१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

किन ढिलो खुल्छन् ‘सर्भाइभर’हरू ?

समाजले उल्टै लान्छना लगाउने डर, पीडकको धम्की र न्यायालयप्रतिको अविश्वासले पीडामा गुज्रिँदै हिंसापीडित
८ वर्षको उमेरमा यौन दुर्व्यवहारमा परेकी महिला लामो समयको डर र छटपटीबीच ३५ वर्षपछि मात्रै मनोविद्को पुगिन्, मनोसामाजिक परामर्शपछि उनमा सुधारको संकेत देखिँदै छ
बुनु थारु

काठमाडौँ — सौन्दर्य प्रतियोगिताका आयोजकले गरेको यौन दुर्व्यवहारबारे केही दिनअघि एक युवतीले सामाजिक सञ्जालमार्फत खुलासा गरिन् । आफू १६ वर्षको हुँदा बेहोस पारेर बलात्कार गरेको र ब्ल्याकमेलिङमार्फत पटकपटक शारीरिक शोषण गरेको उनको भनाइ थियो । उनी हाल २४ वर्षकी छन् । 

किन ढिलो खुल्छन् ‘सर्भाइभर’हरू ?

८ वर्षपछि मात्रै आफूमाथि भएको यति ठूलो घटना सुनाउन सकेकी उनले भिडियोमा भनेकी छन्, ‘मैले यो कुराहरु धेरै वर्ष मेरो मनभित्र राखें । र, म सन्चो भइनँ ।’ आफूले हिंसा भोगेको कुरा मनभित्र दबाएर राख्दा उनमा मानसिक समस्या पनि देखियो । आत्महत्या प्रयासमेत गरिन् । आफ्ना कुरा व्यक्त गरेपछि र अरुको साथ पाउँदै गएपछि भने उनी अहिले सम्हालिने प्रयासमा छिन् ।

बलात्कार र अन्य यौनजन्य हिंसामा परेका महिलाहरू किन तत्काल आफ्नो पीडा सुनाउन सक्दैनन् र कुन अवस्थाको मानसिक पीडामा गुज्रिनुपर्छ भनेर बुझ्न माथिको घटना काफी छ । उनले बोल्ने आँट गरेपछि मात्रै सोही प्रतियोगिताका आयोजकले आफूमाथि पनि यौन दुर्व्यवहार गरेको भन्दै अन्य युवतीले पनि उजुरी दिएका छन् ।

सुनसरी इटहरीकी एक युवतीले पनि सात वर्षअघिको घटना बल्ल खुलाएकी छन् । स्कुलको होस्टलमा बसेका बेला प्रिन्सिपलले नै पटक-पटक आफूमाथि यौन शोषण गरेको उनको भनाइ छ । भिडियो खिचेर त्यसकै आडमा धम्की दिँदै आफूलाई बलात्कार गरेको उनले खुलाएकी छन् ।

बलात्कार र यौनजन्य हिंसाबाट गुज्रिएका महिलाहरूले लामो समयसम्म पीडा सार्वजनिक गर्न नसक्नुमा समाजको डर र न्याय नपाउने हो कि भन्ने चिन्ता मुख्य रहेको विज्ञहरू बताउँछन् ।

अर्को घटना, ८ वर्षीया दिदी र ६ वर्षीया बहिनी एक दिन गाई चराउन जंगल गएका थिए । त्यहाँ एक वयस्कले उनीहरुमाथि यौन दुर्व्यवहार गरे । कसैलाई नभन्नु भनेर धम्की पनि दिए । दुर्व्यवहारबारे उनीहरूले कसैलाई भन्न सकेनन् । बहिनीले १६ वर्षमै बिहे गरिन् तर १ वर्षपछि आत्महत्या गरिन् । त्यसको केही वर्षमै बिहे गरेकी दिदी आत्महत्याको घटनाले विक्षिप्त बन्न पुगिन् । सानोमा भएको घटनाले बहिनीले आत्महत्या गरेको त होइन ? त्यो मान्छेले कसैलाई भन्दिने पो हो कि भन्ने कुरा उनको मनमा खेल्न थाले । सपनामा श्रीमान्‌ले छाडेको देख्ने, घटना थाहा पाए के भन्लान् भनेर चिन्ता लिने, डर अनि छटपटीका साथ उनले लामो समय पार गरिन् । यौन दुर्व्यवहारको घटनाको ३५ वर्षपछि मात्रै उनी एक दिन मनोविद्कोमा पुगिन् । मनोसामाजिक परामर्शपछि अहिले उनमा सुधार हुँदै छ ।

उनलाई मनोपरामर्श दिँदै आएका मनोविद् गोपाल ढकाल भन्छन्, ‘ती महिलाले आफ्ना पीडा कतै बिसाउन खोजेकी थिइन् तर सकिरहेकी थिइनन् । त्यतिका वर्षपछि उनले पहिलोपटक आफूले बाल्यकालमा भोगेको यौन हिंसाबारे बताउँदा डाँको छाडेर रोइन् । त्यो गुम्सिएको पीडा र भय बाहिर निकाल्दा उनमा सुधार हुँदै गएको छ ।’

कुनै पनि हिंसा कसैले भोगेपछि उनीहरू समयमै खुलेर बोल्न सक्दैनन् । त्यसमा समाजको डर, परिवारको ‘इज्जत’ लगायत कारण आफ्नो पीडा भन्न सक्दैनन् । हिंसामा परेकालाई समाजले हेर्न नकरात्मक दृष्टिकोणले पनि हिंसा पीडितहरू चाँडै खुलेर नआउने मनोविद् ढकालको भनाइ छ । ‘हिंसामा परेकाहरूले चाँडै खुलेर आउन नसक्नुको मुख्य कारण त समाज नै हो । एकातिर समाजले के भन्ला भन्ने डर त अर्कोतिर पीडकको डर अनि धम्की,’ उनले भने, ‘यो समाजले जो पीडित हो‚ उसलाई नै औँला उठाउँछ । उसको चरित्रलाई लिएर टिका टिप्पणी सुरु हुन्छ । त्यसैले पनि पीडित अनि परिवारले यस्ता घटना लुकाउने गरेको पाइन्छ ।’

मनोविद् करुणा कुँवर देशको कानुनी व्यवस्थासँगको अविश्वासले पनि सर्भाइभरहरूले हिंसाका घटना छिटो सार्वजनिक गर्न नसक्ने बताउँछिन् । ‘सर्भाभाइभरले ढिलो बोल्ने, डर, लाज र धम्की त छँदै छ । सामाजिक कुरा पनि जोडिएका छन् । तपाईं जुन समाजमा बस्नुभएको छ‚ त्यहाँको कानुनी व्यवस्था कस्तो छ र कत्तिको विश्वास गर्न सकिन्छ भन्ने हो,’ उनले भनिन्, ‘मैले त्यहाँ जानेबित्तिकै न्याय पाउछु वा पाउँदिन त भन्ने मनमा हुन्छ । यदि विश्वास गर्थे भने कयौँ पीडित बाहिर आउँछन् होला ।’ निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको निरुपण नहुँदा पनि राज्यप्रति अविश्वास भएको उनको भनाइ छ । ‘त्यो केस अझै सल्टिएको छैन । त्यस्ता घटनाहरुले पीडितलाई मेरो पनि यस्तै पो हुने हो की ? न्याय नपाउने हो कि भन्ने भान हुन्छ र अगाडी खुलेर आउन धेरै गार्‍हो हुन्छ ।’

राज्यले नै हिंसापिडितलाई सुरक्षाको अनुभूति गराउन सक्नुपर्ने मनोविद्हरु बताउँछन् । ‘राज्यले पीडितको शारीरिक, भावनात्मक तथा मनावैज्ञानिक सुरक्षामा कसरी आश्वासनमात्र दिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । जबसम्म आफू सुरक्षित महसुस गर्दैनन्‚ जे पनि हुन सक्छ भन्ने सोच आउँछ,’ कुँवरले भनिन् ।

आफूले भोगेको हिंसा मनभित्र दबाएर राख्दा धेरैमा मानसिक समस्या देखिने सम्भावना धेरै हदसम्म रहन्छ । डिप्रेसनको सिकार हुन पुग्छन्‚ जसले गर्दा कतिपयले आत्महत्याको बाटो रोज्दछन् । हिंसामा परेकाहरूमा विभिन्न लक्षण देखिन सक्छन्, त्यो परिवारले बुझ्नुपर्ने विज्ञहरुको भनाइ छ ।

मनोविद् ढकाल भन्छन्, ‘हिंसा पीडितहरूलाई मानसिक आघात तुरुन्त नदेखिन पनि सक्ला । तर‚ त्यसले १० औँ वर्षसम्म पनि पिरोल्छ जसलाई ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ भनिन्छ ।’ उनीहरुमा इच्छाशक्ति नै कम हुने, घटनाको दोषी मै हो, मेरो भाग्य नै यस्तै रहेछ भन्दै आफूलाई नै दोषी देख्ने सोचाइ आउने गरेको उनले बताए ।

बेलैमा न्याय नपाउँदा पीडितको मनबोल अनि आत्मबल कमजोर हुँदै जाने गरेको माथिकै घटनाले देखाउँछन् । ‘यस्तोमा पीडितको कुरा सुनेर ढाडस दिने, सकारात्मक बनाउन सहयोग गर्ने गर्नुपर्छ । जसले पीडितलाई थोरै भए पनि राहत मिल्छ,’ उनले भने, ‘हिंसामा परेकाहरुमा कोहीसँग नबोल्ने, एक्लै बस्नेजस्ता लक्षण हुन्छन् । उनीहरुको कुरा जान्ने अनि सुन्ने प्रयास गर्दिनुपर्छ । तिम्रो कुनै दोष छैन भनेर ढाडस दिँदा पनि पीडितको पीडा कम हुन्छ ।’

मनोविद् कुँवर हिंसामा परेकालाई परिवार र साथीभाइको साथसहयोग एकदम आवश्यक रहेको बताउँछिन् । ‘पीडितले आफ्ना कुरा राख्दाको विश्वासपात्र हो भनेर त छुट्याउन गाह्रो हुन्छ । आफ्ना कुराहरू कसलाई सुनाइरहेको छु, उसले कस्तो प्रतिक्रिया दिन्छ भन्ने हो । कसैले कुनै पनि प्रकारका हिंसा भोगेको छ भने उसको परिवार सहयोगी हुन जरुरी छ,’ उनले भनिन्, ‘केटीलाई नै बढी दोष लगाउने बढी हुन्छ । दुःखको कुरा, हामीकहाँ निगरानीको व्यवस्था छैन । जो कोही पनि विज्ञ बनिदिँदा पीडित थप पीडामा परिरहेका हुन्छन् ।’

प्रकाशित : जेष्ठ १०, २०७९ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?