नयाँ जनप्रतिनिधिको नयाँ जोस

डीबी बुढा

जुम्ला — पहिलो कार्यकालका जनप्रतिनिधिको प्राथमिकतामा सडक‚ विद्युत्, पुलपुलेसा र भौतिक संरचना निर्माणजस्ता एजेन्डा परे । हरेक पालिकामा ठूल्ठूला बंगला ठडिएका छन् । बस्तीसम्म सडक जोडिएका छन्  । विद्यालयका संरचना निर्माण भएका छन् ।

नयाँ जनप्रतिनिधिको नयाँ जोस

तर नवनिर्वाचित जनप्रतिनिधिहरूले भने सूचना, सञ्चार,स्वास्थ्य क्षेत्रका विषयमा ध्यान दिन थालेका छन् । जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले नागरिकको स्वास्थ्य बिमा निःशुल्क गर्ने पहिलो निर्णय गरेका छन् । उनी नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा विजयी भएका हुन् ।

‘जबसम्म नागरिक स्वस्थ हुँदैनन्‚ तबसम्म पालिका स्वस्थ हुन सक्दैन । पहिलो प्राथमिकता नागरिक स्वास्थ्य हो,’ नवनिर्वाचित अध्यक्ष शाहीले भने, ‘पालिकाभित्रका नागरिक स्वस्थ भए मात्र सिंगो पालिकाको विकास निर्माण र समृद्धि ल्याउन सकिन्छ । नत्र सम्भव देखिँदैन ।’

उनले सामुदायिक तथा सरकारी विद्यालयमा अंग्रेजी शिक्षा सुरु गर्ने, सबै सरकारी कार्यालयमा फ्री वाइफाई जडान गर्ने, सीसीटीभी जोडेर हरेक कामको निगरानी राख्ने निर्णयमा दस्तखत गरे । जेष्ठ नागरिक, गर्भवती महिला, विपन्न नागरिक, अपांगता भएका व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णयमा समेत अध्यक्ष शाहीले हस्ताक्षर गरेका हुन् ।

सबै पालिकामातहतका सरकारी कार्यालय र विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर शाहीले जानकारी दिए । हिमामा २ हजार एक सय ५८ घरधुरीमा १३ हजार १ सय ३४ जनसंख्या छ ।

सिंजा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालले पदभार ग्रहण गरेको पहिलो दिनमै अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा ल्याए । सिंजाको टेलिफोन सेवाले नियमित सेवा दिन सकेको थिएन । नेपाल टेलिकमको कार्यालय आफै पुगेर टावरमा ब्याट्री जडान गर्न लगाएका थिए ।

बिजुलीको पावर कम भएकाले सञ्चार सुविधा प्रभावकारी हुन सकेको थिएन । अध्यक्ष धिताल दुई सय भोल्टका ४८ वटा ब्याट्र्री र प्राविधिक लिएर धिताल आफैं खटिए । उनले भने, ‘सिंजावासी अब सञ्चार सुविधाबाट वञ्चित हुनु पर्दैन ।’

प्रकाशित : जेष्ठ ८, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?