कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ओली र सिटौलालाई चुनौती बन्दै राप्रपा

अर्जुन राजवंशी

बिर्तामोड — गृहजिल्ला भएकाले एमाले अध्यक्ष केपी ओली प्रायः झापा आइरहन्छन् । दमक, बिर्तामोड, भद्रपुर, मेचीनगर, गौरादह, गौरीगन्जलगायत स्थानका सभामा उनी सहभागी भइरहन्छन् । तर, यसपालि एउटा सभा अलि फरक ठाउँमा गरियो । वैशाख २० मा एमालेले पहिलो पटक ओलीको उपस्थितिमा जिल्लाको देहाती गाउँ गोलधाप बजारमा चुनावी सभा आयोजना गर्‍यो ।

ओली र सिटौलालाई चुनौती बन्दै राप्रपा

गोलधापमा सभा आयोजना गर्नुको एउटै ध्येय थियो, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । ओलीले सोहीबमोजिम भाषण पनि गरे । लिङ्देन विकासप्रेमी नेता नभएको भन्दै गोलधापवासीलाई ओलीले दुई–चार उदाहरण नै सुनाए । हल्दिबारी गाउँपालिका–१ मा पर्ने गोलधाप बजारदेखि करिब तीन सय मिटर दक्षिणमा लिङ्देनको घर छ । जिल्लाका १५ स्थानीय तहमध्ये विशेष प्राथमिकतामा राखेर ओली गोलधाप पुगे पनि एमालेले हल्दिबारीमा जित्न सकेन । अघिल्लो चुनावमा उपाध्यक्षसहित बहुमत जितेको एमाले यसपल्ट एउटा वडामा खुम्चियो । राप्रपाले हल्दिबारीमा अध्यक्ष–उपाध्यक्षसहित बहुमत जित्यो ।

गोलधापबाट काठमाडौं फर्किएको साता नबित्दै ओली पुनः झापा आए । वैशाख २७ मा दमकको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दमकमा राम थापा नेतृत्वको गठबन्धनलाई ‘स्यालले हात्तीको खुट्टा चिथोर्नुजस्तो मात्र’ भएको टिप्पणी गरेका थिए । तर, यतिबेला ओलीको उक्त टिप्पणी उनैलाई भारी भएको छ । तीन दशकपछि एमालेले दमकको नेतृत्व गुमाएको छ । दमकको नगरप्रमुखमा राप्रपाका थापा निर्वाचित भएका छन् । राप्रपाले हल्दिबारी र दमकमा मात्र ‘धाबा’ बोलेन, भद्रपुर नगरपालिकामा पनि उपप्रमुख जितेको छ । एमालेले अघिल्लोपल्ट भद्रपुरमा प्रमुख–उपप्रमुखसहित बहुमत जितेको थियो । योपल्ट एमाले पाँचवटा वडामा खुम्चिएको छ ।

चुनावी नतिजाले जिल्लामा राप्रपा तीव्र बेगमा दौडिएको देखिन्छ । शनिबार साँझसम्म राप्रपाले दुई प्रमुख, दुई उपप्रमुख र सातवटा वडा जितेको छ । राप्रपाको दौडले सबैभन्दा बढी एमाले अध्यक्ष ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको टाउको दुखाएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा ३ मा एमालेभन्दा राप्रपा बढी हाबी भएपछि सिटौलाले यसपल्ट राम्रै मिहिनेत गर्नुपर्‍यो । चारवटा पालिका रहेको उक्त क्षेत्रमा सिटौला गृहपालिका भद्रपुर र कचनकबल गाउँपालिकामा बढी केन्द्रित भए । भद्रपुरको वडा–वडामा उनी आफैं लागेर चुनावी माहोल बनाए । माओवादीसँग गठबन्धन गरेर चुनाव लडे । गठबन्धनको बलमा कांग्रेसले भद्रपुरमा बहुमत ल्यायो तर एक्लै चुनाव लडेको राप्रपाले भद्रपुरमा उपप्रमुख र दुइटा वडा जित्यो ।

‘भद्रपुरमा राप्रपाको जितलाई सामान्य मान्न सकिँदैन,’ वरिष्ठ अधिवक्ता लीला उदासी भन्छन्, ‘दमकमा गठबन्धनको सहयोगमा राप्रपाले मेयर जित्यो, ठिकै छ । हल्दिबारीमा पनि सबै पार्टी एक्लाएक्लै लडेका थिए, त्यसमा राप्रपाले बाजी मार्‍यो तर भद्रपुरमा कांग्रेस–माओवादीको गठबन्धन र एमालेलाई नै पछि पार्दै राप्रपा एक्लैले उपप्रमुख जित्नु गम्भीर विश्लेषण गर्नुपर्ने कुरा हो ।’ झापामा राप्रपा कांग्रेस–एमालेको प्रमुख चुनौतीका रूपमा अघि बढेको उदासीको विश्लेषण छ । ‘मुलुकका प्रमुख दुई पार्टी एमाले र कांग्रेस योपल्ट कचनकवलमा राप्रपालाई हराउन गठबन्धन गर्न बाध्य बने,’ उनले भने, ‘यो अवस्थाले झापामा राप्रपाको प्रगति राम्रो मात्र होइन, धेरै राम्रो देखाउँछ ।’ राप्रपाको गतिविधि जिल्लाका दुइटा क्षेत्रमा बढी देखिन्छ । निर्वाचन क्षेत्र ३ र ५ नम्बरमा । ३ नम्बर सिटौलाको तथा ५ नम्बर ओलीको निर्वाचन क्षेत्र हो ।

क्षेत्र ३ मा राप्रपा अध्यक्ष लिङ्देन आफैं भिडेका छन् । सिटौलाविरुद्ध खुल्ला प्रतिस्पर्धामा उत्रिएका उनले यस क्षेत्रभित्रका चारवटा पालिकामा पार्टी संगठन आक्रामक बनाएका छन् । यही क्षेत्रको भद्रपुर नगरपालिका, कचनकवल र बाह्रदशी गाउँपालिकामा हिमानी ट्रस्टले पनि गतिविधि तीव्र बनाएको छ । यी पालिकाका गरिब, विपन्न, असहायलगायत परिवारलाई ट्रस्टले तीन वर्षदेखि पोषण, न्यानो कपडा वितरणलगायत कार्यक्रम गर्दै आएको छ । सहयोग गर्न भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह पनि कहिलेकाहीँ परिवारसहित भद्रपुर आउने गरेका छन् । राप्रपाले दमकमा राम थापाको नेतृत्वमा सांगठनिक गतिविधि गर्दै आएको छ । दमकस्थित हिमालय महालक्ष्मी चिया बगानभित्रको ‘मिनी दरबार’ दमकमा राप्रपाको गतिविधि बढाउन अदृश्य शक्ति बनेको छ । मिनी दरबरमा पूर्वराजाको बाक्लो बसाइले झापामा राप्रपाका नेतामा मात्र होइन, मतदातामा पनि मनोवैज्ञानिक असर देख्न सकिन्छ । यसको परिणाम ०७४ मा सिटौलालाई पराजित गर्दै लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । क्षेत्र नं. ५ मा आफ्नो जित सुनिश्चित गर्न ओलीले राप्रपासँग चुनावी तालमेल गर्नुपरेको थियो ।


प्रकाशित : जेष्ठ ७, २०७९ २३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?