रञ्जन कोइराला बानेश्वरबाट पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रञ्जन कोइराला बानेश्वरबाट पक्राउ

मातृका दाहाल

काठमाडौँ — सर्वोच्च अदालतले यसअघिको फैसला बदर गरेसँगै सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला शुक्रबार पुनः पक्राउ परेका छन् । व्यक्ति हत्या अभियोगमा जन्मकैदको सजाय पाएर पनि सर्वोच्चले दुई वर्षअघि कैदमा भारी छुट दिएपछि कोइराला छुटेका थिए ।

जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष कायम गर्ने सर्वोच्चको यसअघिको फैसला बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशद्वय टंक मोक्तान र कुमार चुडालको पूर्ण इजलासले उल्ट्याएपछि कोइराला सम्पर्कविहीन भएका थिए । अदालतको फैसलालगत्तै फरार भएका उनलाई शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

२०६८ पुसमा पत्नी गीता ढकालको हत्या अभियोगमा जिल्ला अदालत काठमाडौं र तत्कालीन पुनरावेदन अदालत पाटनबाट दोषी ठहर भएपछि कोइराला डिल्लीबजार कारागारमा थिए । पत्नी गीताको हत्या गरी कोइरालाले मकवानपुरको टिस्टुङमा लगेर शव जलाएको अनुसन्धानबाट खुलेको थियो । तर, कसुर अस्वीकार गर्दै कोइरालाका तर्फबाट सर्वोच्चमा परेको रिटमाथि फैसला गर्दै २०७७ असार १५ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष कायम गरेपछि उनी साउन ८ मा कारागारमुक्त भएका थिए । त्यसयताको दुई वर्ष कारागारबाहिर रहेका कोइराला सर्वोच्चको बिहीबारको फैसलाले पुनः कारागार चलान हुने भएका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले कोइरालालाई सोमबार सर्वोच्चमा उपस्थित गराएर कारागारको जिम्मा लगाइने बताए । शनिबार र आइतबार बिदा परेका कारण अदालत बन्द हुने भएपछि सोमबार मात्रै कोइरालालाई सर्वोच्चमा उपस्थित गराइने उनले जानकारी दिए । सर्वोच्चको बिहीबारको फैसलासँगै कोइरालाले साढे ११ वर्ष कारागार बस्नुपर्नेछ ।

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले उनलाई जन्मकैदको फैसला सुनाए पनि दुई वर्षअघि प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलासले ‘२० वर्ष कैद गर्दा चर्को पर्न जाने चित्तमा लागेको’ भन्दै सजाय घटाउने फैसला गरेको थियो । त्यतिन्जेल आठ वर्ष ६ महिना थुनामा बसेका कोइरालालाई ‘त्यति नै जेल बस्दा पनि सजायको मकसद पूरा हुन्छ’ भन्ने ठहर सर्वोच्चले गरेको थियो । तर, फैसला गैरकानुनी भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिएको थियो । निवेदनपछि २०७७ साउन ११ मा सर्वोच्चले आफ्नै पहिलेको फैसला पुनरावलोकन गर्ने आदेश दिएको थियो । बिहीबार गोला प्रक्रियाअनुसार तोकिएको तीन सदस्यीय पूर्ण इजलासले हाल निलम्बनमा रहेका जबरासहितको इजलासले गरेको फैसला उल्ट्याइदिएपछि कोइरालाको जन्मकैद पहिलेकै कायम भएको हो ।

काठमाडौं जिल्ला अदालतले २०७१ वैशाख ७ मा उनलाई पत्नी हत्याको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । काठमाडौंका न्यायाधीश महम्मद जुनैद आजादको इजलासले गरेको फैसलालाई पुनरावेदन अदालत पाटनले २०७२ मंसिर २३ मा सदर गरेको थियो । त्यसविरुद्ध कोइराला सर्वोच्च अदालत गएका थिए । कोइराला एकवर्षे नेसनल डिफेन्स कोर्सका लागि २०६८ भदौमा चीन गएका थिए । चार महिनापछि २०६८ पुस २१ मा बिदामा नेपाल आएका उनले पुस २७ मा गीताको घर पुगी कान्छो छोरा लिएर निस्किएका थिए । त्यसको केही दिनमै गीता सम्पर्कविहीन भइन् । माइती पक्षले उनको खोजबिन गर्न प्रहरीमा निवेदन दिएपछि अघि बढेको अनुसन्धानका क्रममा कोइरालाले गीताको हत्या गरी टिस्टुङमा लगेर शव जलाएको खुलेको थियो ।

यो पनि

प्रकाशित : जेष्ठ १३, २०७९ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्

इलनविरुद्ध मुद्दा, ट्वीटरको सेयर मूल्य घटाएको आरोप

एजेन्सी

काठमाडौँ — खर्बपति इलन मस्कमाथि ट्वीटरका सेयरधनीले मुद्दा हालेका छन् । कम्पनीको सेयर मूल्य घटाउन नियोजित भूमिका खेलेको आरोप उनीमाथि लगाइएको छ । ४४ बिलियन डलरमा ट्वीटर किन्ने सम्झौता गरेयता मस्कले ट्वीटरसँग अनेक विवरण मागिरहेका छन् । ती उपलब्ध नगराएसम्म खरिद सम्झौता यथास्थितिमा राख्ने उनको भनाइ छ । यसले ट्वीटरको सेयर मूल्य खस्काउन सहयोग गरेको कम्पनीका लगानीकर्ताको भनाइ छ ।

मस्कले ट्वीटर नकिन्न वा आफूले किन्ने ४४ बिलियन डलरबाट भाउ घटाउन यस्तो चाल गरेको हुन सक्ने कतिपयको अनुमान छ । विद्युतीय गाडी, टेस्लाका मालिक मस्कले ट्वीटरसँगको सम्झौताप्रति द्विविधा सिर्जना गरेर त्यसबाट फाइदा उठाउन खोजेको सेयरधनीहरूको आरोप छ । सान फ्रान्सिस्कोस्थित संघीय अदालतमा बुधबार मुद्दा दायर गरिएको रोयटर्सले जनाएको छ । समाचारअनुसार भर्जिनियाका विलियम हेरेस्निआकले मुद्दा हालेका हुन् । मस्कले ट्वीटरका बट एकाउन्ट (स्वचालित एकाउन्ट)को वास्तविक तथ्यांक उपलब्ध नगराएसम्म ट्वीटर खरिद प्रक्रिया अघि नबढाउने बताएका छन् । ट्वीटरमा मानिसहरूको एकाउन्टभन्दा धेरै बट एकाउन्ट रहेको बारे थाहा हुँदाहुँदै मस्कले यसमा अड्को थापिरहेकोमा विलियमको आपत्ति छ । 'उनले ट्वीटरको सेयर मूल्य घटाउन यस्तो चालबाजी गरेका हुन्,' विलियमले दायर गरेको मुद्दाको पत्रमा भनिएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७९ १८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×