बढ्दै यौन हिंसाविरुद्ध रोष

बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरीको हदम्याद हटाउन र त्यस्ता मुद्दामा ‘फास्ट ट्रयाक’ अदालत स्थापना गर्न माग
आरोपित मनोज पाण्डे पक्राउ
विद्या राई

काठमाडौँ — आठ वर्षअघि भएको एउटा सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीले आफूमाथि आयोजकबाट गरिएको बलात्कार र यौन शोषणको घटना सार्वजनिक गरेसँगै सामाजिक अभियन्ता, अधिकारकर्मी तथा सरोकारवाला प्रदर्शनमा जुटेका छन् । ‘मिस ग्लोबल इन्टरनेसनल–२०१४’ मा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलो पटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय बुधबार सार्वजनिक भएको थियो ।

बढ्दै यौन हिंसाविरुद्ध रोष

बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत पीडित युवतीले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेसँगै उनको समर्थन गर्दै दोषीलाई कारबाहीको माग गर्नुपर्ने आवाज संगठित हुँदै गएको छ । करिब तीन सय प्रदर्शनकारीले शुक्रबार बिहान ९ बजे ‘अकुपाई बालुवाटार’ को ब्यानरमा बालुवाटारमा करिब एक घण्टा प्रदर्शन गरेका थिए ।

शनिबार बिहान ९ बजेतिर माइतीघरमा केही कवि, अभियन्ता र युवा भेला भए । त्यसपछि कोही ब्यानर लेख्न त कोही प्ले कार्ड बनाउनतिर लागे । एकैछिनमा ‘स्टप रेप’, ‘बलात्कार पीडितलाई न्याय दे’, ‘दोषीलाई सजाय दे’, ‘पितृसत्ताको बन्धन तोडौं †’, ‘बलात्कार र यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाऊ’ जस्ता नारा तयार भयो । माइतीघरमा युवा उपस्थिति बढ्दै गयो । १० बजेपछि हातमा कालोपट्टि बाँधेर ब्यानर र प्लेकार्ड लिँदै युवा प्रदर्शनमा उत्रिए ।

प्रदर्शनकारीले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने, त्यस्ता मुद्दाको निर्णय गर्न ‘फास्ट ट्रयाक’ अदालतको स्थापना गर्नुपर्नेलगायत माग गर्दै आधा घण्टाजति नाराबाजी गरे । त्यसपछि कवि सुष्मिता बानियाँ र हीरादेवी वाइबाले महिला हिंसाविरुद्धको कविता सुनाए । प्रदर्शनमा स्वस्फूर्त सहभागी भएका अभियन्ता सरिताश्री ज्ञवाली र अधिवक्ता भावना गिरीलगायतले मन्तव्य राखे । मुलुकी ऐनमा बलात्कारविरुद्ध उजुरी गर्न एकवर्षे हदम्याद तोकिएको छ । हदम्यादले सिर्जना गरेको अवरोधलाई हटाएर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने प्रदर्शनकारीको माग छ ।

महिला गैरसरकारी संस्था महासंघले पनि शुक्रबार विज्ञप्तिमार्फत बलात्कार पीडितलाई न्याय दिलाउन माग गरेको छ । प्रदर्शनमार्फत दबाब सिर्जना गर्नुका दुई पाटो रहेको अधिवक्ता सुविन मुल्मीले बताए । ‘पीडितलाई हामी पनि तपाईसँगै छौं है भन्न र बलात्कारसम्बन्धी प्रचलित कानुन संशोधन गरेर हदम्याद हटाउनका लागि हो,’ उनले भने, ‘अर्को, पीडकलाई पक्राउ गर्न सकिने आधारअनुसार प्रहरीलाई मुद्दाको प्रक्रिया अघि बढाउन दबाब दिन पनि हो ।’

युवतीमाथिको घटना बाहिरिएपछि शुक्रबार संसद्मा समेत बहस भएको थियो । सभामुख अग्नि सापकोटाले घटना छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरा ल्याउन सरकारलाई निर्देशन दिएका थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयले शुक्रबारै प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वमा घटना छानबिन गर्न समितिसमेत गठन गरिसकेको छ । उक्त समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का छन् । समितिले शुक्रबारै अनुसन्धान सुरु गरेको छ ।

यसैबीच सौन्दर्य प्रतियोगिताकी एक प्रतिस्पर्धीमाथि बलात्कार र यौनशोषणको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई पक्राउ गरेको हो । अहिले २४ वर्षकी ती युवती बलात्कार र यौन शोषण हुँदा १६ वर्षकी थिइन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?