कुटाइबाट घाइते अस्पतालमा, श्रीमान् हिरासतमा

घाइते महिलाको शल्यक्रिया गर्ने तयारी
रमेशकुमार पौडेल

चितवन — श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा चितवन प्रहरीले खैरहनी नगरपालिका–१० कठारका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले ४० वर्षीय ती पुरुषलाई जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी गरेको छ ।

उपचारमा संलग्न चिकित्सक र उद्धार गरेका आफन्तका अनुसार श्रीमान्को कुटाइबाट ती महिलाको कम्मरको तल्लो भागमा नराम्ररी चोट लागेको छ भने यौनांग क्षतविक्षत छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले कुटपिट भएको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेको बताए ।

बिहीबार साँझ ७ बजेतिर झगडा गर्दै ती व्यक्तिले श्रीमतीलाई कुटेका थिए । घटनापछि उनलाई तत्कालै खैरहनी प्रहरीले समाएको र घाइतेलाई उपचारका लागि भरतपुरको सरकारी अस्पताल ल्याएको घटनास्थल पुगेकी खैरहनी–१० की वडा सदस्य जेयान्तीकुमारी पासवानले बताइन् । ‘गुप्तांगमा गम्भीर चोट पुर्‍याएको देखिन्छ, ढाडमा बेस्सरी कुटपिट गरेझैं छ, कम्मर आडको हड्डीमा पनि चोट छ, हामी शल्यक्रियाको तयारीमा छौं,’ भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भने ।

घाउचोट हेरेका शल्यचिकित्सक डा. दीपेन्द्र न्यौपानेले पनि अवस्था गम्भीर रहेको बताए । ‘चोटहरू निकै गम्भीर छन्, चोटको अवस्था हेरेर आजभोलिमै शल्यक्रिया गर्ने योजनामा छौं, चोट त निको होला तर दिसा रोक्न गाह्रो हुने जस्ता समस्या रहिरहने देखिन्छ,’ डा. न्यौपानेले भने ।

भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण पौडेलले घाइते महिलाको सबै उपचार निःशुल्क हुने बताए । अस्पतालमा रहेका आफन्तका अनुसार श्रीमान्–श्रीमतीबीच सधैं झगडा हुन्थ्यो तर यस पटक अति नै भएको उनीहरूले बताए । ‘रक्सी खान्छन् र झगडा सुरु गर्छन्, हिजो साँझ पनि त्यही भयो तर यसरी मर्ने गरेर कुटपिट त भएको थिएन,’ महिलाकी कान्छी देउरानीले भनिन् । उनका माइला देवरले कमाइका विषयमा दाजुभाउजूबीच भनाभन हुने गरेको बताए । ‘दाइ केही काम गर्दैनन्, हल्लिएर हिँड्छन्, रक्सी खान्छन्, माछा मार्ने, निमेक र ज्याला मजदुरी गरेर घर चलाउने काम भाउजूले गर्दै आउनुभएको छ,’ देवरले भने ।

वडा सदस्य पासवानले श्रीमान्ले कुटेर ती महिलाको मुहार सधैं सुन्निएजस्तो देखिने गरेको तर बिहीबार साँझ कल्पना नै गर्न नसकिने घटना भएको सुनाइन् । कुटपिट गर्ने श्रीमान्लाई गाउँलेहरूले समाएर प्रहरीको जिम्मा लगाएका थिए । श्रीमान्–श्रीमतीको उमेर ४० वर्षको हाराहारीमा छ । उनीहरूका तीन छोरीहरू छन् ।

प्रकाशित : जेष्ठ १४, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?