सत्ता पक्षले प्रतिपक्षलाई संवादहीनताको अवस्थामा राखेर पेल्ने काम गरेको छ : ओली

'नेकपा एमाले सैद्धान्तिक तवरमा मात्रै होइन इन द रियल सेन्स गभर्नमेन्ट इन वेटिङ हो'

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  सत्ता पक्षले प्रतिपक्षलाई सिध्याउन भन्दै राज्य संयन्त्रको दुरुपयोग गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै ओलीले सत्ता पक्षले प्रतिपक्षलाई पेल्ने काम गरेको बताएका हुन् । 

सत्ता पक्षले प्रतिपक्षलाई संवादहीनताको अवस्थामा राखेर पेल्ने काम गरेको छ : ओली

चुनावमा जित/पराजित स्वाभाविक कुरा भए पनि सत्ता पक्षले एमालेलाई सिध्याउँछु भनेर लागेको उनको आरोप थियो । 'सत्ता पक्षले यस पार्टीलाई सिध्याउँछु भन्छ, सिध्याउँछु भन्ने हक कहाँबाट आयो ? चुनावमा जित/पराजय एउटा कुरा हो, पराजय भोगाउँछौँ, हामी जित्छौँ भन्न सकिन्छ तर सिध्याउँछौँ समाप्त पारिदिन्छौँ, धूलो चटाइदिन्छौँ, गायब पारिदिन्छौँ, टर्च बालेर खोज्न पर्छ भन्ने । टर्च बालेर नि भेटिँदैन होला होइन,' उनले भने ।

नेकपा एमाले सशक्त प्रतिपक्ष भएको र छिट्टै सरकारमा आउन सक्ने पनि ओलीले बताए । 'अपोजिसनलाई जहिले पनि गभर्नमेन्ट इन वेटिङ भनिन्छ । नेकपा एमाले सैद्धान्तिक तवरमा मात्रै गभर्नमेन्ट इन वेटिङ होइन नेकपा एमाले इन द रियल सेन्स गभर्नमेन्ट इन वेटिङ हो । अनेक हिसाबले षड्यन्त्रस्वरूप यसलाई बाहिर राखिएको होला । एमाले लोकतन्त्रको समुद्रमा पौडी खेल्न जान्ने पार्टी हो पौडी खेलेर आएको छ । अनेक दाउपेचबाट होइन । पौडी खेलेरै यहाँसम्म आएको छ,' उनले भने ।

प्रतिपक्षलाई संवादहीनताको अवस्थामा राखेर पेल्ने काम गरिएको उनले बताए । 'विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्दा प्रतिपक्षसँग छलफल गरिएको छैन । प्रतिपक्षलाई संवादहीनताको अवस्थामा राखेर पेल्ने काम गरिएको छ,' उनले भने । त्यस्तै प्रतिपक्षविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरिएको पनि उनको भनाई थियो ।

प्रकाशित : जेष्ठ १२, २०७९ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?