१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

७१५ पालिकाको परिणाम : माओवादी २६ , एमाले १० र कांग्रेस २ जिल्लामा शून्य

प्रकाश धौलाकोटी

काठमाडौँ — स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम अन्तिम चरणमा छ । अहिलेसम्म ७१५ स्थानीय तहको मतगणना सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ भने अब पाँच महानगरपालिकासहित ३८ स्थानीय तहको परिणाम आउन बाँकी छ । यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले ३१४ स्थानमा प्रमुख जितेको छ । कांग्रेसले विगतभन्दा ४८ स्थानमा बढी जितेको हो । 

७१५ पालिकाको परिणाम : माओवादी २६ , एमाले १० र कांग्रेस २ जिल्लामा शून्य

त्यस्तै, नेकपा एमालेले १९३, माओवादी केन्द्रले १२०, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी (जसपा)ले २९ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १४ स्थानमा जितेका छन् । ०७४ को निर्वाचनमा २९४ स्थानीय तह जितेको एमालेले यसपटक १०१ सीट गुमाएको छ भने माओवादी केन्द्रले विगतभन्दा १४ स्थान बढी जितेको छ ।

अहिलेसम्मको परिणामअनुसार माओवादी केन्द्रले २६ जिल्लामा कुनै पनि पालिकाको प्रमुख पदमा जित्न सकेन । त्यस्तै, कांग्रेस दुई र एमाले १० जिल्लामा शून्य भएका छन् । कांग्रेसले पूर्वी रुकुम र दार्चुलाका कुनै पनि स्थानीय तहमा प्रमुख जित्न सकेन । पूर्वी रुकुमका तीन वटा पालिकामा माओवादी र एमालेले प्रमुख/उपप्रमुख पद जित्दा कांग्रेस बढारिएको छ ।

एमालेले सर्लाही, गोरखा, पूर्वी रुकुम, बाँके, कालीकोट, जुम्ला, रुकुम पश्चिम, मुगु, हुम्ला र डडेलधुराका कुनै पनि स्थानीय तहको प्रमुख पदमा जित हासिल गर्न सकेन । तीमध्ये गोरखा, बाँके, जुम्ला, रुकुम पश्चिम, हुम्ला र डडेलधुराबाट एमाले बढारिएको छ । यी जिल्लामा एमाले प्रमुख र उपप्रमुख दुवै पदमा आउन सकेन ।

माओवादी केन्द्रले जित्न नसकेका २६ मध्ये १४ जिल्लामा उपप्रमुख पदमा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी भएनन् । इलाम, झापा, सुनसरी, पर्सा, महोत्तरी, काठमाडौं, चितवन, रसुवा, कास्की, नवलपरासी पूर्व, मुस्ताङ, स्याङ्जा, रुपन्देही र बाजुरा गरी १४ जिल्लामा प्रमुख र उपप्रमुख दुवै पदमा माओवादी केन्द्र नील भएको छ ।

त्यस्तै, तेह्रथुम, धनकुटा, मोरङ, संखुवासभा, भक्तपुर, ललितपुर, पर्वत, मनाङ, म्याग्दी, लमजुङ, अर्घाखाँची, कपिलवस्तुमा प्रमुख पदमा जितेको छैन ।

देशभर २९ स्थानीय तह जितेको जसपाले ६२ जिल्लामा प्रमुख वा उपप्रमुख दुवै पदमा एक सिट पनि जित्न सकेन । जसपाले महोत्तरीका ५, सिराहाका ४, धनुषा, पर्सा, बारा र सप्तरीका ३–३ र सर्लाहीका २ स्थानीय तहमा प्रमुख जितेको छ भने ओखलढुंगा, सुनसरी, रौतहट, कपिलवस्तु र रुपन्देहीमा १–१ स्थानीय तहको प्रमुख जितेको छ ।

देशभर १७ स्थानीय तहको प्रमुख जितेको नेकपा एकीकृत समाजवादीले ५२ जिल्लाका स्थानीय तहमा प्रमुख वा उपप्रमुख जित्न सकेन । एमाले विभाजन पछि जन्मिएको समाजवादी २५ जिल्लामा सीमित भएको हो । समाजवादीले यीमध्ये इलाम, उदयपुर, सिराहा, रौतहट, दोलखा, काभ्रे, धादिङ, मकवानपुर, चितवन, सल्यान, डोल्पा, मुगु, बझाङ र कैलाली गरी १४ जिल्लामा मात्रै प्रमुख पदमा जितेको हो ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले १४ स्थानमा जितेको छ । यो पार्टी सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही र कपिलवस्तु गरी आठ जिल्लामा सीमित भएको छ । लोसपाले महोत्तरीमा ५, बारा र सप्तरीमा २–२ र पर्सा, रौतहट, सर्लाही र कपिलवस्तुमा १–१ स्थानीय तह जितेको छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको दमक, काठमाडौंको शंखरापुर, कपिलवस्तुको शिवराज नगरपालिका र झापाको हल्दीवारी गाउँपालिकामा प्रमुख पद जितेको छ । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका टिकापुर नगरपालिकासहित चार स्थानीय तहमा जितेको छ । १० वटाभन्दा धेरै स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

स्थानीय चुनावको परिणामअनुसार सातै प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ । एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र जसपा चौथो पार्टी बनेका छन् ।

मतपरिणाम आउन बाँकी रहेका स्थानीय तहमध्ये काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । पोखरामा एकीकृत समाजवादी, भरतपुरमा माओवादी केन्द्र, ललितपुरमा कांग्रेस र वीरगञ्जमा जनता समाजवादी पार्टी फराकिलो मतान्तरसहित अगाडि छन् । ११ उपमहानगरपालिकामध्ये धनगढी, हेटौंडा, बुटवल, नेपालगञ्ज, इटहरी, घोराही, कलैया र जितपुर सिमराको परिणाम आइसकेको छ भने तुलसीपुरमा एमाले, जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी र धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता बनाएका छन् ।

नतिजा आइसकेकामध्ये धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल, हेटौंडामा एकीकृत समाजवादी, बुटवल, नेपालगञ्ज र इटहरीमा कांग्रेसले जितेका छन् भने घोराही र कलैयामा एमाले तथा जितपुर सिमरामा माओवादी केन्द्र निर्वाचित भएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?