१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

के होला गठबन्धनको भविष्य ?

स्थानीय तहको चुनावमा कांग्रेसका मतदाताबाट सोचेजस्तो सहयोग मिल्न नसकेको भन्दै सत्ता गठबन्धनका दलका केही नेताहरूले सार्वजनिक रुपमा व्यक्त गरेको असन्तुष्टिलाई लिएर सत्ता गठबन्धनको निरन्तरतामाथि नै चर्चा चल्न थालेका छन् । यसैका आधारमा गठबन्धनलाई बदल्नुपर्ने सोच भने गठबन्धनमा आबद्ध दलहरुले बनाएका छैनन् ।

काठमाडौँ — माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले वैशाख २२ गते भरतपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पाँच दलीय सत्ता गठबन्धनलाई १५–२० वर्षसम्मै लैजाने उद्घोष गरेका थिए ।

के होला गठबन्धनको भविष्य ?

चितवन कांग्रेस नेताहरुको नामै लिएर दाहालले भनेका थिए, ‘यो गठबन्धन राष्ट्रको आवश्यकता हो, देशको विकास र समृद्धि आवश्यक हो भनेर चितवनवासीले उत्साहपूर्ण ढंगले भोट हालेर रेनु दाहाल र उनको टिमलाई विजयी गराउनु भयो भने म उत्साहित हुनेछु र गठबन्धनलाई १०–१५–२० वर्षसम्म लैजाने मेरो प्रतिबद्धता हुनेछ ।’

चितवनमा दाहालपुत्री रेनु प्रतिस्पर्धी एमाले उम्मेदवार विजयी सुवेदी भन्दा ६ हजार बढी मतान्तरमा अघि बढिरहँदा राजधानीमा भने गठबन्धनबाट उत्साही नभएको भन्दै सत्ता घटक मध्येका नेकपा (एस) र जनता समाजवादी पार्टी (जसपा) का केही नेताहरुले कांग्रेसप्रति असन्तुष्टि प्रकट गर्न थालेका छन् । कांग्रेसपछि गठबन्धनको बढी लाभ लिने माओवादी (केन्द्र) कै धेरैजसो नेताहरु उत्साही देखिएपनि कतिपयले कांग्रेसबाट ‘भोट ट्रान्सफर’ हुन कठिनाई हुने गरेको गुनासो गरिरहेका छन् ।

सत्ता घटक दलबाटै आएका यस्ता असन्तुष्टिसँगै संघ र प्रदेश निर्वाचनसम्मै गठबन्धनले निरन्तरता पाउने कि नपाउने भन्ने प्रश्न राजनीतिक दलभित्र उठ्न थालेको छ ।

अर्कोतर्फ स्थानीय चुनावले रक्षात्मक बनाएका एमाले अध्यक्ष केपी ओलीले संघ र प्रदेशको निर्वाचन सम्म माओवादी अध्यक्ष दाहाललाई फकाएर बाम गठबन्धनमा जोड्न सक्ने अनुमान गरिएका छन् । एमाले नेता विशाल भट्टराई सिट संख्यामा कम भएपनि ४० प्रतिशत जनमत ल्याउनु एमालेका लागि उत्साहजनक रहेको बताउँदै गठबन्धनमा गइहाल्नुपर्ने पार्टीको निष्कर्ष नभएको बताए । ‘०४९ मा स्थानीय चुनाव हुँदा कांग्रेसले ७० जिल्लामा जितेको थियो । तर, त्यसको १५ महिनामा भएको उपनिर्वाचनमा एमाले ठूलो दल भयो, त्यस्तै ०५४ मा चुनावमा स्थानीय तह एमालेले जित्यो । तर, ०५६ मा भएको चुनावमा कांग्रेसको बहुमत आयो’ उनले स्थानीय सरकार र राष्ट्रिय सरकार बनाउने चुनावको प्रकृति फरक हुन्छ । त्यसैले हामी पाँच दलसँगै भिडन पनि ढुक्क छौं ।’

एमालेका अर्का एक नेताको दाबीमा भने एमाले अध्यक्ष केपी ओलीलाई पार्टीका धेरै नेताहरुले संघ र प्रदेश निर्वाचनमा बाम गठबन्धन बनाउने गृहकार्यमा जुट्नुपर्ने सुझाव दिन थालेका छन् । ओलीपनि त्यसमा सकारात्मक भएको उनको दाबी छ ।

‘एक डेढ महिनासम्म आँफै नलाग्नुहोस, गठबन्धनमा लाग्दा पार्टी कमजोर भएको सन्देश जान्छ भन्ने सुझाव हामीले दिएका छौं’ ती नेताले भने,‘तर दोस्रो तहका नेताहरुले छलफल गर्नुहोला । अब माओवादी अध्यक्ष प्रचण्डको हातमा राजनीति चाबी रहेको स्थानीय तहको चुनावले देखाएको छ ।’

माओवादी नेता हरिबोल गजुरेलले एमाले नेताहरुबाट भावी गठबन्धनका बिषयमा चर्चा हुने गरेपनि पार्टीभित्र ठोस छलफल नभएको बताए । ‘के गर्ने भन्नेबारेमा व्यक्तिगत रुपमा बोलेर होइन, पार्टीभित्र छलफल गरेर निर्णय हुन्छ’ उनले भने,‘यसअघिपनि यस्ता कुरा नभएका होइनन् । हुँदै आएका हुन् । तर, त्यतिकैमा एमालेसँग मिल्ने कुरा हुँदैन ।’

निर्वाचनपछि शनिबार सत्ता घटक दलको पहिलो बैठक बसेपनि चुनावी गठबन्धनका भने समीक्षा भएन । भाइको निधनका कारण भेटघाट समेत बन्द गरेर शोकमा बसेका प्रधानमन्त्री देउवाले जेठ १० गते सरकारले ल्याउने बजेटको नीति तथा कार्यक्रमका सैद्धान्तिक बिषयमा मात्रै छलफल गर्ने भनेर बैठक डाकेका थिए । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले स्थानीय तहका सबै परिणाम आएपछि मात्रै निर्वाचनका बिषयमा समीक्षा हुने बताए ।

सत्ताघटक दलका तर्फबाटै आएका विभिन्न टिकाटिप्पणीप्रति प्रधानामन्त्री देउवा संवदेनशील भएको कांग्रेसका अर्का एक नेता बताउँछन् । उनका अनुसार गठबन्धनबाट कांग्रेस र माओवादीलाई सबैभन्दा बढी लाभ मिलेपनि विभिन्न शक्तिकेन्द्रको चलखेलमा गठबन्धन टुटाउने प्रयास हुन सक्नेमा देउवा सचेत छन् ।

‘स्थानीय तहको निर्वाचनको परिणाम आउनसाथ संघ र प्रदेशमा भागबण्डाको गृहकार्य गर्ने र बजेट पारित भएलगतै आगामी मंसिरमा चुनाव घोषणा गर्नुपर्छ भन्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ’ ती नेताले भने,‘गठबन्धनलाई दायाँ–बायाँ हुन नदिन स्थानीय तहमा जस्तो संघ र प्रदेशमा भागबण्डा गर्न ढिलाई गर्न हुन्न भन्ने मतपनि पार्टीभित्र छ ।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा समग्रतामा गठबन्धनले चुनावी सफलता पाएकाले यसको निरन्तरतामा आशंका गर्ने ठाउँ नभएको बताए । तल्लो तहसम्मै संगठन निर्माण भइनसकेका कारण नेकपा एसले सोचेजस्तो सफलता नपाएपनि पोखरा र हेटौडा उसका लागि ठूलो राजनीतिक उपलब्धी भएको शर्माको भनाई छ ।

‘कांग्रेसले पार्टीभित्र ठूलो आलोचना व्योहोरेर तालमेलमा पुग्ने तर गठबन्धनका सहयात्रीबाट कांग्रेसले सहयोग गरेन भन्ने कुरा जिम्मेबार भएन ।कांग्रेसले सहयोग नगरेको भए नेकपा (एसले) हेटौंडा उपमहानगरपालिका जित्थ्यो ? पोखरा महानगरपालिमा जित्ने अवस्था आउँथ्यो ?’ शर्माले भने,‘जसपाले बिराटनगर महानगरपालिका र जनकपुर उपमहानगरपालिकालाई लिएर उठाएको कुरालाई बीरगन्ज महानगरपालिकाको रिजल्टले र नेकपा (एस) को कुरालाई पोखरा र हेटौंडाको रिजल्टले खण्डन गरिसकेको छ ।’ उनले खोला तर्‍यो, लौरो बिर्सियो भन्ने व्यवहार कांग्रेसबाट नहुने बताए ।

गठबन्धनलाई निरन्तरता दिने पक्षमा कांग्रेसबाट कुनै समस्या नभएको भनाई प्रवक्ता महतको पनि छ । बजेट पारित भएलगतै निर्वाचन घोषणा हुनसक्ने संकेत उनले गरे । ‘बीचमा चाडबाड परेको र पहिला भएको समयका कारण पनि अब मंसिरमै चुनाव हुने हो । तर घोषणा छ महिना अगाडि पनि गर्न सकिन्छ । बजेट पारित भएपछि जाने निर्वाचनमै हो’ उनले भने ।

नेकपा (एस) को पार्टीको संगठन देशैभर निर्माण नभएका कारण सोचेजस्तो परिणाम ल्याउन नसकेको गुनासो जायज नभएको बताए । कतिपय स्थानमा कांग्रेसले पनि अन्य दलबाट सोचेजस्तो मत नपाएको महतको भनाई थियो । मिश्रित निर्वाचन प्रणालीका कारण एउटै पार्टीले बहुमत ल्याउने संभावना नभएकाले पनि सबैको जोड गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको दाबी महतको छ ।

नेकपा (एस) का नेता जीवनराम श्रेष्ठ र जसपाका नेता मनिष सुमनले कांग्रेसबाट सोचेजस्तो सहयोग नमिलेपनि सत्ता गठबन्धनलाई निरन्तरता दिने लक्ष्यबाट भने आ–आफ्नो पार्टी विचलित नहुने दाबी गरेका छन् ।

कांग्रेस छाडेर बामपन्थी गठबन्धन बनाउन भइरहेका केही प्रयासहरु अहिले सफल नहुने श्रेष्ठको भनाई छ । ‘तलसम्म गठबन्धन प्रभावकारी हुन सकेन । हाम्रा लागि गठबन्धन फलदायी भएन । तर, प्रतिगमनबाट मुलुकलाई बचाउने उद्देश्यका साथ बनेको गठबन्धन टुटाउने पक्षमा नेकपा (एस) छैन, बाम नामको गठबन्धन र एकता पनि हामीले आवश्यक ठानेका छैनौं । बाम नाममा केपी ओलीले विगतमा जेजस्तो संविधान विरोधी हर्कतहरु गरे, त्यो बिचार उनले सच्चाएका छैनन् । नसच्चाएसम्म बाम एकता हुनसक्दैन’ दुई–दुईपटक संसद विघटन गरेर मुलुकलाई प्रतिगमन तिर लैजाने कदमलाई ओलीले सहि थियो भनेर पुष्टि गर्न खोज्नु भएको छ । त्यस्तो बिचार गलत थियो भनेर नसच्चाएसम्म बाम गठबन्धन बन्न सक्दैन’श्रेष्ठले थपे,‘साँच्चै उनले आफूले हिडेको बाटो गलत थियो भनेर सच्चिन तयार भए भने त्यतिबेला पुनर्विचार गर्न सकिन्छ ।’

जसपा नेता सुमनले केन्द्रको निर्णयलाई कांग्रेसका तल्ला तहका कार्यकर्ता र मतदाताले सम्पूर्ण रुपमा नमान्दा चुनावी गठबन्धन आंशिक रुपमा मात्रै सफलता मिलेको निष्कर्ष सुनाए । तर, यसैका आधारमा गठबन्धन टुटाउने पक्षमा आफ्नो पार्टी र नेतृत्व तह नलागेको उनले बताए । ‘निर्वाचनमा कांग्रेसले सहयोग गरेन भन्दैमा जसपा गठबन्धन भत्काउने पक्षमा छैन । एउटा सनकी नेताको हातमा फेरि सत्ताको साँचो सुम्पिन हुन्न भन्ने मान्यतामा हामी अडिग छौं’ उनले भने,‘ स्थानीय तहका चुनावमा कहाँ–कहाँ कमजोरी भए त्यसलाई सच्चाएर संघ र प्रदेशमा गल्ती नदोर्‍याउने गरी गठबन्धनमा जानुपर्छ भन्ने अडान हाम्रो हुनेछ ।’

प्रकाशित : जेष्ठ ८, २०७९ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?