काठमाडौँ — सरकारले उपत्यकामा खानेपानी आपूर्तिका लागि मेलम्चीबाहेक थप वैकल्पिक स्रोतको खोजी सुरु गरेको छ । खानेपानी मन्त्रालयका अनुसार उपत्यका वरिपरि एवं वाग्मती जलाधारलगायत स्रोतको खोजी थालिएको हो ।
‘वर्षात् सुरु हुन थालेपछि मेलम्चीको पानी जतिबेला पनि बन्द हुन सक्छ, सधैं यस्तै हुन थाल्यो भने वैकल्पिक स्रोत त चाहियो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘आपूर्ति अहिलेकै जस्तै हो भने मेलम्चीको पानी तीन महिनामात्र वितरण गर्न सकिने अवस्था छ ।’ मेलम्चीको भूगोल कमजोर भएको हुँदा वर्षात्मा जुनसुकै बेला पहिरो जान सक्ने ती अधिकारीको भनाइ छ । गत वर्ष खानेपानी तथा भूगर्भ विभाग र गृह मन्त्रालयको विपद् व्यवस्थापन प्राधिकरणको विज्ञ टोलीले त्यस क्षेत्रको भूगोलको अध्ययन गरेको थियो । टोलीले सिन्धुपाल्चोकको अम्बाथानभन्दा माथि अर्थात् ड्याम क्षेत्रमाथिको भूगोलमा जतिबेला पनि पहिरो जाने जोखिम औंल्याएको छ ।
‘मेलम्चीमा प्राकृतिक प्रकोपको बेला वा सुरुङ सफा गर्दा कति महिना बन्द हुन सक्छ भन्ने अनुमान गर्न नै गाह्रो छ,’ ती अधिकारीले भने, ‘त्यसैले पनि वैकल्पिक स्रोत चाहिन्छ ।’ मेलम्चीका यिनै जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले ललितपुरको सिस्ने, ठोस्ने र भक्तपुरको महादेव खोलाबाट पनि पानी ल्याउन अध्ययन सुरु गरेको हो । काठमाडौं उपत्यकाका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीव राणाले सिस्नेखोलाबाट करिब १४ करोड लिटर पानी उपत्यका ल्याउन सकिने बताए ।
खानेपानी व्यवस्थापन बोर्डले गरेको अध्ययनअनुसार सिस्नेखोलाबाट २ सय ५० मिटर लिफ्टिङ गरेर त्यहाँबाट सिधै भैंसेपाटीस्थित सैंबु पाइपलाइन (वितरण प्रणाली) मा जोड्न सकिनेछ । त्यसका लागि ६० मिटरको उचाइ बाँध निर्माण गर्नुपर्नेछ । पाइपलाइनको लम्बाइ १९ किमि हुनेछ । कार्यकारी निर्देशक राणाका अनुसार सिस्नेबाट कम लागतमा पानी ल्याउन सकिनेछ । ‘आयोजना प्रस्तावित क्षेत्रमा मानवबस्ती कम छ, क्षतिपूर्ति कम दिनुपर्छ, यो एकदम फाइदाजनक आयोजना छ,’ उनले भने, ‘झन्डै २० अर्ब रुपैयाँमा काम सम्पन्न हुन्छ ।’ ७ वर्षभित्र आयोजना सम्पन्न गर्न सकिने पनि उनले बताए । ‘समय–समयमा मेलम्ची आयोजनाको सुरुङ सफा गर्नै पर्छ, सफा गर्न एक महिना लाग्छ । मेलम्चीमा प्राकृतिक प्रकोप गएमा उपत्यकामा पानीको हाहाकार हुन्छ, त्यसको विकल्प त खोज्नु पर्यो, त्यसकारण पनि वाग्मती बेसिनका पानीको स्रोतको अध्ययन गर्दै छौं ।’ ललितपुरकै ठोस्नेखोलामा पनि अध्ययन भइरहेको छ । ठोस्नेबाट पनि करिब ५ करोड लिटर पानी ल्याउन सकिने उनले बताए ।
‘ठोस्ने र सिस्नेको पानी एउटै पाइपलाइनबाट भैंसेपाटीस्थित सैंबुमा ल्याउन सकिन्छ,’ राणाले भने, ‘याङ्ग्री र लार्केको पानी उपत्यकामा ल्याए पनि यी दुईवटा स्रोत रिजर्भका रूपमा राख्नैपर्छ ।’ ठोस्नेखोलाको पानीबारे खानेपानी तथा ढल व्यवस्था विभागले अध्ययन गरिरहेको उनले बताए । विभागले भक्तपुरको महादेव खोलाबाट करिब १ करोड ५० लाख लिटर पानी ल्याउन अध्ययन सुरु गरेको छ । महादेव खोलाको पानी भक्तपुरभित्रका बासिन्दालाई आपूर्ति गर्न सकिने खानेपानी तथा ढल व्यवस्था विभागका सिनियर डिभिजनल इन्जिनियर सुरत बमले बताए । ‘महादेव खोलाको पानी भक्तपुरका १ लाख जनसंख्यालाई पुर्याउन सकिन्छ,’ उनले भने, ‘डीपीआरका लागि परामर्शदाता नियुक्त गर्दै छौं ।’ यी आयोजना मेलम्चीको विकल्पमा निर्माण गरिने उनले बताए । कम लागतमा निर्माण गर्न सकिने भन्दै उनले बाँध निर्माण हुने स्थानमा धेरैजसो जंगल क्षेत्र पर्ने बताए ।
ठोस्नेको पनि डीपीआर अध्ययन गर्न परामर्शदाता नियुक्त गर्ने अन्तिम तयारी गरेको उनले बताए । ‘२० वर्षअघि नै यी आयोजना मेलम्चीको विकल्पका रूपमा हेरिएका हुन्,’ उनले भने, ‘हाल सरकारले अध्ययन अघि बढाएको छ ।’ ठोस्नेको पानी पनि लिफ्टिङ गरेर सिस्नेमा मिसाई त्यहाँबाट सिधै भैंसेपाटी ल्याउन सकिने उनले बताए ।
मेलम्ची वरपरको भूगोल कमजोर भएको विभिन्न अध्ययनले देखाएपछि याङ्ग्री र लार्के खोलाको अध्ययनमा पनि अन्योल भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका (केयूकेएल) कार्यकारी अधिकृत मिलन शाक्यले बताए । इप्टिसा नामक इटालियन परामर्शदाता कम्पनीले याङ्ग्री र लार्केको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरे पनि हालसम्म बुझाएको छैन । दुई वर्षअघि उक्त परामर्शदाता कम्पनीले अध्ययन गरेको थियो । केही सर्तहरू परिवर्तन गर्नुपर्ने भएपछि मन्त्रालयले उक्त डीपीआरलाई फिर्ता पठाएको थियो ।
गत वर्ष मेलम्चीमा गएको बाढीले आयोजनाको ड्याम क्षेत्र बगाएपछि याङ्ग्री र लार्केको अध्ययन अन्योलमा परेको हो । शाक्यका अनुसार उपत्कामा दैनिक साढे ४३ करोड लिटर पानीको माग छ । तर केयूकेएलले दैनिक ११ करोड लिटर पानी मात्र उपलब्ध रहेको जनाएको छ । उनका अनुसार झन्डै ४० प्रतिशत पानी चुहावटका कारण खेर जान्छ । ‘वितरण प्रणाली पुरानो छ,’ उनले भने, ‘वितरण प्रणालीमा सुधार नगरेसम्म चुहावट न्यूनीकरण गर्न गाह्रो छ ।’ खानेपानी मन्त्रालयका सहसचिव त्रिरेसप्रसाद खत्रीले वर्षात्को ४ महिना सुन्दरीजलको थप ६ करोड लिटर पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर वितरण गर्न सकिने बताए । ‘ठोस्ने, सिस्ने र महादेव खोलालाई विकल्पमा रूपमा हामीले निर्माण गर्दै छौं,’ उनले भने, ‘त्यसका अतिरिक्त सुन्दरीजलको थप पानी वितरण प्रणालीबाट पठाउन सकिन्छ ।’
प्रकाशित : जेष्ठ ९, २०७९ ०८:४८