३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

निर्वाचनलाई लिएर सरकारमाथि धारेहात लगाउनु बेठीक छ : दाहाल 

काठमाडौँ — सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा सरकारले धाँधली गरेको भनेर प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ‌ओलीले 'धारेहात लगाउनु बेठीक' भएको बताएका छन् । 

निर्वाचनलाई लिएर सरकारमाथि धारेहात लगाउनु बेठीक छ : दाहाल 

प्रतिनिधिसभाको शनिबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा दाहालले स्थानीय तह निर्वाचनमा कमीकमजोरी भएका छन् भने समीक्षा गर्नुपर्ने तर प्रतिपक्षी दलका नेताले भनेजस्तो धाँधली नभएको बताए । पराजित भएपछिको अभिव्यक्ति ओलीले दिएको उनको भनाइ थियो । 'स्थानीय तह निर्वाचन मूलभूत रूपमा सफल भएको छ । हामी सबै सहभागी भएको निर्वाचन मतगणना हुँदै जाँदा, मतपरिणाम आउँदै गर्दा पराजित भएपछि सरकारमाथि धारेहात लगाउने विल्कुल बेठीक छ,' उनले भने ।

दाहालले स्थानीय तह निर्वाचनमा सरकारको हस्तक्षेप भएको र धाँधली गरेको भन्ने कुरा निर्वाचन अवधिमा किन नउठाएको भनेर पनि प्रश्न गरे । उनले भने, 'समयमा किन उठाएनौं ?'

स्थानीय तह निर्वाचन संघीय लोकतान्त्रिक गणन्त्रलाई संस्थागत गर्ने, संविधानलाई गतिशील र कार्यान्वयन गर्न कोशेढुंगा सावित भएको दाहालले बताए । 'यो निर्वाचनले बलियो सन्देश ती सबै तत्वहरूलाई दिएको छ जसले कुनै न कुनै ढंगले संविधान मिच्न चाहने, कमजोर पार्ने वा उल्ट्याउन चाहने तत्वहरूलाई जनताले राम्रो जवाफ दिएको छ,' उनले भने, 'जनताले आफ्नो तवरले

संविधान, लोकतन्त्र र राष्ट्रको हितमा भनेर झन्डै दुर्घटनामा जान लागेको संविधान र गणतन्त्र ट्र्याकमा ल्यायो । नेपाली समाज नै एकताबद्ध भएको अनुभव गरेका छौं । निर्वाचन प्रक्रिया मार्फत जनताले लामो संघर्ष र बलिदानपछि प्राप्त भएको संविधानलाई कार्यान्वयन गर्न, व्यवहारमा उतार्न तत्परता, उत्साह र गम्भीरता प्रदर्शन गर्‍यो ।'

प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीलाई कुन कारणले एमाले पहिलोबाट दोस्रो स्थानमा आएको हो भन्ने कुरा स्पष्ट पार्न आग्रह गरेका छन् । पार्टीभित्र अन्तरघातले पराजित भइयो भन्ने अनि सार्वजनिक मञ्चमा सरकारको धाँधलीका कारण भन्ने दोहोरो कुरा भएको दाहालको भनाइ थियो । 'मैले नबुझेको कुरा उहाँले पार्टीभित्र र सार्वजनिक रूपमा फरक-फरक मूल्यांकन आयो । निर्वाचनमा आफ्नो स्थिति कमजोर किन भयो भन्ने किसिमको एउटा संश्लेषण आयो त्यो लज्जास्पद अन्तरघातका कारणले हामीले धेरै ठाउँमा पराजय भोग्नुपर्‍यो, दाहालले भने, 'त्यो अन्तरघात गरियो भन्ने मुख्य हो कि सरकारले धाँधली गरेको भनेको मुख्य हो ? आफैभित्रको अन्तरघात खोज्ने कुरा मुख्य हो कि सरकारले लिएको नीति क्रियाकलाप मुख्य हो प्रस्ट भएको देखिएन ।'

प्रकाशित : जेष्ठ १४, २०७९ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?