अन्तर्वार्ता

जनतालाई धोका दिन्नँ : नवनिर्वाचित मेयर साम्पाङ

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानमा एक दशकदेखि खानेपानी, सडक, सर्दु–सेउतीको गिटीबालुवा ठेक्का, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति जस्ता विभिन्न समस्या देखाउँदै स्थानीय सरकारलाई समाधान गर्न दबाब दिने सामाजिक अभियन्ता हुन् हर्कराज साम्पाङ । विद्रोही स्वभावको छवि बनाएका धरान–१८ बुद्धचोक बस्ने सामाजिक अभियन्ता ३९ वर्षीय साम्पाङ धरान उपमहानगरपालिकाको प्रमुख बन्न सफल भएका छन् । साम्पाङ मेयरमा निर्वाचित भएपछि कान्तिपुरकर्मी प्रदीप मेन्याङ्बोले उनीसँग लिएको अन्तर्वार्ता :

जनतालाई धोका दिन्नँ : नवनिर्वाचित मेयर साम्पाङ

गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवार र एमालेका उम्मेदवारलाई हराएर धरान उपमहानगरपालिकाको मेयर पद जित्न सफल भएकोमा कस्तो महसुस गरिरहनु भएको छ ?

उहाँहरु हार्नु भएको छैन । उहाँहरु (एमाले र कांग्रेस) कै भोटर्सले मलाई भोट दिएकाले मैले जितेको हो । त्यसैले उहाँहरुसँगसँगै यो चनुाव जित्या छौं । यो स्वतन्त्रको जित हो । सबै पार्टीको जित हो । स्वतन्त्र र साझा उम्मेदवारको जित भएको महसुस गरिरहेको छु ।

स्वतन्त्र उम्मेदवार मेयर हुनु भएको छ । अन्य जनप्रतिनिधि त कांग्रेस र एमालेका बहुमत छन् नि ? काम गर्न देलान् ?

कसरी काम गर्न दिँदैनन् ? कसले दिँदैन ? एउटा परिवार चलाउन पनि अर्काको छोरी ल्याउनु पर्छ । एक्लै त चल्दैन नि । म पनि उहाँहरु सबैसँग सहकार्य समन्वय गरेर नगरपालिकाको काम गर्छु । यत्रो उपमहानगरपालिका म आफैं चलाउँछु त ? एक्लै चलाउन सक्छु त ? सक्दिनँ । म एक्लैले खुशी गरेर हुँदैन पनि । त्यसो भएको कारणले हामी सबै सहकार्य गरेर अगाडि बढ्ने छौं । सबै राजनीतिक दललाई ससम्मान सहभागी गराउँछु ।

हिजोको दिनमा चुनावको बेला केके भनियो होला, उहाँहरुले पनि भने होलान्, त्यो त आफ्नो मेलो गरेको हो । तर भोलिको दिनमा त मलाई पनि उहाँहरुकै साथ सहयोग चाहिन्छ । राजनीतिक दल, संघसंस्था, नागरिक समाज सबै मिलेर के गर्दा बेस्ट हुन्छ । धरान बनाउने हो । उहाँहरुले यो स्वतन्त्रबाट आएको मेयर हो, यसको प्रस्ताव सबै बल्झाउनु पर्छ भन्ने कुरा उहाँहरुले गर्नु हुन्न । उहाँहरुलाई सुशासन र विकासको मुलधारमा जोडेर लाने हो । म लान सक्छु त्यही क्षमता भएको मान्छे हो म । धरानको समग्र विकासका लागि म सबैलाई आह्वान गर्छु । मेरो क्षमतै नभएको भए मलाई जनताले जिताउने थिए त ? बजेटको कुरा गर्छन् । बजेट भनेको पाटीको नेताको गोजीबाट आउने पैसा होइन । जनताबाट संकलित कर हो । मैले जित्ने बित्तिकै नेपाल भन्दा बाहिर गइहाल्यो त धरान ? यसर्थ, मेरो समन्वयकारी भूमिका अझै दरिलो बनाउँछु ।

मेयरको रुपमा तपाईँ धरान उपमहानगरको कुर्सीमा पुगेकाले तपाईंको पहिलो प्राथमिकता के हो ?

खानेपानी । खानेपानीमा एक प्रकारको चुहावट छ, मर्मतसम्भारको लापरबाही छ । खानेपानीमा प्राकृतिक र कृत्रिम समस्या छ । खानेपानीको समाधान नभएसम्म म प्राय प्राय फिल्डमा हुनेछु । मैले गर्ने काम नै त्यही हो । त्यसपछि स्वास्थ्यको कुरा छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार्ने कुरा छ । शिक्षाका कुराहरु छन् । सबै कुरा यहा भनेर साध्ये नहोला यहाँ ।

तपाईं पहिल्यैदेखि विद्रोही स्वभावको । धरानका समस्या उठाउँदा धेरै विद्रोही भाषा पनि प्रयोग गर्नु भयो । अब मेयरको कुर्सीमा बसेपछि पनि विद्रोह नै गर्नुहुन्छ ?

अब मेरो भूमिका चेन्ज भयो नि । त्यहाँ पुगे पछि त म अब हाँसी मात्र रहनेछु । सधैंभरि कराइमात्र रहने ? अहिले तपाईंहरुले मलाई जति गालि गर्नुस म हाँसी मात्र रहन्छु । बरु तपाईंहरुले पनि धरान बनाउन सल्लाह सुझाव दिनुस् ।

प्राय मान्छे (नेता)हरु सत्तामा पुगेपछि बिग्रने गरेका छन् नि ?

म बिग्रन्नँ । यत्रो जनताले मलाई एउटा व्यक्तिलाई जिताइदिनु भएको छ । उहाँहरुको विश्वासमा घात गरेँ भने मलाई पाप लाग्दैन ? बिना पार्टीको एक्लै कुदेर संघर्ष गरेँ । लामो समयसम्म निरन्तर संघर्ष गरेकाले आज मलाई धराने जनताले मूल्यांकन गरेर यो माया (मेयर पद) दिनु भा छ । यत्रो माया दिने जनतालाई मैले धोका दिन मिल्छ ?

नगरपालिका र बीपी प्रतिष्ठानमा भएका बेथितिविरुद्ध संघर्ष गर्नु भयो । अब कसरी ती बेथिति सफा गर्नुहुन्छ ?

नगरपालिका र बीपीमा केके बेथिति छ भन्ने त मलाई पनि थाहा छ । अब पहिला म एउटा अभियन्ताको रुपमा कराउँथेँ । त्यहाँ गइसकेपछि नारा जुलुस गर्छु भन्या होइन । त्यो त पहिलाकै शैली भइहाल्यो । त्यसैले अब मेरो भूमिका र शैली परिवर्तन हुन्छ । तर बेथिति सफा गर्नका लागि एक खालको पहल र दबाब भने रहन्छ ।

स्वतन्त्र मेयर स्थानीय सरकार प्रमुख भएको बेला संघ र प्रदेशले बजेट दिएन भने के गर्नुहुन्छ ?

मलाई नपत्याउने बित्तिकै सरकारको औचित्य नै सकियो नि त । म एक भोट ल्याएर जितेको होइन । मैले सारा धराने जनताको प्रतिस्पर्धीमध्ये पहिलो मत लिएर जितेको मान्छे । म स्थानीय सरकार प्रमुख हुँदा प्रदेश र संघीय सरकारबीच समन्वय भएन भने सरकार कहाँ रह्यो र ? यो पुरानो खालको बुझाइबाट हामी मुक्त हुनुपर्छ । हामी विभिन्न परिवारका छौं । परिवार मिलेर एउटा समाज बनेको छ । त्यसरी नै विभिन्न पार्टीबाट हामी कार्यपालिकामा गएता पनि मिलेर नै काम गर्ने छौं । त्यहाँ कुस्ती हुँदैन । म उहाँहरुलाई हाँसीहाँसी मिलाउँछु । मिलाउन सक्ने क्षमता मसँग छ ।

तपाईसँग जनताले के आशा राखेका होलान् ?

धेरै आशा पनि राखेका छैनन् धराने जनताले । सामान्य आशा राखेका छन् । नगरबासीले पाउने सेवासुविधालाई चुस्तदुरुस्त गर्ने । त्यो म गर्छु ।

दलका उम्मेदवारले जितेर गएपछि नगरपालिकामा आफ्ना कार्यकर्ता र आफन्तलाई भर्ती गर्ने गरेका थिए । तपाईंले चाहिँ के गर्नुहुन्छ ?

मेरो कार्यकर्ता नै छैन । म सबैभन्दा पहिला वर्कलोड हेर्छु , त्यसपछि म वर्कफोर्स हेर्छु । आफैं म धेरै स्टडी गर्छु । वर्कलोडचैँ छैन वकफोर्स धेरै राखेर त भएन । म्यानेजमेन्ट टिममा एउटा काम गर्ने मान्छे छ, चार जना सुपरभाइजर राखेर त काम हुँदैन । वर्कफोर्स बढाउनु पर्छ वकलोड अनुसार । मेरो कार्यकर्ता हो भनेर ए मलाई भोट दिएको सहयोग गरेको भनेर हामीले भर्ती गरेर काम छैन । हाम्रो इन्कम कति हो एक्सपेन्सेज कति हो ? यी सम्पूर्ण कुरालाई हेरेर सोहीअनुसार काम हुन्छ । मसँग आएका सबै स्वफूर्त स्वयंसेवक भएर आएका मात्र छन् । कार्यकर्ता छैन । वकफोर्स र वकलोडकालागि फ्री कम्पीटिसशन हुन्छ । योग्यता र क्षमताका आधारमा मान्छेले जब पाउँछन् । अयोग्य मान्छेहरुलाई पार्टीले गरेर जस्तो हुँदैन ।

सर्दुको घटना (खोलाको गिटी बालुवा बिक्री) अब के गर्नु हुन्छ ?

म रोक्छु । तर ठेक्का लगाएर बेचिसकेको छ भन्ने सुन्या छु ।

उपमहानगरपालिकालाई राजस्व त चाहिन्छ नि ?

म त्यसको अन्तरवस्तु बुझ्छु । तर राजस्व बढाउनका लागि देश बेच्नु पर्छ भन्ने मलाई लाग्दैन । अब भात खानका लागि किड्नी वेच्छ नि मान्छेहरुले त्यही खालका कुरा हो यो पनि । धरान नगरपालिकाको राजस्व बढाउनका लागि सर्दु र सेउती बेच्नु पर्दैन । किन भने जब खोला बाटा ढुंगा उठाइन्छ त पानी दबिन्छ । धरानको प्राकृतिक कुरालाई बिगार्ने काम हामीबाट हुँदैन बरु अरु श्रोत खोजेर हामीले राजस्व बढाउनेतिर लाग्ने छौं । अघि भनेनी जिउ पाल्न लाई किड्नी बेचे जस्तो काम हामीबाट हुँदैन ।

तपाईं अभियन्ताबाट मेयर बन्नु भयो । अब सेवा सुविधा लिनु हुन्छ कि हुन्न ?

धरानभित्र हिँड्दा म मेरै मोटरसाइकल प्रयोग गर्छु । तर धरान बाहिर जाँदा मेयर जस्तो मान्छे मोटरसाइकलमा जाँदा धरानको बेइज्जत हुने भएकाले गाडी प्रयोग गर्छु । अरु त्यो केके तलब भत्ता सुविधा भन्छ नि त्यो पहिला बुझ्छु । अहिले नै लिन्न भनिहाल्दिनँ ।

प्रकाशित : जेष्ठ ९, २०७९ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?