ओलीको व्यंग्य- 'भोट खसालेको भोलिपल्ट जनतालाई मूल्यवृद्धिको डण्डाले हान्दिने ?'

काठमाडौँ — मूल्यवृद्धि गरेर सरकारले जनतालाई धोका भएको प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बताएका छन् । उनले चुनावसम्म पेट्रोलियम पदार्थमा विधिअनुसार चुनावका कारण मूल्य समायोजन नगरी चुनाव सकिएपछि हप्तामै दुई पटक मूल्यवृद्धि गरिएको बताए । 

ओलीको व्यंग्य- 'भोट खसालेको भोलिपल्ट जनतालाई मूल्यवृद्धिको डण्डाले हान्दिने ?'

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथि बोल्दै ओलीले सरकारको आलोचना गरेका हुन् । 'मूल्य समायोजनको नीतिको सट्टा यसै महिनाको पहिलो हप्ता दुईपल्ट १०-१० रुपैयाँका दरले मूल्यवृद्धि गरिन्छ । एक हप्तामा दुई पटक, १ गते र ९ गते । एक हप्ताभित्र २ पल्ट मूल्यवृद्धि गरिन्छ,' उनले व्यंग्यात्मक शैलीमा सोधे, '१५-१५ दिनमा मूल्य समायोजन गर्ने नीति कहाँ गयो ? यो त जनतालाई धोका दिएको भयो । ३० गते भोट खसालुन्जेलसम्म चुप्प लागेर बस्ने, भोट खसाएको भोलिपल्ट मूल्यवृद्धिको डण्डाले हान्दिने जनतालाई ? त्यो पनि फेरि एक हप्ता नपुग्दै अर्को डण्डाले हान्दिने ?'

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले हरेक क्षेत्रमा असर गर्ने ओलीको भनाइ थियो । उनले भने, 'प्रतिलिटर पेट्रोलियम पदार्थमा हप्तामा २० रुपैयाँले वद्धि भएपछि ढुवानीलगायत सम्पूर्ण वस्तुमा असर पर्ने भयो । हरेक वस्तुको मूल्य तद्अनुसार नै हुने भयो ।'

मूल्यवृद्धमा वर्तमान सरकारले नकरात्मक कीर्तिमान कायम गरेको ओलीको भनाइ थियो । 'मूल्यवृद्धिको प्रवृत्ति अभूतपूर्व रहेको छ । यसको पछाडि कीर्तिमान कायम गरेको छ, नकरात्मक रुपले,' उनले भने ।

प्रकाशित : जेष्ठ १२, २०७९ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?