कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

एजेन्डा नै थाहा नपाई जनताले कांग्रेसलाई उत्साहजनक मत दिए : सिटौला

‘व्यवस्थापकीय रूपमा गठबन्धन पूरै असफल । तर, राजनीतिक रूपमा निकै सफल भएको छ । गठबन्धनले कांग्रेसलाई मात्र होइन सबै पार्टीलाई फाइदा पुगेको छ ।’
अर्जुन राजवंशी

बिर्तामोड — कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले एजेन्डा थाहै नपाई जनताले कांग्रेसलाई उत्साहजनक मत दिएको बताएका छन् । उनले चुनावी व्यवस्थापन पक्ष कमजोर रहँदा पनि पार्टीलाई प्राप्त नतिजा उपलब्धिमूलक भएको बताएका छन् । 

एजेन्डा नै थाहा नपाई जनताले कांग्रेसलाई उत्साहजनक मत दिए : सिटौला

पाँचदलीय गठबन्धन राजनीतिक रुपमा सफल भएको उनको विश्लेषण छ । ‘व्यवस्थापकीय रूपमा गठबन्धन पूरै असफल । तर, राजनीतिक रूपमा निकै सफल भएको छ’ उनले भने,‘गठबन्धनले कांग्रेसलाई मात्र होइन सबै पार्टीलाई फाइदा पुगेको छ ।’ नेकपा एकीकृत समाजवादीको तल्लो तहसम्म संगठन नै नभएकाले आशातित सफलता प्राप्त हुन नसकेको उनको भनाइ छ ।

‘माधवजीको पार्टीको संगठन तल्लोस्तरसम्म गठन नै भएको रहेनछ । तर पनि उहाँको पार्टीले जति नतिजा प्राप्त गर्‍यो त्यो उपलब्धिमूलक नै मान्नुपर्छ,’ उनले भने । झापाको भद्रपुरस्थित निवासमा शुक्रबार कान्तिपुरलाई प्रतिक्रिया दिँदै सिटौलाले गठबन्धन किन गर्नुपर्‍यो भन्नेबारे जनतालाई सूचित गराउन नसक्नु गठबन्धनको ठूलो कमजोरी भएको टिप्पणी गरे । उनले भने,‘गठबन्धन किन गरेको ?, गठबन्धन नगर्दा के हुन्थ्यो ? भन्ने विषय नै जनताले थाहा पाएनन् ।’

सिटौलाले गठबन्धनमार्फत प्राप्त नजिताले संवैधानिक व्यवस्थालाई सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले वैचारिक एकतालाई बलियो बनाउँदै संविधान कार्यान्वयनलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए । सिटौलाले पाँच दलीय गठबन्धन प्रदेश र संघको चुनावसम्म अघि बढाउनुपर्नेमा जोड दिए । तर, आगामी चुनावमा गठबन्धन गर्ने भए समयमै निर्णय लिन नेतृत्वलाई सुझाए ।

‘आगामी चुनावमा गठबन्धन गर्ने हो भने कम्तीमा उम्मेदवारी दर्ताभन्दा दस दिनअघि निर्णय हुन जरुरी देखियो,’ उनले भने,‘त्यस्तो भयो भने गठबन्धनको आवश्यकता र औचित्यबारे जनतालाई जानकारी गराउन सकिन्छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?