नवराजकी आमा भन्छिन्– अपराधीहरू अलिअलि गरेर छुट्दैछन्, आँसु कसरी रोकुँ ? [भिडियो]
काठमाडौँ — शरीरमा यात्राको थकान, मलिन अनुहार, गला बस्न लागेको बोली । छोराका हत्यारालाई कारबाही गर्न माग गर्दै जाजरकोटदेखि काठमाडौं आइपुगेकी ४० वर्षीया उर्मिला विक मंगलबार माइतीघरमा छोरो सम्झिएर भक्कानिइन् । ‘हाम्रो छोरोलाई भीडले मारेर भेरीमा बगाइदिएको दुई वर्ष बित्यो । तर, हामीले न्याय पाएनौँ । अपराधी अलिअलि गरेर छुट्दैछन्,’ आँखाभरि आँसु पार्दै उर्मिलाले अघि भनिन्, ‘सबैले नरुनू त भन्छन्, तर हाम्रो छोरो माटोमा मिलाउने दोषी खुलेआम छन्, अनि आँसु कसरी रोकुँ ?’
ठीक दुई वर्षअघि, ०७७ को जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८, सोतीमा अन्तरजातीय प्रेम र भागी विवाहलाई लिएर ६ जनाको ज्यान जाने गरी सामूहिक हत्याकाण्ड भयो ।
घटनामा मारिएका नवराज विक उर्मिलाका एक्ला छोरा हुन् । प्रेम नवराजले गरेका थिए । प्रेमिकालाई भगाउने योजना उनको थियो । तर, त्यसबेला नवराजमात्रै मारिएनन्; उनीसँगै सोती पुगेका उनका साथीहरू लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाही पनि मारिए । तर, घटनाको दुई वर्ष बित्दा पनि मुद्दाको किनारा लागेको छैन ।
पीडित न्याय पाउनेमा शशंकित छन् । मृतकका आमाहरू दुई वर्षसम्म पनि न्याय नपाएको भन्दै काठमाडौं आइपुगेका छन् ।
‘६-६ जनालाई एकै चिहान बनाएर मारे । तर, यतिञ्जेलसम्म मार्नेहरू दोषी करार भएनन् । उनीहरुलाई अझै पनि पुर्पक्षमै राखिएको छ,’ उर्मिला भन्छिन्, ‘हाम्रो छोराहरू मरेर माटो भइसके, तर मार्नेहरू खुलेआम छन् । केटी र केटीकी आमा मुख्य हुन् । तर‚ उनीहरू नै छुटे । अरु ११ जना पनि छुटिसके । भित्र भएकाहरू पनि कुन बेला बाहिर निस्किजान्छन्‚ थाहा छैन ।’
न्याय माग्न नवराजकी आमा उर्मिला, लोकेन्द्रकी आमा लक्ष्मी सुनार, सञ्जुकी आमा सविता विश्वकर्मा, गणेशकी आमा राधिका बुढामगर र टीकारामकी आमा गीता विक जाजरकोटदेखि काठमाडौं आएका छन् ।
उनीहरूको एकै स्वर छ- ‘सबैले हाम्रो छोराहरू मारिएका हुन् भन्नुभयो । तर, दुई वर्षसम्म हामीले न्याय पाएनौँ । मारिएका हुन् भने हामीले किन न्याय पाएनौँ ?’
‘सबैले घरैमा आएर थुम्थुम्याउँदा छोराहरू गुमे पनि न्याय त पाइएला भन्ने थियो तर यतिञ्जेलसम्म केही भएन । हिजो थुम्थुम्याउन आउनेहरू पनि अहिले टाढिन थाल्नुभयो । हामीलाई त अदालतमा के हुँदैछ ? त्यो पनि थाहा हुदैन,’ उर्मिला भन्छिन्, ‘हामीले सधैँ रोएर बस्ने कि न्याय पनि पाउने ?’
लोकेन्द्रकी आमा लक्ष्मी सुनार छोरोसँगै जीवनको आशा भरोसा सबै भेरीमा बगेको बताउँछिन् । ‘कमाउने उमेर भएको छोरो बित्यो । गरिखाने उपाय छैन । काखमा सानी छोरी छे, त्यसैको आशमा बाँचेकी छु,’ उनले भनिन्, ‘घटना हुँदा सबै आउनुभयो । सबैले आश देखाउनुभयो । अब त न न्याय पायौँ, न त आश्वासन दिने मान्छेहरू ।’
छोराका हत्याराहरूलाई आजीवन काराबास नभएसम्म आफूहरूलाई सुकुनको निद्रा नपर्ने उनी बताउँछिन् । ‘आजसम्म न्याय नपाएपछि अब न्याय नै पाइँदैन कि भन्ने लाग्छ । मर्ने त मरिसके, कम्तीमा तिनको हत्या गर्नेहरूलाई जेल सजाय भए मनलाई शान्ति मिल्ने थियो, छोराहरूको आत्माले शान्ति पाउँथ्यो,’ उनले भनिन् ।
प्रकाशित : जेष्ठ १०, २०७९ १८:३९