बलात्कार मुद्दाको हदम्याद बढाउन सरकार तत्पर छ : प्रधानमन्त्री देउवा- समाचार - कान्तिपुर समाचार

बलात्कार मुद्दाको हदम्याद बढाउन सरकार तत्पर छ : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तत्पर रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले त्यसबारे सरकारले आवश्यक तयारी अघि बढाइसकेको बताए । 

सरकारी निवास बालुवाटारमा बुधबार नेपाली कांग्रेसका महिला नेताहरूको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री देउवाले बलात्कारसम्बन्धी मुद्दामा जाहेरीका लागि तोकिएको हदम्यादको व्यवस्थाकै कारण हिंसापीडित महिलाले न्याय नपाउने अवस्था नहुने बताएका हुन् । ‘यसबारे सरकार संवेदनशील छ । हदम्याद बढाउनुपर्छ । त्यसको प्रक्रिया अघि बढिसकेको छ,’ ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले भनेको उदृत गर्दै सांसद् एवम् कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले भनिन् ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को नेतृत्वमा महिलासम्बन्धी मुद्दाहरूमा सरकारलाई ध्यानाकर्षणपत्र बुझाउन पुगेको टोलीमा कांग्रेसका महिला नेताहरू सहभागी थिए ।

उनीहरूले लैंगिक हिंसासम्बन्धी कानुनको पुनरावलोकन गर्न, आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयन गर्न, आगामी वर्षको बजेटमा महिलाको स्वास्थ्यलाई लक्षित गरेर कार्यक्रम र योजनाहरू ल्याउन माग गरेका छन् ।

सांसद संग्रौलाले पछिल्लो समय मूल्यवृद्धिका कारण महिलाको दैनिकीमा परेको असरबारे समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताइन् ।

प्रकाशित : जेष्ठ ११, २०७९ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल निषेध गरेको छ । मन्त्रिपरिषद्‌को मंगलबार बसेको बैठकले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रकाशित : जेष्ठ ११, २०७९ १७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×