३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मगन्ता समुदायकी एक्ली प्रतिनिधि

रूपा गहतराज

नेपालगन्ज — जवन्ती महाउत बाँकेको डुडुवा गाउँपालिका–६ बाट महिला सदस्यमा निर्वाचित भएकी छन् । ५६ वर्षीया उनी अति विपन्न र अल्पसंख्यक मगन्ता समुदायबाट विजयी एक्ली जनप्रतिनिधि बनेकी छन् । बाँकेमा यो समुदायबाट कोही उम्मेदवार बनेका थिएनन् । ‘कहिल्यै पनि कसैले हेरेनन् । अवसर पनि दिएनन्,’ उनले भनिन्, ‘पहिलो पटक उम्मेदवार बन्न पाएँ । जनताले जिताए ।’

मगन्ता समुदायकी एक्ली प्रतिनिधि

नेकपा एमालेबाट महिला सदस्यमा उम्मेदवार बनेकी उनले आफ्नो जित समुदायको हितका निम्ति भएको बताइन् । यो समुदायका अधिकांश ज्याला मजदुरी गरेर जीविका चलाउँछन् । उनको गाउँमा फुसका छानाका मात्रै १ सय १२ घर छन् । जहाँ बर्खामा पानी जमेर बाटो हिलाम्य हुन्छ । मान्छे र चौपाया सँगै बसेजस्तो देखिन्छ । स्कुल टेक्न नपाए पनि उनले समाजको सुखदुःख राम्ररी बुझेकी छन् । ‘मेरो समुदायमा धेरै समस्या छन् । समुदायको उत्थान र परिवर्तनका लागि मैले धेरै गर्नु छ,’ उनले भनिन्, ‘म आफू नामका लागि, पैसाका लागि राजनीतिमा आएकी होइन । मेरो समुदायको परिवर्तनका लागि आएकी हुँ ।’

दुई छोरी र तीन छोराकी आमा जवन्तीले आफूले पढ्न नपाए पनि छोराछोरीलाई पढाएकी छन् । आफ्नो समुदाय शिक्षाको पहुँचबाट टाढा भएकाले छोराछोरीलाई पढाएको उनले बताइन् । आफ्नो समुदायबाट पहिलो पटक स्थानीय सरकारमा पुगेकी जवन्तीले राखेको जस्तै रेकर्ड उनका छोराले पनि राखेका छन् । सशस्त्र प्रहरी बलमा भर्ती भएका उनका जेठा छोरा यो समुदायबाट सरकारी जागिर खाने पहिलो व्यक्ति भएको उनले बताइन् ।

मागेर खाने परम्परागत पेसाका कारण आफूहरू सबैको हेपाइ र दबाइमा रहेको उनको अनुभव छ । हेप्ने भएकै कारण धेरैले माग्ने काम छाडेको उनले बताइन् । बाँकेका मगन्ता अर्थात् महाउत समुदायमा १ सय १५ घरपरिवार छन् । ‘धेरै नेताले विकास गर्छौं भनेर भोट मागे, जिते पनि तर काम गरेनन्,’ स्थानीय आज्ञाराम महाउतले भने, ‘जहिले पनि हामीलाई प्रयोग मात्रै गरे । समुदायका लागि कसैले केही गरेनन् ।’ वडाको विकाससँगै महाउत समुदायका लागि काम गर्ने जिम्मेवारी अब जवन्तीको काँधमा आएको स्थानीय मूलचन्द्र महाउतले बताए ।

नेपालगन्ज उपमहानरपालिका–१४ र डुडुवा–६ मा पर्ने मगन्तपूर्वाका मगन्ता जातिका धेरै परिवार वर्षौंदेखि गरिबीको चपेटामा छन् । राज्यबाट उचित सम्मान गरेर गुजारा चलाउनुपर्ने पनि बाध्यता छ । ‘विपन्नले पेट पाल्न जे पनि गर्नुपर्छ,’ आशाराम महाउतले भने, ‘नयाँ पिँढीमा निकै परिवर्तन छ । त्यो परिवर्तनलाई सबैले आत्मसात् गर्नुपर्ने अवस्था राज्यले सिर्जना गरिदिनुपर्छ ।’

प्रकाशित : जेष्ठ ७, २०७९ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?