२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

जनताले उचित विकल्प पाए अहिलेका पार्टी विस्थापित हुन्छन् : पूर्व मुख्य सचिव पौडेल 

गगनशिला खड्का

गुल्मी — पूर्व मुख्य सचिव लीलामणि पौडेलले जनताले उचित विकल्प पाएमा अहिलेका राजनीतिक दलहरु विस्थापित हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पौडेलले आफूले यसपटकको स्थानीय निर्वाचनमा मतदातालाई नजिकबाट बुझ्दा जनताले उम्मेदवार छनोटको विकल्पसमेत नभएको बताएका छन् । 

जनताले उचित विकल्प पाए अहिलेका पार्टी विस्थापित हुन्छन् : पूर्व मुख्य सचिव पौडेल 

‘उम्मेदवार छनोटको जनतालाई विकल्प अधिकांश ठाउँमा तातो तावाबाट उफ्रेमा भुंग्रोमा खस्ने जस्तै छ,’ उनले लेखेका छन् , ‘जनताले उचित विकल्प पाए भने अहिलेका पार्टी विस्थापित हुन्छन् भन्ने मेरो ठम्याइ छ ।’ तर त्यो निर्दलीयताचाहिँ नभएको उनको भनाई छ ।

स्थानीय तह निर्वाचनमा उनी आफ्नो गृहपालिका रुरुक्षेत्र गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार यदु ज्ञवालीको प्रचारमा खुलेरै लागेका थिए ।

स्थानीय तहको चुनाव गैरदलीय भएमा जनताले पक्षपातरहित सेवा र न्याय पाउने उनको ठम्याइ छ । ‘युरोपका कतिपय मुलुक र, फिलिपिन्समा दलीय व्यवस्था भए पनि जनताका दैनिक सेवा प्रवाहसँग जोडिएका स्थानीय तह गैरदलीय हुने प्रावधान छ,’ उनी लेख्छन् , ‘यो बहस हामी कहाँ हुन जरुरी छ ।’

दलले जनतालाई विभाजन र सेवा प्रवाहमा विभेद तथा स्रोतमा गठजोड (सिन्डिकेट) लागू गरेको भन्दै उनले जो दलको सदस्य हो उसले राज्यको स्रोतको दोहन गर्ने र नाफा व्यक्तिगत तथा खर्च र नोक्सानी सार्वजनिक गर्ने गरिरहेको बताए ।

‘विष्णुमती र वाग्मती किनारामा पहुँच भएकाहरूले (सांसदसमेत) हाम्रै अगाडि सार्वजनिक जग्गामा सरकारी रकम ल्याएर संरचना बनाए,’ उनी लेख्छन्, ‘अब प्रयोग गर्न तिनै पहुँचवालाको स्वीकृति चाहिन्छ । निजी सम्पत्ति जस्तो गरिराखेका छन् । नबनाउन आग्रह गर्दा उल्टै धम्की दिए र बनाई छाडे।’

प्रकाशित : जेष्ठ १०, २०७९ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?