२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

जजिराको विमान साढे १३ घण्टा रोकियो

विमानको अगाडिको भाग नोज र इन्जिन बाहिरको कभरमा रगतका टाटा देखिएपछि चरा ठोकिएको आशंका गरिएको थियो 
माधव ढुंगाना

भैरहवा — अवतरणका क्रममा चरासँग विमान ठोकिएको आशंकामा जजिरा एयरलाइन्सको एउटा विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे १३ घण्टाभन्दा बढी समयसम्म रोकियो ।

जजिराको विमान साढे १३ घण्टा रोकियो

कुवेतबाट नियमित उडान तालिकाअनुरूप आएको जजिरा एयरलाइन्सको एयरबस ३२० विमान चरा ठोकिएको आशंकामा आइतबार राति २ बजे अवतरण गरेपछि तत्काल फिर्ता नगएर रोकिएको हो । तर उक्त विमान चरासँग ठोकिएको भने पुष्टि हुन सकेन ।

सोमबार दिउँसो काठमाडौंबाट प्राविधिक भैरहवा आई विमान जाँच गरेपछि दिउँसो ४:४० मा कुवेतका लागि उडेको विमानस्थलका निमित्त महाप्रबन्धक तथा प्रवक्ता श्यामकिशोर साहले बताए । ‘प्राविधिक आएर विमानको सबै जाँच गरेपछि विमान सुरक्षित रहेको पाइयो,’ साहले भने, ‘तर विमानमा कुनै चरा तथा पन्छी भने फेला परेन ।’

पाइलटले विमान अवतरण गर्ने क्रममा चरा ठोकिएको बताएको र विमानको अगाडिको भाग नोज र इन्जिन बाहिरको कभरमा रगतका टाटा देखिनुले विमानमा चरा ठोकिएको हुन सक्ने आशंका गरिएको थियो । तर चरा फेला परेन । विमान १ सय २१ जना यात्रु लिएर आइतबार राति २ बजे भैरहवामा अवतरण गरेको थियो । साढे २ बजे राति नै फिर्ता उडान समय थियो । ३८ जना यात्रु कतार जाने थिए ।

‘वन्यजन्तु र चराचुरुंगीको जोखिम कम गर्न विमानस्थलमा बेलाबेलामा साइरन बजाउने, पटाका पड्किए जस्तो आवाज आउने यन्त्र प्रयोग गर्ने, विमानस्थल परिसरमा पेट्रोलिङ गस्ती गर्ने र तारबार गर्ने नै हो,’ साहले भने, ‘चराचुरुंगी र वन्यजन्तु धपाउने उपकरण विमानस्थलमा केही परिमाणमा भए पनि थप्ने क्रममा छौं ।’ भैरहवामा विमानस्थलको पश्चिमतर्फ तिनाउ नदी, उत्तरतर्फ घाघरा र दक्षिणतर्फ केही ताल रहेकाले चरालाई आकर्षित हुने अनुकूल वातावरण रहेको उनको दाबी छ । ‘विमानस्थल आसपास सिमसार क्षेत्र बनेकाले चरालाई आकर्षित गराएको छ,’ साहले भने, ‘कतिपय संरक्षित चरा पनि विमानस्थल आसपासमा चर्न आउने गर्छन् ।’

रात्रिकालीन एउटा मात्र उडान भएकाले चरा ठोकिने सम्भावना धेरै भएकाले सुरक्षा सतर्कता अपनाउनुपर्ने भैरहवाका पर्यटन व्यवसायी तथा सोसाइटी अफ ट्राभल्स एन्ट टुर अपरेटर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयले बताए । ‘चराचुरुंगी र वन्यजन्तुका कारणले भविष्यमा अन्य दुर्घटना हुन नदिन त्यही किसिमको सुरक्षा सतर्कता र अपनाउन जरुरी छ,’ बजिमयले भने, ‘रात्रिकालीन एउटा मात्र उडानले यस्तो समस्या भएको हो भने रात्रिकालीन उडान गर्ने अन्य विमान नआएसम्म बिहान र दिउँसोमा उडान गर्दा राम्रो हुन्छ

प्रकाशित : जेष्ठ १०, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?