२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सोती घटनाले देशकै प्रतिष्ठामा असर पुर्‍याएको छ : गृहमन्त्री खाँण

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले रुकुम पश्चिमको सोती गाउँमा भएको घटनाले देशकै प्रतिष्ठामा असर पुर्‍याएको बताएका छन् । उनले घटनाको गहिरो छानबिन र दोषीहरूलाई कडा कारबाही गर्नका लागि सरकार प्रयासरत रहेको बताए । जाजरकोटबाट न्याय खोज्दै काठमाडौं आएका मृतकका आमाहरूको गुनासो सुनेपछि गृहमन्त्री खाँणले सरकार पीडित पक्षको साथमा रहेको बताए ।

सोती घटनाले देशकै प्रतिष्ठामा असर पुर्‍याएको छ : गृहमन्त्री खाँण

‘घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नका लागि सरकार प्रयासरत छ । सरकार तपाईंहरुकै साथमा छ । यो घटनामा पीडित तपाईंहरु मात्रै होइन, देशै पीडित भएको छ, अहिलेको समयमा पनि यस्तो घटना हुनुले देशको प्रतिष्ठामै असर पुगेको छ,’ खाँणले भनेका थिए ।

गृहमन्त्री खाँणले मुद्दा अदालतमा पुगेकाले अब अदालतबाटै त्यसको किनारा लाग्ने बताएका थिए । ‘घटनाबारे सरकार जानकार छ । संसदीय समितिले नै छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । कार्यान्वययमा केही कमजोरी र ढिलाइ भएको पक्कै हो,’ उनले स्वीकारोक्तिसहित भने, ‘तर अब तपाईंहरुको न्यायका लागि सरकारले कुनै कसुर बाँकी राख्ने छैन ।’

उनले संसदीय समितिको सिफारिस बमोजिम पीडित परिवारको शिक्षा, स्वास्थ्य र रोजगारीसहितको व्यवस्थाका लागि समेत सरकारले पहल गर्ने बताए । पीडित परिवारले सरकारलाई विभिन्न मागसहितको १२ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

२०७७ साल जेठ १० गते रुकुम पश्चिमको चौरजहारीकी गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न गएका नवराज विकसहित ६ युवक केटी पक्षका गाउँलेको आक्रमणबाट मारिएका थिए ।

उनीहरू सबैको शव भेरी नदीमा फेला परेको थियो  । चौरजहारी–८ को सोतीमा गाउँलेको आक्रमणमा परेका उनीहरूको शव १५ दिनसम्म लगाएर प्रहरीले भेटाएको थियो । प्रहरीका अनुसार उनीहरूमाथि घरेलु हतियारको प्रयोग भएको थियो । घटनामा अरू १२ जनाले भने भागेर ज्यान बचाएका थिए ।

प्रकाशित : जेष्ठ १२, २०७९ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?