कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नेपाल–अमेरिका सम्बन्ध सुदृढीकरणमा जोड

तीनदिने औपचारिक भ्रमण सकेर अमेरिकी उपमन्त्री उज्रा जिया स्वदेश फिर्ता
जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जिया नेपालको तीनदिने औपचारिक भ्रमण सकेर आइतबार स्वदेश फर्किएकी छन् । नेपाल–अमेरिकाको ७५ वर्षगाँठको उपलक्ष्यमा आएकी उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री पत्नी आरजु राणा, गृहमन्त्री बालकृष्ण खाँण र परराष्ट्रमन्त्री नारायण खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गरेर द्विदेशीय सम्बन्ध सुदृढीकरणमा जोड दिइन् ।

नेपाल–अमेरिका सम्बन्ध सुदृढीकरणमा जोड

उपमन्त्री जियाले आइतबार बिहान प्रधानमन्त्री देउवासँग बालुवाटारमा शिष्टाचार भेट गरिन् । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार भेटवार्तामा दुई मुलुकबीचको सम्बन्ध र हितका विषयमा विचार आदानप्रदान भएको थियो । उनले प्रधानमन्त्री देउवासँग नेपाललाई गर्ने सहयोगमा वृद्धि गर्ने जानकारी दिएकी छन् ।

प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् । उपमन्त्री जियाले पनि ट्वीटरमार्फत प्रधानमन्त्री देउवासँग अमेरिका र नेपालको ७५ औं वर्षको मित्रता र नेपालमा प्रजातन्त्र र मानवअधिकारलाई सुदृढ पार्ने विषयमा मिलेर काम गर्न सक्ने तरिकाबारे विचार आदानप्रदान भएको जनाएकी छन् । बालुवाटारमै उपमन्त्री जियाले प्रधानमन्त्री पत्नी राणासँग भेटवार्ता गरिन् ।

तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी जियाले गृहमन्त्री खाँणलाई गृह मन्त्रालय पुगेर भेटवार्ता गरिन् । उक्त अवसरमा गृहमन्त्री खाँणले भूकम्पपछिको पुनर्निर्माण र कोभिड महामारीविरुद्धको लडाइँमा प्राप्त अमेरिकी सहयोगको प्रशंसा गरे । गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईका अनुसार भेटवार्तामा खाँणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको उपमन्त्री जियालाई जानकारी दिएका थिए । उक्त भेटवार्तापछि जियाले ट्वीटरमा गृहमन्त्रीसँग नेपालमा मानवअधिकार, मौलिक स्वतन्त्रताको प्रवर्द्धन र संरक्षणका विषयमा फलदायी छलफल भएको उल्लेख गरेकी छन् ।

उपमन्त्री जियाले परराष्ट्रमन्त्री खड्कालाई परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरिन् । उक्त अवसरमा उनीहरूबीच द्विपक्षीय/बहुपक्षीय मञ्चमा मैत्रीपूर्ण सम्बन्ध र सहयोगसम्बन्धी विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । जियाले खड्कासँग द्विपक्षीय सम्बन्धको सुदृढीकरण र दुई देशबीच थप ७५ वर्षको मित्रताका बारेमा कुराकानी भएको उल्लेख गरेकी छन् । जियाले शनिबार बौद्धनाथ भ्रमण गर्नुका साथै तिब्बती शरणार्थीका नेताहरूसँग भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?