाइतेलाई उपचार, आगलागी नियन्त्रण, सुरक्षाकर्मीको तयारीलगायत विषयलाई प्रयोगात्मक अभ्यासबाट देखाइएको थियो । नेपाली सेनाका सकल दर्जाले विपद् आइपर्दा के गर्ने भन्ने विषयमा अभिनय गरेका थिए । रेडक्रसका स्वयंसेवक, प्रहरीले पनि सघाएका थिए । विपद्का घटना जतिबेला जहाँ पनि हुन सक्ने भएकाले पूर्वतयारी स्वरुप कृत्रिम अभ्यास गराइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

घटना भइहालेमा खोज तथा उद्धार, प्राथमिक उपचार, आपतकालिन स्वास्थ्यसम्बन्धी ज्ञान प्रदान गर्नका लागि पूर्वअभ्यास गराइएको उनले बताए । ‘आगजनीको विषयलाई प्रकोपको कृत्रिम घटना बनाएर खोज, उद्धार, प्राथमिक उपचार, घटनाको विवरण संकलन, आपत्कालीन स्वास्थ्यका विषयमा प्रयोगात्मक अभ्यास गराइएको छ,’ उनले भने, ‘यसबाट सचेतना हुनुका साथै सरोकारवाला निकायको सिकाइ हुन्छ ।’

अभ्यासमा खटिएकाहरु कोही घाइते बनेको अभिनय गरेका थिए । कतिपय उपचार, उद्धारमा खटिएका थिए । नेपाली सेना, प्रहरी पनि अभ्यासमा खटिएका थिए । घाइतेको उद्धार, उपचार, घटनाको विवरणलाई छोटोसमयमा दुरुस्त पारिएको थियो । विपद् व्यवस्थापन समितिलाई विपद्का घटना जहाँ र जहिले पनि हुन सक्ने भएकाले पूर्वतयारी स्वरुप कृत्रिम अभ्यान गराइएको प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।

‘टुँडिखेलमा ठूलै विपद् आइलागेको जस्तो भए पनि यो प्रयोगात्मक अभ्यास हो,’ उनले भने, ‘यसबाट सुरक्षा निकायबाट हुने राहत र उद्धारका लागि सिकाइ भएको छ ।’ काम गर्ने निकायलाई आगामी दिनमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा थप निखार आउने भएकाले यस्तो अभ्यासले फाइदा नै पुग्ने सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताइन् ।

प्रकाशित : जेष्ठ १४, २०७९ १४:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×