स्थानीय तहको नेतृत्व सम्हाल्दै युवा

युवा जनप्रतिनिधिको उपस्थितिले नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षित मात्रै गरिरहेको छैन, मूलधारका दलको नेतृत्वमा रहेका नेताहरुलाई पनि नयाँ ढंगले सोच्न दबाब दिएको छ
प्रदेश ब्युरो

काठमाडौँ — स्थानीय तह निर्वाचनमा ३० वर्ष उमेर समूहका १६ हजार ३ सय ७२ उम्मेदवार प्रतिस्पर्धामा थिए । ३१ देखि ४० वर्ष उमेर समूहका उम्मेदवारको संख्या भने ४३ हजार ४ सय ४२ थियो । यति धेरै युवा उम्मेदवारमध्ये स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा भने दर्जन युवामात्रै पुगेका छन् । संख्यामा थोरै भए पनि युवा उपस्थितिले नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षित मात्रै गरिरहेको छैन, राजनीतिक दलका नेतालाई नयाँ ढंगले सोच्न बाध्य बनाएको छ ।

स्थानीय तहको नेतृत्व सम्हाल्दै युवा

सर्लाहीमा माओवादीबाट २२ वर्षीय राजाबाबु यादव गाउँपालिका अध्यक्ष निर्वाचित भए । उनले कांग्रेसका हरिनन्दनप्रसाद यादवलाई पराजित गरे । काठमाडौंमा बीबीएस पढिरहेका उनलाई पूर्वसांसद बाबु शिवपुजन रायले उम्मेदवार उठाएका थिए । पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा भने २१ वर्षीय वशिष्टकुमार गुप्ता जनता समाजवादी पार्टीबाट निर्वाचित भएका छन् । त्यस्तै, गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा माओवादीका ३२ वर्षीय यदु ज्ञवाली निर्वाचित भएका छन् । यी र यस्तै कैयन् तन्नेरी जनप्रतिनिधिले स्थानीय क्षेत्रमा युवाको उपस्थिति मात्रै बढाएको छैन, युवाको हातमा नेतृत्व हस्तान्तरणमा पनि सहयोग पुगेको छ ।

नवलपरासी बुलिङटार गाउँपालिकामा अध्यक्ष पदमा विजयी भएका २८ वर्षीय दीपेन्द्र सुनारी युवा जनप्रतिनिधिका एक उदाहरण हुन् । सिभिल इन्जिनियरमा स्नातक गरेका सुनारीले २०४६ सालदेखि कांग्रेसको गढ रहँदै आएको बुलिङटारमा पहिलोपटक एमालेको खाता खोले । सुनारीले भने, ‘मेरालागि महत्त्वपूर्ण अवसर आएको छ । जनमतको कदर गर्नेछु ।’

बागलुङको ढोरपाटन नगरपालिका उपप्रमुखमा ३० वर्षका धनबहादुर कायत निर्वाचित भए । उनी कांग्रेसको ढोरपाटन नगर सभापति हुन् । स्थानीय द्रोण कुँवरले धनबहादुरको जितले युवालाई खुसी बनाएको बताए । कायतले नगरपालिकामा सुशासन कायम गर्ने, नगर परिषद्मा ल्याउने बजेट जनमुखी बनाउने, दलित, जनजाति, महिला तथा अपांगलाई योजनामा जोड्ने लक्ष्य सुनाए । बागलुङकै तमानखोला गाउँपालिकाको अध्यक्षमा ३५ वर्षीय जोकलाल बुढा दोस्रोपटक निर्वाचित भएका छन् । यसअघि ३० वर्षकै उमेरमा गाउँपालिका अध्यक्ष भएका बेला उनले आलोकाँचो भन्ने टिप्पणी खुबै सुने तर पाँचवर्षे कार्यकालमा जनताको मन जितेपछि उनी दोस्रो कार्यकालका निम्ति सजिलै निर्वाचित भए । कांग्रेस क्षेत्र २ का सभापतिसमेत रहेका बुढाले सदरमुकामदेखि १ सय २० किमि पश्चिमको आफ्नो गाउँलाई नमुना बनाउन खोज्दै छन् । पहिलो कार्यकालमा उनले गाउँलाई सडक सन्जालसँग जोडे । वडा तहसम्म स्तरीय सडक बनाए र गाउँपालिकाभित्रै ३ वटा पक्की पुल बनाए । तमानका हरेक स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर बनाए । जसबाट स्थानीय तहमै सुरक्षित सुत्केरी सेवा सहज भएको छ । तमानखोला–५ की त्रिसना श्रीपालीले भनिन्, ‘पहिलाभन्दा धेरै सुधार भएको छ ।’

तनहुँको आँबुखैरेनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शुक्र चुमानले जिल्लाकै कान्छो अध्यक्षको पगरी पाए । माओवादीबाट विजयी उनले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, सडक तथा पूर्वाधार, कृषि, खेलकुदलगायत क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका थिए । उनले भने, ‘गाउँपालिकाबाट सेवा लिने सहज वातावरण सिर्जना गर्नेछु ।’ यसपटकको स्थानीय तह निर्वाचनमा पर्वतमा दुई पालिकाको नेतृत्वमा ३० वर्षीय युवा चुनिए । पैयुँ गाउँपालिका अध्यक्षमा राज मल्ल ठकुरी र मोदी गाउँपालिकाको उपाध्यक्षमा ३० वर्षीय विमल लामिछाने विजयी भए । युवा जोस र जाँगरका साथ काम गर्ने अठोट लिएर मतदातामाझ पुगेका कारण आफूले मतदाताको विश्वास जितेको ठकुरीले बताए । एमाले जिल्ला उपसचिव लामिछाने ०७४ मा मोदी–६ को वडाध्यक्ष निर्वाचित भएका थिए । वडामा काम गरेको अनुभव सँगालेर चुनावी मैदानमा आएका उनले आफ्नो जितलाई वडामा गरेको कामको मूल्यांकनका रूपमा बुझेका छन् ।

लामिछानेकै जस्तो पृष्ठभूमि छ, इलामको रोङ गाउँपालिका अध्यक्षमा विजयी ३५ वर्षे मनीकुमार स्याङ्बो (सुवास) को पनि । ‘सुवासजी आफ्नो राजनीतिक भिजनका कारण विजयी बन्नुभएको हो,’ स्थानीय कुमार मोक्तानले भने, ‘उहाँ सबैलाई समेटेर जाऊँ भन्ने भावनाका लोकप्रिय नेता पनि हुनुहुन्छ ।’ वडाध्यक्ष हुँदा उनले धेरै महत्त्वपूर्ण विकासका काम अघि बढाएको स्थानीयको भनाइ छ । उनले आफ्नो वडामा बाटोघाटोदेखि पानी, बत्तीको व्यवस्थासमेत मिलाएका थिए ।

म्याग्दीको ६ स्थानीय तहमध्ये बेनी नगरपालिकाको उपप्रमुखमा माओवादीकी ३२ वर्षीया ज्योति लामिछाने विजयी भइन् । गण्डकी प्रदेश कमिटी सदस्य तथा अनेमसंघ (क्रान्तिकारी) को जिल्ला अध्यक्ष रहेकी लामिछाने जितको उल्लास सकिन नपाउँदै जनताको समस्या सुन्ने र सूचीकृत गर्ने काममा लागिसकेकी छन् । उनले भनिन्, ‘महिलालाई राजनीतिक सशक्तीकरण र आर्थिक अवसरमा जोड्न मेरो प्रयत्न रहन्छ ।’ कतिपयले लामिछानेलाई माओवादी केन्द्रका जिल्ला इन्चार्ज गोविन्द पौडेलकी बुहारी भएकै कारण बेनी नगरपालिकाको उपप्रमुख हुने अवसर मिलेको भनेर आलोचना गर्छन् । उनले भनिन्, ‘म विद्यार्थीकालदेखि नै राजनीतिमा थिएँ, त्यही अनुभव र क्षमतालाई जनताले पत्याए ।’

रामेछापको गोकुलगंगा गाउँपालिका अध्यक्षमा ३५ वर्षीय काजीबहादुर खड्का (दिनेश) निर्वाचित भए । कम्युनिस्टहरूले झन्डै ३२ वर्ष राज गरेको क्षेत्रमा काजी यसपालि कांग्रेसको तर्फबाट विजयी भएका हुन् । विद्यार्थीकालमा नेपाल विद्यार्थी संघ बानेश्वर क्याम्पसको उपाध्यक्ष चुनिएका उनले त्यतिबेलादेखि नै सक्रिय राजनीति अघि बढाएका थिए । ‘स्वास्थ्य शिक्षा र रोजगारीका साथै युवालाई व्यवसायमा जोडेर रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने चाहना छ,’ उनले भने ।

बैतडीको दुर्गम मानिने डिलासैनी गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका ३५ वर्षीय सन्तोषप्रकाश जोशीको जितसँगै चर्चाको केन्द्रमा छ । ०६३ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय सन्तोष पछिल्लोपटक भने उनी राष्ट्रिय युवा संघका सचिव एवं सुदूरपश्चिम अध्यक्ष थिए । पार्टीले टिकट नदिए पनि उनले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराए । स्वतन्त्र रूपमा चुनावी मैदानमा जाँदा पनि डिलासैनीवासीको विश्वास र माया नडगमगाएको उनले बताए । कर्णाली प्रदेशले ३५ वर्षमुनिका ६ तन्नेरीलाई स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा पायो । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा माओवादीका ३२ वर्षीय रवि केसी निर्वाचित भए । केसीले विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका हुन् । ‘उमेरमा सानो भएर के भो त, म राजनीतिक पृष्ठभूमिले परिपक्व छु,’ पार्टीको नगर अध्यक्षसमेत रहेका उनले भने, ‘मसँग भिजन, मिसन र केही गर्ने दृढता छ ।’ रुकुम पश्चिमको झन्डै ४६ प्रतिशत भूभाग ओगटेको यो नगरपालिकाका धेरै ठाउँमा सडक पुगेको छैन, गरिबी पनि उस्तै छ । केसीले कृषि र पशुपालनमा जोड दिएर सबैलाई आत्मनिर्भर बनाउने योजना आफूसँग रहेको बताए । रुकुम पश्चिमकै बाँफिकोट गाउँपालिकाले यसपालि ३४ वर्षीया तारा बुढा केसीलाई उपाध्यक्षको रूपमा पायो । माओवादी केन्द्रकी उनले जनभावना सांस्कृतिक परिवारबाट कलाकारिता यात्रा सुरु गरेकी थिइन् । उनले भनिन्, ‘जनताको मागअनुसार विकास गर्ने र समस्यामा परेकालाई न्याय दिने योजना छ ।’

दैलेखको आठबीस नगरपालिकामा ३० वर्षीया कल्पना थापाले एमालेबाट उपप्रमुख जितेकी छन् । ‘अब हाम्रो पालो हो, यो कार्यकाल मतदातालाई हामी निराश बनाउने छैनौं,’ उनले भनिन्, ‘सुशासनको प्रत्याभूति दिन सके पनि जनताको अधिकांश आवश्यकता पूरा हुने विश्वास छ ।’ जुम्लाको गुठीचौर–५ का ३३ वर्षीय दानबहादुर बुढा पनि कांग्रेसबाट गाउँपालिका अध्यक्ष बने । ‘कलिलो उमेरमा काम गर्ने ठूलो अवसर मिलेको छ,’ उनले भने, ‘जसरी पनि यो अवसरलाई सदुपयोग गर्छु, जनताका न्यूनतम आवश्यकता पूरा गर्ने मेरो प्रयास रहिरहनेछ ।’

जाजरकोटको शिवालय गाउँपालिका उपाध्यक्षमा २४ वर्षीया गीता शाही निर्वाचित भएकी छन् । उनी अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य हुन् । मुगुको छायानाथ रारा नगरपालिकामा कांग्रेसका ३२ वर्षीय विष्णुकुमार भाम नगरप्रमुख र ३१ वर्षीया ऐश्वर्य मल्ल उपप्रमुख निर्वाचित भए । भामबाडाका भाम र श्रीनगरकी मल्ल दुवैले विद्यार्थीकालबाटै राजनीति सुरु गरेका हुन् । भाम यसअघि वडा ४ को वडाध्यक्ष थिए । ‘ममाथि जनताले ठूलो विश्वास गर्नुभएको छ,’ उनले भने, ‘त्यो विश्वास मर्न नदिने गरी काम गर्नेछु ।’

स्थानीय तह निर्वाचनमा यसपल्ट निर्वाचित हुने कर्णालीका अधिकांश वडा तहका जनप्रतिनिधि युवा छन् तर झन्डै ३० प्रतिशतमात्रै पालिकाको नेतृत्वमा पुग्न सफल भएका छन् । ‘अहिलेको निर्वाचनले युवालाई राजनीतिमा आकर्षित मात्र गरेको छैन, जनतामा युवाप्रति विश्वास पनि बढाएको छ,’ अधिवक्ता दुर्गाप्रसाद सापकोटा भन्छन्, ‘अब जितेका युवाले केही गरेर जिताउने बेला भएको छ ।’

तन्नेरीहरूका सपना

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित सरु लामा तामाङले सडक कालोपत्रे, खानेपानी, धारा, गुणस्तरीय शिक्षाका एजेन्डा लिएकी छन् । ‘परिवर्तन र समृद्धिमा हामी पुरुषजत्तिकै सक्रिय हन्छौं भन्ने सोचेर राजनीतिमा होमिएँ । सबैको साथले गर्दा नै यहाँसम्म आइपुगें,’ २७ वर्षीया उनले भनिन् ।

भोटेकोसी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित २९ वर्षीया दिछेन शेर्पा भने ‘समृद्ध भोटेकोसी’ को खाका कोर्दैछिन् । शिक्षण पेसा हुँदै समाज सेवा र राजनीतिमा होमिएकी उनले स्नातकसम्म अध्ययन गरेकी छन् । इन्द्रावती गाउँपालिका उपाध्यक्ष शोभाना तामाङका सपना पनि धेरै छन् । मठमन्दिर, पाटीपौवाको संरक्षण, सडक कालोपत्रे, सिँचाइजस्ता अनेक उद्देश्य उनले बोकेकी छन् । उनले भनिन्, ‘गाउँपालिकालाई समृद्ध बनाऔं भनेर अनेक संघर्षबाट यहाँ आइपुगिएको हो, समुदायबीच यसरी उठ्न धेरै सकस झेल्नुपर्‍यो तर उपाध्यक्षसम्म आइपुग्दा खुसी लागेको छ ।’

धादिङको खनियाबास गाउँपालिका उपाध्यक्षमा विजयी ३५ वर्षीय सेकेमान तामाङ, रसुवाको गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष २८ वर्षीया प्रतिमा तामाङ, कालिका गाउँपालिका उपाध्यक्षमा विजयी ३२ वर्षीया मीरा तामाङको सपना पनि गाउँलाई समृद्ध बनाउने छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित खमला थापामगर पहिलेका पदाधिकारीले थालेका राम्रा कामलाई निरन्तरता दिने र पारदर्शिता अपनाउने बताउँछिन् ।

नारायण शर्मा (पूर्वी नवलपरासी), प्रकाश बराल (बागलुङ), सम्झना रसाइली (तनहुँ), घनश्याम खड्का (म्याग्दी), पर्वत पोर्तेल (झापा) तृप्ति शाही (बैतडी), कृष्ण गौतम (सुर्खेत)अनिश तिवारी (सिन्धुपाल्चोक), सरिता श्रेष्ठ (धादिङ), बलराम घिमिरे (रसुवा) र टीकाप्रसाद भट्ट (रामेछाप)

प्रकाशित : जेष्ठ ७, २०७९ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?