वीरगन्ज घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत गर्ने मेयर सिंहको पहिलो निर्णय

शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले शपथ ग्रहणलगत्तै वर्षौंदेखि जीर्ण घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत गर्ने पहिलो निर्णय गरेका छन् । लामो समयदेखि मर्मतसम्भार नहुँदा महनगरवासीले सास्ती खेप्नु परेकाले नगरवासीलाई परिवर्तनको प्रत्याभूती दिलाउन सिंहले बिहीबार पदबहाल गरेलगत्तै मुख्य सडकलाई मर्मत गर्ने निर्णय गरेका हुन् । 

वीरगन्ज घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत गर्ने मेयर सिंहको पहिलो निर्णय

महानगरका निवर्तमान मेयर विजयकुमार सरावगीले सडक विभागअन्तर्गत पर्ने उक्त सडक निर्माण गर्न आफ्नो अधिकारक्षेत्र भित्र नरहेको बताउँदै आएका थिए । सिंहले शपथ लिएकै दिन उक्त सडकलाई मर्मत गर्ने निर्णय गरेका छन् । मेयर सिंहले महानगरभित्र बसोबास गर्ने १० हजार ९ सय २४ घरधुरीको घरेलु मिटरमा हुने मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्युनतम शूल्क र इनर्जी शूल्क महानगरले नै भुक्तानी गर्ने निर्णय पनि गरेका छन् ।

पाँच दलीय गठबन्धनले जारी गरेको घोषणापत्रमा उल्लेख भएबमोजिम बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने प्रयोगकर्ताको महशुल महानगरले नै भुक्तानी गर्ने भएको हो । ३० युनिटभन्दा बढी खपत गर्ने सेवाग्राहीले सम्पूर्ण शूल्क आफै तिनुपर्ने हुन्छ । योजना ३० युनिटसम्म विद्युत् खपत गर्ने सेवाग्राहीको लागिमात्र हो ।

महानगरभित्र रहेका ४ सय ७० वटा कृषि मिटरको सम्पूर्ण शूल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिने सिंहले निर्णय गरेका छन् । कृषकहरुको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरुलाई प्रोत्साहन गर्न उक्त निर्णय गरिएको सिंहले बताए ।

घेरलु र कृषिबाहेक व्यावसायिक, मनोरञ्जनात्मक र अन्य प्रायोजनका लागि मिटर लिएकाहरु भने उक्त योजनाबाट लाभान्वित हुने छैनन् । शपथ ग्रहण गरेको २४ घण्टाभित्रै परिवर्तनको प्रत्याभूति गराउने सिंहको प्रतिबद्धताअनुरुप नगरवासीले अब विद्युत् महशुल र सिँचाई मिटरको शूल्क तिर्न नपर्ने भएको छ । सबै निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा जानेछ ।

प्रकाशित : जेष्ठ १२, २०७९ २२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?