२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘बाबा तोहार छावा जेलम परल बा... !’

‘बाबा–आमा, थारु अधिकार खोज्दा तिम्रो छोरालाई सरकारले जेलमा कोचेको छ’ बोलको गीत बज्दा थारु समुदायको भावना आँसुमा मात्र होइन मतपत्रमा पनि प्रकट भयो
स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पाएको सफलताले पछिल्लो सात वर्ष सुषुप्त रहेको थरूहट राजनीतिलाई नयाँ उचाइ दिन सक्ने सम्भावना

टीकापुर, कैलाली — बाबा तोहार छावा जेलम परल बा
डाई तोहार छावा जेलम परल बा
थारू हुइल कारण से
अधिकार मागल कारण से
यी सरकार जेलम डारल बा...

‘बाबा तोहार छावा जेलम परल बा... !’

बा र आमालाई सम्बोधन गरिएको यो गीतको सार हो– ‘थारू अधिकार मागेकै कारण तिम्रो छोरालाई सरकारले जेलमा कोचेको छ ।’ अहिले टीकापुरका टोलटोलमा बच्चादेखि वृद्धसम्मको मुखमा झुन्डिएको यो गीत जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीले आफ्नैबारेमा लेखेका हुन् ।

गत वैशाख १८ मा युट्युबमा अपलोड गरिएको गीत र दृश्यको भावुकतामा डुबेर नरुने दर्शक टीकापुर क्षेत्रमा सायदै कोही होलान् । आमा, बुबा, दाजुभाइ, दिदीबहिनी, मामामाइजू, फुपूफुपाजु, काकाकाकी, हजुरबा, हजुरआमा सप्पैलाई एक/एक गरी सम्बोधन गर्दै गीतले पालैपालो भन्छ– ‘थारूको अधिकार मागेकै कारणले तिम्रो छोरा, दाइ, भाइ, भान्जा, भतिज, नातिलाई जेलमा कोचिएको छ । उसको रिहाइका लागि र थारूहरूलाई हकअधिकार दिलाउनका लागि अब उठौं, जुटौं ।’

यो गीत स्थानीय चुनावलाई नै लक्षित गरी लेखिएको थियो । जसले चुनावमा आफ्नो कमाल देखाइसकेको छ । युट्युबमा अपलोड गरिएको तीन सातामा एक लाख ९२ हजारभन्दा बढीले हेरेको यो गीतलाई नागरिक उन्मुक्ति पार्टीले चुनाव प्रचारको मुख्य माध्यमका रूपमा प्रयोग गरेको थियो । थारू समुदायमाथिको दमनबारे बताउने गीतलाई कलाकारले टोलटोलमा पुर्‍याएका थिए । ‘जहाँजहाँ गीत प्रदर्शन भयो, मानिसहरू भक्कानिए । हरेक घरघरका महिलाले आफ्ना श्रीमान् र सन्तानलाई ढकियामा (नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न) भोट हाल्न उर्दी नै जारी गरे,’ टीकापुरका शिवनारायण चौधरी भन्छन् ।

रञ्जिता श्रेष्ठले गत पुस १९ मा निर्वाचन आयोगमा आफू अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी दर्ता गराएकी थिइन् । श्रेष्ठ डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीकी पत्नी हुन् । दल त्याग गरेमा पदमुक्त हुनुपर्ने कारणले हुन सक्छ रेशमले अहिलेसम्म जनता समाजवादी पार्टी (जसपा) छाडेका छैनन्, तर उक्त पार्टीमा उनको आबद्धता प्राविधिक रूपमा मात्रै भएको देखिन्छ । उनले आफ्नो सम्पूर्ण ऊर्जा र योजना जेलभित्रैबाट नागरिक उन्मुक्ति पार्टीमा लगाइरहेका छन् । चुनावलक्षित माथिको गीत त्यसको एउटा उदाहरण मात्रै हो ।

जोशीपुर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष चित्रबहादुर चौधरी ।

दर्ता भएको चार महिना र निर्वाचन आयोगबाट चुनाव चिह्न पाएको (फागुन दोस्रो साता) दुई महिनामै नागरिक उन्मुक्ति पार्टी कैलालीको सबैभन्दा ठूलो पार्टीको रूपमा उदाएको छ । १३ पालिका रहेको कैलालीमा उन्मुक्ति पार्टीले चार पालिका प्रमुख (टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका) र तीन पालिकामा उपप्रमुख (प्रमुख जितेकामध्ये टीकापुरबाहेक) जितेको छ । कैलालीमा बाँकी ९ मध्ये कांग्रेसले तीन, माओवादी र एमालेले दुई–दुई तथा एकीकृत समाजवादी पार्टीले एक, स्वतन्त्र उम्मेदवारले एक पालिका जितेका छन् । उन्मुक्ति पार्टीले जिल्लाभरबाट ९९ जना जनप्रतिनिधि पाएको छ ।

नागरिक उन्मुक्ति पार्टीका तर्फबाट टीकापुरमा रामलाल चौधरी र भजनी नगरपालिकामा केबल चौधरी मेयर बनेका छन् । जोशीपुर र जानकी गाउँपालिकामा क्रमशः चित्रबहादुर चौधरी र गणेश चौधरी अध्यक्ष बनेका छन् । यी चारमध्ये टीकापुरबाहेकका पालिकामा उपमेयर/उपाध्यक्ष पनि उन्मुक्ति पार्टीले जितेको छ । भजनीमा राजु तिरुवा उपमेयर बनेकी छन् भने जोशीपुरमा रेखा कठरिया र जानकीमा लालमति कठरिया उपाध्यक्ष निर्वाचित भएका छन् ।

टीकापुरमा उन्मुक्ति पार्टीबाट उपमेयरकी उम्मेदवार बनेकी उल्कादेवी विक ।

टीकापुरमा उन्मुक्ति पार्टीकी उल्कादेवी विकले उपमेयरमा गठबन्धनका उम्मेदवार खडकबहादुर शाहसँग १५३ मतले पराजय बेहोरिन् । टीकापुर, जानकी र भजनीमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराएर उन्मुक्ति पार्टीका उम्मेदवार विजयी बनेका हुन् । टीकापुरका ९ वटा वडामध्ये ४ र ५ मा वडाध्यक्ष जितेका छन् । वडा १ को अध्यक्षमा उन्मुक्ति पार्टीका उम्मेदवार तीन मतले पराजित भएकामा उक्त वडाका अन्य सबै पदमा उन्मुक्ति पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । पालिकाको सभामा बहुमतका लागि २४ सदस्य आवश्यक पर्नेमा उन्मुक्ति पार्टीसँग २१ जनप्रतिनिधि छन् । यो समीकरणले अन्य दलसँग सहकार्य गर्नुपर्ने अवस्थामा यो पार्टीलाई पुर्‍याएको छ ।

सात वडा रहेको जोशीपुरमा चार वडाका अध्यक्ष, ९ जना सदस्य, चार/चार जना महिला र दलित महिला सदस्य तथा पालिका अध्यक्ष र उपाध्यक्ष गरी २३ जना निर्वाचित भएका छन् । जोशीपुर नेपाली कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरी तथा जनकराज चौधरीको गाउँ हो । त्यसै पालिकामा पर्ने कांग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रको वडामा पनि कांग्रेस उन्मुक्ति पार्टीसँग पराजित भएको छ ।

भजनी नगरपालिकामा पनि मेयर, उपमेयर, चार जना वडाध्यक्ष, ९ जना सदस्य, चार/चार जना महिला र दलित महिला सदस्य गरी २३ जना नै उन्मुक्ति पार्टीबाट निर्वाचित भएका छन् । अध्यक्ष हारेका ५ वटा वडामध्ये चार वटामा उन्मुक्ति पार्टीका उम्मेदवार दोस्रो भएका छन् ।

जानकी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, पाँच वडाध्यक्ष, १३ जना वडा सदस्य, ६/६ जना महिला सदस्य र दलित महिला सदस्य गरी ३२ जना निर्वाचित भएका छन् । चार पालिकामा ९९ जनप्रतिनिधि निर्वाचित गराएको उन्मुक्ति पार्टीले उम्मेदवारी दिएका कैलालीकै अन्य पालिका तथा बर्दिया र दाङ जिल्लाामा भने जित निकाल्न सकेन ।

टीकापुरका नवनिर्वाचित मेयर रामलाल चौधरी ।

टीकापुरमा मेयर निर्वाचित रामलाल चौधरी यसअघि माओवादीका तर्फबाट वडा नं. ७ को अध्यक्ष थिए । माओवादीमा लागेर लामो समय भूमिगत भएका उनले थारूहरूलाई उपयोग मात्र गर्ने ठूला पार्टीहरूको रणनीति बुझेपछि विद्रोह गरेर नयाँ पार्टी गठन गरेको बताए ।

‘२०७२ को पहिचानको लडाइँमा आन्दोलनरत अन्य पक्षले केही न केही पाए । थारूहरूलाई मात्रै दमन गरियो, मुद्दा मामिलामा फसाइयो । राजनीतिक घटनाका रूपमा सम्बोधन गर्न पार्टी अध्यक्ष प्रचण्डलाई बारम्बार आग्रह गर्‍यौं । उनले मुखले सधैं हुन्छ भने तर व्यवहारमा कहिल्यै काम गरेनन्,’ पार्टीका संस्थापकमध्येका एक मेयर चौधरीले भने, ‘द्वन्द्वको समयमा थारूलगायत उत्पीडित वर्गलाई छुट्टै राज्य दिन्छौं भनेर उपयोग गरे । अहिले अवसर जति चैते माओवादीले पाए, हामी भुइँ मान्छे हेपियौं । पहिले जमिन्दारका कमैया बसेका हामी अब नेताका कमैया बन्दैनौं भनेर थारूहरूको आफ्नै पार्टी गठन गरेका हौं ।’

जोशीपुरमा अध्यक्ष निर्वाचित चित्रबहादुर केसी थारूमाथिको अन्यायका विरुद्ध आम मान्छे उर्लिएको बताउँछन् । आफूहरूले विकास निर्माणलाई भन्दा बढी थारूमाथिको विभेदका विरुद्ध एजेन्डा बनाउने उनले बताए । पञ्चायतको पालादेखि नै कांग्रेसको प्रभाव क्षेत्र भएको र अहिलेसम्म जित्दै आएको जोशीपुर पहिलो पटक गुमाउनुपरेको कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरीको भनाइ छ ।

कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरी ।

‘जनतालाई सेवा दिने कुनै एजेन्डाले उन्मुक्ति पार्टीले जितेको होइन, जेलमा रहेका रेशम चौधरीलगायत राजबन्दीलाई छुटाउँछौं भन्ने ‘इमोसनल ब्ल्याकमेल’ गरेर जनतालाई झुक्काएर जितेका हुन्,’ उनले भने । तर, नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित आफूहरूको जित २०७२ को थरुहट आन्दोलनलाई गरिएको दमन र आजसम्म थारूहरूमाथि हुँदै आएको विभेदविरुद्धको अभिव्यक्ति भएको बताउँछन् ।

थरुहट राजनीतिको पुनरोदय

पछिल्लो सात वर्षमा टीकापुर नेपाली राजनीतिको चर्चाको केन्द्रमा छ । संविधान निर्माणको पूर्वसन्ध्यामा २०७२ भदौ ७ मा टीकापुरमा ८ प्रहरी र एक नाबालकको ज्यान जाने गरी हिंसा भड्कियो । त्यसको भोलिपल्ट कर्फ्युका बीच यहाँका रैथाने थारूहरूको घरमा गरिएको आगजनी, लुटपाट, तोडफोड, प्रहरीको धरपकड, पक्राउ र यातनाका घटनाका कारण टीकापुर र यहाँका थारू कुनै न कुनै रूपमा राजनीतिमा सक्रिय बनेका छन् ।

पूर्वी पहाडका जनजाति, मधेसका मधेसी, मध्य र सुदूरपश्चिमका खसआर्यले जस्तै पश्चिम तराईका थारूहरूले संविधानमा आफूहरूको पहिचानसहितको राज्यका निम्ति संघर्ष गरेका थिए । संविधानमा प्रस्तावित ७ प्रदेशको खाकाप्रति थारू संघर्ष समितिको असहमति थियो । उक्त प्रस्तावले पश्चिम तराईका थारू बहुल दाङ, बाँके, बर्दियालगायत जिल्लालाई हालको लुम्बिनी प्रदेशमा र कैलाली र कञ्चनपुरलाई सुदूरपश्चिम प्रदेशमा राखेको थियो । यस्तो प्रस्तावलाई थारूहरूले आफूहरू बहुल क्षेत्रमा समेत जनसांख्यिक रूपमा अल्पमतमा पारी राजनीतिक नेतृत्वमा पुग्ने बाटो बन्द गरिदिने षड्यन्त्रका रूपमा बुझेका थिए । छुट्टै थरुहट प्रदेश माग गरिरहेका उनीहरूका लागि यस्तो प्रस्ताव मान्य थिएन ।

त्यही असहमति प्रकट गर्न भएको आन्दोलनमा हिंसा भड्किँदा प्रहरी र नाबालकको समेत ज्यान गएपछि थरुहट आन्दोलन एकाएक राज्यको दमनको सिकार भयो । मुख्य अभियोग लागेका रेशम चौधरी फरार भए । २०७४ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएर भूमिगत अवस्थामै फराकिलो मतान्तरले उनी प्रतिनिधिसभा सदस्यमा चुनिए । जितपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका उनलाई जिल्ला र उच्च अदालतले ९ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर्‍याउँदै जन्मकैद सुनाए । रेशमले यी फैसलाविरुद्ध सर्वोच्च अदालतमा गरेको पुनरावेदन अहिले विचाराधीन छ । उनी निलम्बित सांसदका रूपमा डिल्लीबजार कारागारमा सजाय भुक्तान गर्दै छन् ।

टीकापुर घटनामा प्रहरीले अभियोग लगाएका ५८ जनामध्ये दुई जना मुसलमान र बाँकी थारू थिए । ३१ जना अहिलेसम्म फरार सूचीमा छन् । पक्राउ परेका २७ जनामध्ये जिल्ला र उच्च अदालतको आदेशले अहिले रेशमसहित प्रदीप चौधरी, हरिनारायण चौधरी, गंगाराम डगौरा, वीरबहादुर चौधरी र सीताराम चौधरीले जन्मकैदको सजाय काटिरहेका छन् । श्रवण चौधरीलाई १० वर्षको सजाय तोकिएको छ । जिल्ला अदालतले दिएको तीन वर्षको सजाय भुक्तान गरेर छुटेका तर उच्च अदालतले जन्मकैदको सजाय तोकेका लक्ष्मण थारू बाहिरै छन् । टीकापुर घटनामा संलग्न नभए पनि साढे तीन वर्ष न्यायिक हिरासतमा बसेका रामनरेश चौधरी, नुरुल जागा र विश्राम कुश्मीले जिल्ला र उच्च अदालत दुवैबाट सफाइ पाएका छन् ।

एउटै गाउँठाउँका यतिधेरै व्यक्ति जेल परेपछि टीकापुर र आसपासको थारू गाउँ नै आतंकित भएको थियो । त्यसमाथि प्रहरी र नाबालक मारिएको झोंकमा भदौ ८ देखि कर्फ्यु र निषेधाज्ञाको बीचमा थारूहरूको घरपसलमा छानीछानी गरिएको लुटपाट र आगजनीले अर्को तहको आतंक सिर्जना गरेको थियो । यस्तो लुटपाटमा संलग्न कोहीमाथि पनि अनुसन्धान र अभियोजन भएन । घटनाको सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन गरिएको आयोगको प्रतिवेदन पनि हालसम्म सार्वजनिक गरिएको छैन । ‘यी सबै घटनापछि यहाँका थारूहरूले राज्यले आफूहरूलाई अन्याय र विभेद गरेको महसुस गरेका छन् । २०७४ मा रेशम चौधरीलाई सांसदमा जिताउनु र अहिले नवगठित नागरिक उन्मुक्ति पार्टीलाई स्थानीय तहमा जिल्लाकै पहिलो पार्टी बनाउनु त्यसैको अभिव्यक्ति हो,’ लामो समय स्थानीय नागरिक समाजको नेतृत्व गरेका र हालै मात्र एमाले प्रवेश गरेका दुर्गौलीका फिरुलाल चौधरी भन्छन् ।

टीकापुर घटनापछि थरुहट राजनीति निष्क्रिय अवस्थामा पुगेको थियो । पछिल्लो सात वर्ष सुषुप्त रहेको थरुहट राजनीतिलाई स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पाएको सफलताले नयाँ उचाइ दिन सक्ने सम्भावना छ । २०७२ भदौ ७ को घटनाले थरुहट आन्दोलन नै कोमामा पुर्‍यायो कि भन्ने ठानिएको थियो । तर, त्यही दिनका कारण–प्रभाव स्वरूप स्थापित उन्मुक्ति पार्टीले स्थानीय चुनावमा प्राप्त गरेको सफलता सम्भवत थरुहट/थारूवान आन्दोलनका लागि नयाँ ‘टर्निङ प्वाइन्ट’ बन्न सक्छ । यसको पहिलो परीक्षण आगामी प्रादेशिक र संघीय चुनावमार्फत हुने विश्लेषकहरू बताउँछन् ।

प्रकाशित : जेष्ठ १२, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?