१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

एमालेलाई कमजोर बनाएर गठबन्धन शक्तिशाली बन्न खोज्दैछ : अष्टलक्ष्मी शाक्य

‘एमालेलाई कमजोर बनाएर देश बलियो हुँदैन’
सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एमालेलाई कमजोर बनाएर सत्तारुढ गठबन्धन शक्तिशाली बन्न खोजेको आरोप लगाएकी छन् ।
शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दसौं अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै विपक्षी दलकी नेता शाक्यले सत्ता गठबन्धन शक्तिको दुरुपयोग गरेर लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्दत भएको आरोप लगाएकी हुन् ।

एमालेलाई कमजोर बनाएर गठबन्धन शक्तिशाली बन्न खोज्दैछ : अष्टलक्ष्मी शाक्य

उनले स्थानीय तह निर्वाचन सकिएसँगै गठबन्धन प्रदेश र संघको चुनावको मिति तोक्न हतारिएको बताइन् । उनले मंसिरअगावै संघ र प्रदेशको निर्वाचन गर्न वर्तमान सरकारको तयारी भइरहेको बताइन् ।

‘स्थानीय तहको निर्वाचनमा गठबन्धनले देखाएको चरित्रका कारण हाम्रो निर्वाचन प्रणाली, संघीयता र राजनीतिक दलप्रति नै प्रश्न उठेका छन्,’ उनले भनिन् । उनले एमालेलाई कमजोर बनाएर देश बलियो नहुने बताइन् । ‘लोकतन्त्र, गणतन्त्र र संघीयता जोगाऔं । यो हाम्रो साझा विषय हो । दललाई कमजोर बनाएर लोकतन्त्र बलियो हुँदैन । दल बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ,’ उनले भनिन् ।

शाक्यले वाग्मतीमा प्रदेश सरकार जनताले महसुस गर्न नपाएको बताइन् । ‘केन्द्रीय राजधानीमा दैनिक रूपमा विभिन्न घटनाहरू भइरहेका छन् । यस विषयमा प्रदेश सरकार मौन देखिन्छ । काठमाडौं पनि प्रदेशको एउटा जिल्ला हो । त्यहाँको समस्या समाधानमा पनि हाम्रो ध्यान जान जरुरी छ । यस्ता विषयलाई पनि हाम्रो कानुनमा समेट्न जरुरी छ,’ उनले भनिन् ।

शाक्यले प्रदेशसभा समितिलाई प्रभावकारी बनाउन जरुरी रहेको औंल्याइन् । ‘सदन र समितिलाई चलायमान, प्रभावकारी र जवाफदेही बनाउनुपर्ने अहिलेको आवश्यकता हो । हामी जेजति अप्ठेरो भए पनि बाँकी समय प्रभावकारी रूपमा सदनलाई अगाडि बनाउनु हाम्रो दायित्व हो,’ उनले भनिन् ।

प्रकाशित : जेष्ठ १३, २०७९ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?