निर्वाचनपछि सार्वजनिक कार्यक्रममा निस्किएका ओली परिणामबारे चुपचाप- समाचार - कान्तिपुर समाचार

निर्वाचनपछि सार्वजनिक कार्यक्रममा निस्किएका ओली परिणामबारे चुपचाप

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय चुनावअघि देशव्यापी अभियान सञ्चालन गरेका एमाले अध्यक्ष केपी शर्मा ओली चुनावपछि भने चुपचुप छन् । चुनावी अभियानको क्रममा अध्यक्ष ओलीले लामो भाषण गर्दै विपक्षी दल तथा तिनका नेताहरुमाथि चर्को आलोचना गर्ने गरेका थिए ।

चुनावको परिणामको विषयमा महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै धाँधलीको आरोप लगाएका छन् । चुनावी परिणामपछि आइतबार राजधानीमा आयोजित कविता लोकार्पण कार्यक्रममा उपस्थित भएका ओलीले चुनाव मात्रै नभएर राजनीतिक विषयमा टिप्पणी नै गरेनन्।

मीना श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टडे’को लोकार्पण कार्यक्रमा आफूलाई रुघा लागेर सन्चो नभएको भन्दै सम्बोधन सुरु गरेका अध्यक्ष ओलीले ४३ मिनेट बोलेका थिए ।

कार्यक्रममा उनले कविता, नाटकको उत्पत्तिदेखि दूरदर्शनमा प्रसारित हुने 'महाभारत' टेलिसिरियल प्रारम्भ हुँदाको संवाददेखि जेनेटिक मेमोरीसम्मको विषयमा चर्चा गरेका थिए।

कार्यक्रममा ओलीले शब्दवाण धातू वाणले घोचेको भन्दा पनि कडा हुने भन्दै भने, ‘धातूको वाणले प्रहार गर्दा उपचारले निको हुन्छ । शब्दवाणले गरेको प्रहार निको नै हुन्न ।’

उनले सबै नेपाली कवि भएको बताए । ‘सबै नेपालीको नामपछि कवि लेखिदिए हुन्छ । लिपी जन्मिनुभन्दा पहिले पनि छन्दमा कविता वाचन गर्दथे,’ ओलीले भने, ‘नेपालमा जस्तो दोहोरी खेल्दा भन्न सक्ने को छ ? नेपालीसँग १० मिनेटमा विश्वका जुनसुकै कवि पनि टिक्न सक्दैन ।’

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा एमालेले अपेक्षा गरेअनुसारको परिणाम प्राप्त गर्न सकेन । चुनावी परिणामपछि एमालेले लिने नीतिलाई चासोको साथ हेरिँदै आएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्

रौतहटको गुजरा नगरपालिका प्रमुखमा जसपा र उपप्रमुखमा कांग्रेस विजयी 

शिव पुरी

रौतहट — रौतहटको गुजरा नगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका सन्तलाल चौधरी ५ हजार १ सय ४३ मतका साथ विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । 

चौधरीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार केशव रायलाई ३ सय ४४ मत अन्तरले हराए । रायले ४ हजार ७ सय ९९ मत पाए । निर्वाचन अधिकृत बद्रीनारायण शर्मार्का अनुसार नगर उपप्रमुख पदमा नेपाली कांग्रेसकी रत्न लामा १ हजार ८ सय २१ मतान्तरले विजयी भइन् । लामाले ६ हजार १० मत पाइन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रिनाकुमारी चौधरीले ४ हजार १ सय ८१ मत पाइन् ।

निर्वाचन कार्यालयका अनुसार नौ वडा रहेको नगरपालिकामा एमालेले १, ३ र ४ वडाहरु जितेको छ । त्यस्तै माओवादी केन्द्रले २, कांग्रेसले ६ र ७, स्वतन्त्रले ५, समाजवादीले ८ र जसपाले ९ नम्बर वडामा जितेका छन् ।

रौतहटको १८ वटा पालिकामध्ये अहिलेसम्म ११ वटाको मत परिणाम सार्वजनिक भइसकेको छ । ७ वटा पालिकाको मतगणना जारी छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ १८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×