१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

युवा जनप्रतिनिधि भन्छन्– ‘नमुना पालिका बनाउँछौं’

गुल्मी,कपिलवस्तु — स्थानीय तह निर्वाचनअगाडि गुल्मीको रुरु गाउँपालिकालाई एमालेको गढ मानिन्थ्यो । यो पालिकामा फरक दललाई चुनाव जित्न सकस हुँदै आएकाले यसपटक पनि एमालेले जित्ने अनुमान थियो । तर एमाले उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रबाट ३१ वर्षीय यदु ज्ञवाली अध्यक्षमा निर्वाचित भएका छन् ।

युवा जनप्रतिनिधि भन्छन्– ‘नमुना पालिका बनाउँछौं’

उनले ५ हजार ८ सय १७ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी हिमाल श्रेष्ठले ४ हजार ५ सय ४० मत पाए । ज्ञवाली सत्ता गठबन्धनबाट पालिकामा उम्मेदवार बनेका थिए । एमालेको विरासत भत्काएपछि अहिले युवा पालिका अध्यक्षको चर्चा भइरहेको छ । रुरु एमाले नेताहरू प्रदीप ज्ञवाली, प्रदेश सांसद कमल श्रेष्ठको गृह पालिका हो ।

रुरु–४ मा ०४७ सालमा जन्मिएका ज्ञवालीले विद्यालय अध्ययनकै क्रममा राजनीतिमा होमिएको बताए । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका उनले गाउँपालिकालाई मुलुककै नमुना पालिकाको रूपमा विकास गर्ने लक्ष्य रहेको प्रतिक्रिया दिए । आफ्नो कार्यकालमा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने उनको योजना छ । भौतिक पूर्वाधार निर्माण गरेर मात्रै नहुने र त्यसको उपयोगका लागि स्थानीयलाई गाउँमै बस्ने वातावरण बनाउनुपर्ने उनले सुनाए । ‘पूर्वाधारमा हाम्रो लगानी छ तर पूर्वाधार बन्दै गर्दा प्रयोग गर्ने मान्छे नहुने भए,’ उनले भने, ‘पूर्वाधार प्रयोग गर्न सक्ने मान्छे सहरतिर गए । लिफ्टिङ गरेर पानी त दिने तर किन्न नसक्ने भएपछि कसरी खाने ?’ कृषिमार्फत कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्नेतर्फ काम गर्ने उनले बताए ।

कृषिले रोजगारीलाई जोड्न सक्ने उनको बुझाइ छ । नागरिकको सरोकारको विषय भनेको शिक्षा र स्वास्थ्य भएकाले ती विषयलाई पनि प्रभावकारी बनाउन जोड दिने उनले बताए । गाउँमा भरपर्दो उपचार र गुणस्तरीय शिक्षा नहुँदा स्थानीय गाउँ छाड्न बाध्य भएको ज्ञवालीको तर्क छ । उनी माओवादी केन्द्र ग्ल्मुीको जिल्ला सचिवालय सदस्य तथा रुरुक्षेत्र गाउँपालिका कमिटीको अध्यक्ष हुन् ।

कपिलवस्तुको शिवराज नगरपालिकामा युवा प्रमुख/उपप्रमुख चुनिएका छन् । कांग्रेसबाट टिकट नपाएपछि शिवराज–३, खरेन्द्रपुरका ३३ वर्षीय अजय थापा उम्मेदवारी दर्ता गर्ने बेलामा राप्रपा प्रवेश गरेका थिए । पार्टीबाट विद्रोह गरेर दल बदलेका उनी शुक्रबार शिवराजको नगर प्रमुखमा विजयी भएका छन् । सुरुदेखि उनी युवाबीच लोकप्रिय थिए । यसपटक निर्वाचनमा युवाको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेको उनले बताए । ‘परम्परागत विचार र सोच भएकाबाट नयाँ र राम्रा योजना बन्न सकेनन्,’ उनले भने, ‘त्यसलाई चिर्न म निर्वाचित भएको हुँ ।’

उनले विपन्नलाई परिवर्तनको अनूभूति हुने गरी काम गर्ने योजना बनाएको बताए । ‘बेरोजगार युवा लक्षित योजना बनाउँछु,’ उनले भने, ‘कार्यान्वयन गरेर आयआर्जन र रोजगारीको अवसर सिर्जना गर्छु ।’ नगरपालिकाभित्रका खोलानालाबाट निकासी हुने नदीजन्य पदार्थको ठेक्कामा युवाले सेयर लगानी गर्ने वातावरण बनाउने उनले बताए । ‘त्यसबाट उनीहरू विदेशिनु पर्दैन,’ उनले भने, ‘घरमै बसेर आयआर्जन हुन्छ । साँझ बिहानको चुलोचौको मज्जाले चल्छ ।’ दोहन नगरीकनै युवाको सहभागिता हुँदा दुईदेखि तीन हजार युवाले रोजगारी पाउने उनले बताए । त्यस्तै कक्षा १२ सम्म सबैलाई निःशुल्क पढाउने र औद्योगिक क्षेत्रका रूपमा रहेको शिवराजमा उद्योगमैत्री वातावरण बनाएर रोजगारीको अवसर सिर्जना गर्ने उनले बताए । ‘उद्योग खोल्न प्रोत्साहित गर्छु,’ उनले भने, ‘नगरपालिकाबाट त्यहीअनुसार नीति बनाउन मेरो जोड हुनेछ ।’

०७४ मा नेकपा एमालेबाट उम्मेदवार भई मुलुककी कान्छी उपप्रमुख बनेकी शिवकुमारी चौधरी अहिले पुनः निर्वाचित भएकी छन् । दोस्रो पटक पनि शिवराजको नगर उपप्रमुखमा विजयी भएकी २८ वर्षीया उनले पाँच वर्षमा धेरै काम गर्न सिकेको बताइन् । अब महिलाले पनि गर्न सक्छन् भनेर देखाउने बेला आएको उनले बताइन् । ‘म अझै काम गर्न उत्तिकै उत्साही छु । जति निर्वाचन लड्दा, चुनाव जित्दा र पहिलो पटक नगरपालिका प्रवेश गर्दा थिएँ, अहिले पनि त्यसभन्दा कम उत्साह छैन,’ उनले भनिन्, ‘त्यसैले अब मैले श्रमिक महिलाको जीवनस्तर उठाउने योजना बनाएकी छु । दैनिक ज्याला मजदुरी गरी चुलोचौको गर्नेका लागि सीपमूलक तालिम सञ्चालन गर्छु । उनीहरूको मागअनुसार तालिम र रोजगारी सिर्जना गर्छु ।’ व्यवसायका लागि बीउ पुँजी पनि प्रबन्ध गर्ने योजना बनाएको उनले बताइन् । नगरपालिकाले बनाएको १० वर्षे बालविवाहविरुद्धको रणनीति कार्यान्वयन गरेर बालविवाह न्यूनीकरण गर्छु । ‘कक्षा १२ सम्म निःशुल्क शिक्षा भनिए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन,’ उनले भनिन्, ‘यसलाई प्रभावकारी बनाएर सबैमा शिक्षाको पहुँच बढाउँछु ।’ न्यायिक समितिलाई प्रभावकारी बनाएर महिला हिंसा न्यूनीकरण गर्ने उनले सुनाइन् ।

राजनीतिमा युवाहरूको आकर्षण घटिरहेको समयमा गुल्मीका तीनवटा गाउँपालिकाको उपाध्यक्षमा ३५ वर्षमुनिका युवा महिला निर्वाचित भएका छन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा ३० वर्षको उमेरमै मदाने गाउँपालिकामा उपाध्यक्षको रूपमा निर्वाचित सरिता खड्का पुनः सोही पदमा निर्वाचित भएकी छन् । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार बेगमबहादुर चन्द बोहरालाई खड्काले ३ सय ५६ मतान्तरमा पराजित गरेकी हुन् । उनले ४ हजार ५ सय ६७ मत प्राप्त गरिन् भने चन्दले ४ हजार २ सय ११ मत प्राप्त गरेका थिए । मदाने गाउँपालिका–४ को मलायगिरीमा ०४३ सालमा जन्मिएकी खड्काले आफ्नो अघिल्लो कार्यकालमा अधुरा रहेका कामलाई अब पूरा गर्ने बताइन् ।

युवा अवस्थामै सबैको मन जितेर उपाध्यक्ष बन्न सफल भएकी छन्, पार्वती कुँवर । २६ वर्षको उमेरमै जिल्लाको इस्मा गाउँपालिकाको उपाध्यक्ष पदमा ५ हजार ९ सय ९ मत प्राप्त गरी कुँवर निर्वाचित भइन् । पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार रहेकी कुँवरले नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार रहेकी इस्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीलाई ७ सय ८८ मतान्तरले पराजित गरेकी हुन् । खत्रीले ५ हजार १ सय २१ मत प्राप्त गरेकी थिइन् । उनले इस्मा गाउँपालिकालाई न्यायिक निरूपणमा नमुना गाउँपालिकाका रूपमा चिनाउने बताइन् । ‘तीव्र विकास, शीघ्र सेवा’ को मूल मर्मलाई मध्यनजर गर्दै गाउँपालिकामा सुशासन कायम गरी काम गर्ने उनले बताइन् । अधिवक्तासमेत रहेकी उनी कानुनमा स्नातक तथा व्यवस्थापन संकायमा स्नातकोत्तर हुन् । इस्मा गाउँपालिका–२ निवासी कांग्रेस इस्माकी उपसभापतिसमेत रहेकी कुँवर गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट सर्वाधिक मत पाएर महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा निर्वाचित भएकी थिइन् ।

०६८ सालदेखि रेसुंगा बहुमुखी क्याम्पसको छात्रा संघको सचिवबाट राजनीतिमा प्रवेश गरेकी उनी क्याम्पस इकाइ सदस्य, नेपाल विद्यार्थी संघ गुल्मीको जिल्ला सदस्य, जिल्ला सचिव, नेपाली कांग्रेसको १३ औं अधिवेशनमा क्षेत्रीय प्रतिनिधि, नेपाल महिला संघ गुल्मीको क्षेत्रीय कोषाध्यक्ष हुँदै राजनीतिमा होमिएकी हुन् । त्यसैगरी दोब्बर मतको अन्तरमा प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाध्यक्षमा निर्वाचित हुन सफल भएकी अर्की युवा महिला हुन्, सीता गिरी । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धनमा नेकपा एमालेका तर्फबाट उपाध्यक्षमा उम्मेदवार बनेकी २९ वर्षीया गिरीले ६ हजार १ मत प्राप्त गरी विजयी भइन् । नेपाली कांग्रेस र एकीकृत समाजवादीका तर्फबाट साझा उम्मेदवार बनेका चन्दबहादुर सुनारले ३ हजार ४ सय ८८ मत मात्रै प्राप्त गरे । नेकपा एमालेकी जिल्ला कमिटी सदस्यसमेत रहेकी गिरी यसभन्दा अगाडि बालविकास शिक्षकका रूपमा कार्यरत थिइन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?