सेनाले मनायो ‘इन्टरनेशनल डे अफ यूएन पिसकिपिङ–२०२२’


काठमाडौँ — विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकहरुले पुर्याएको योगदानको स्मरण र कदर स्वरुप मनाइने ‘इन्टरनेशनल डे अफ यूएन पिसकिपिङ–२०२२’ नेपाली सेनाले शुक्रबार मनाएको छ ।

पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा गृहमन्त्री बालकृष्ण खाँणसहित संयुक्त राष्ट्रसंघीय शान्ति कार्यमा संलग्न हुने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा विश्व शान्ति स्थापनाको सिलसिलामा ज्यान गुमाएका शान्ति सैनिकहरुको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण गरिएको थियो । प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसंघको झण्डोत्तोलन गरेका थिए ।
यस क्रममा गृहमन्त्री खाँणले यस वर्ष शान्ति स्थापना कार्यमा निःस्वार्थ भावनाले बहादुरीपूर्वक कार्य गरी विशेष योगदान पुर्याएका दुई जनालाई प्रशंसापत्रसहित सम्मान गरेका थिए । साथै ज्यान गुमाउनेका परिवारलाई उनले सम्मान गरे ।
कार्यक्रममा गृहमन्त्री खाँणले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विश्व शान्ति स्थापनामा खटिएदेखि नै प्रदर्शन गरेको पेशागत दक्षता एवं समर्पणको प्रशंसा गरेका थिए । उनले तीनवटै सुरक्षा निकायका शान्ति सैनिकहरुले शान्ति स्थापनामा पुर्याएको योगदानका लागि विगत र हालका नेतृत्वहरुलाई बधाइ दिए ।
प्रधान सेनापति शर्माले हालका दिनमा यूएन मिसनहरुमा बढ्दो सुरक्षा जटिलतालाई दृष्टिगत गरी शान्ति सैनिकहरुको पेशागत क्षमता अभिवृद्धि गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए । शर्माले संयुक्त राष्ट्र संघका महासचिवको लैङ्गिक समानता रणनीतिप्रति नेपाली सेना प्रतिबद्ध रहेको भन्दै भविष्यमा शान्ति मिसनहरुमा महिला सहभागितालाई उल्लेखनीय रूपमा वृद्धि गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे ।
