संसद्‌मा ओलीले दिएको अभिव्यक्ति गन्थनमात्रै हो : महामन्त्री थापा

काठमाडौँ — सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसद्‌मा दिएको अभिव्यक्ति गन्थन मात्रै भएको टिप्पणी गरेका छन् ।

संसद्‌मा ओलीले दिएको अभिव्यक्ति गन्थनमात्रै हो : महामन्त्री थापा

स्थानीय चुनावमा रन्थनिएका बेला ओलीले सरकारको नीति तथा कार्यक्रममाथि गन्थनमात्रै प्रस्तुत गरेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको जवाफ दिइरहन आवश्यक नभएको तर्क गरेका हुन् । शनिबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले ओलीको अभिव्यक्तिमा निर्वाचनमा हार बेहोरेको कुण्ठाबाहेक कुनै प्रश्न नभएको; विचार नभएको र असहमति पनि नभएको जिकीर समेत गरेका छन् ।

निर्वाचनको हारपछि रन्थनिएको बेला अध्यक्ष ओलीले संसद्‌मा बसेर, उठेर जसरी बोले पनि आफ्नो सहानुभूति रहेको महामन्त्री थापाको भनाइ थियो । उनले विपक्षी दलको नेताले कहाँ र कसरी बोल्ने भन्नेबारेमा हेक्का राख्नुपर्ने बताए । ‘प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति व्यक्त हुन्छ; असहमति व्यक्त हुन सक्छ । तर‚ कुण्ठामा त्यस्तो केही पनि हुँदैन । कुण्ठामा केवल सहानुभूति मात्रै प्रकट हुन्छ; त्यसैले यो बेलामा साथीहरूले भन्नुभो- घण्टौं बसेर बोल्ने ? मैले भने यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोले पनि हुन्छ । पलेँटी कसेर बोलेपनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ‚’ महामन्त्री थापाले भने, ‘अहिले हामीले सुनिदिनु पर्छ । कहाँ बोल्ने, कहिले बोल्ने भन्ने कुरा बोल्नेले हेक्का राख्ने कुरा हो । हामी केवल विचरा मात्रै भन्न सक्छौं ।’

विपक्षी दलले निर्वाचन हुँदैन भनिरहेका बेला सरकारले शानदार ढंगले निर्वाचन गराएको र त्यो पनि एकैपटकमा सम्पन्न भएको उनले बताए ।

महामन्त्री थापाले सरकारले मंसिरमा संघ र प्रदेशको चुनाव सम्पन्न गराउने दाबी गरेका छन् । स्थानीय तहको निर्वाचन शानदार ढंगले एकैपटक सम्पन्न गराएको सरकारले मंसिरभित्र संघ र प्रदेशको चुनाव गराउने उनले बताए । उनले मुलुकमा गम्भीर ढंगले आर्थिक संकेट देखा परेको उल्लेख गर्दै त्यसलाई हल गरेर अघि बढ्न सरकारले पेट्रोलियम पदार्थमाथिको परनिर्भरता हटाउने गरी महत्त्वकांक्षी योजनाका साथ काम गर्नुपर्नेसमेत बताए ।

सदनमा बोल्दै महामन्त्री थापाले सरकारले परराष्ट्र नीतिलाई सन्तुलित ढंगले अघि बढाउनुपर्ने आवश्यकतासमेत औंल्याए ।

प्रकाशित : जेष्ठ १४, २०७९ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?