कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

प्रमुख नेता गृहजिल्लामा कति सफल ?

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो जिल्लामा कांग्रेसलाई जिताउन निकै कसरत गर्नुपर्‍यो, अन्य दलका शीर्षस्थ नेताहरुलाई पनि प्रतिष्ठा जोगाउन हम्मे परेको छ
कलेन्द्र सेजुवाल

काठमाडौं — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा यसपटकको स्थानीय तह निर्वाचनमा गृहजिल्ला डडेलधुरामा यति धेरै सक्रिय भए कि जति मिहिनेत उनी आफैं प्रतिस्पर्धी रहेको निर्वाचनमा समेत गर्दैनथे  । उनी निर्वाचनको ४ दिनअघि डडेलधुरा पुगेर स्थानीय तहमा कांग्रेसलाई जिताउन खटिएका थिए  ।

प्रमुख नेता गृहजिल्लामा कति सफल ?

डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्ल समूहले कांग्रेस (बीपी) का नाममा जिल्लाभरि एमालेसँग मिलेर प्रतिस्पर्धा गरेपछि उनी प्रतिष्ठा जोगाउने परीक्षामा आफैं होमिएका थिए । ‘अपेक्षाअनुसार नतिजा नआएको भए उहाँ (देउवा) माथि थुप्रै राजनीतिक र नैतिक प्रश्न उठ्ने थिए, तर कांग्रेसले राम्रो गरेपछि प्रतिष्ठा जोगियो,’ त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत डडेलधुराका राजनीतिक विश्लेषक योगेश जोशीले भने ।


डडेलधुराका ७ स्थानीय तहमध्ये कांग्रेस एक्लैले ५ वटामा जितेको छ । २०७४ को निर्वाचमा कांग्रेसले ४ स्थानीय तहमा जितेको थियो । गत निर्वाचनमा दुई स्थानीय तह जितेको एमालेले कुनै पालिकामा नेतृत्व जितेको छैन । माओवादीले दुई पालिका जितेको छ । जिल्लाभर एमालेसँग तालमेल गरेको कांग्रेस (बीपी) दुईटा वडाध्यक्षमा सीमित भएको छ । उसले एउटा वडामा भने देउवाको घर रहेको गन्यापधुरा–१ मा कांग्रेसलाई पराजित गरेको हो ।


विश्लेषक जोशी चुनावी नतिजाले कांग्रेसभित्रको अन्तरद्वन्द्व सकिएको र मल्ल समूह रहेको कांग्रेस (बीपी) को हैसियत पनि कमजोर सावित भएको बताउँछन् । ‘यसपटक मल्ल समूहले देउवालाई ठूलै चुनौती दिन खोजेको थियो तर देउवाले सहजै निस्तेज पार्नुभयो,’ उनले भने, ‘एक किसिमले भन्ने हो भने आफ्नो प्रतिष्ठा जोगाउन सफल हुनुभयो ।’


राजनीतिक दलका अन्य शीर्षस्थ नेताहरूलाई भने गृहजिल्लामा प्रतिष्ठा जोगाउन हम्मे भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नी छोरी रेनु प्रतिस्पर्धी रहेको भरतपुर महानगरमा केन्द्रित भइरहँदा चितवन जिल्लाका अन्य स्थानीय तहमा उनको पार्टीले नराम्रो धक्का खाएको छ । माओवादी केन्द्रले सत्तारूढ दलसँगको चुनावी गठबन्धनमा चितवनका ७ स्थानीय तहमध्ये भरतपुर र माडीमा प्रमुख तथा इच्छाकामना, कालिका र खैरहनीमा उपप्रमुख पाएको थियो । भरतपुरको मत गणना चलिरहेको छ भने अन्य सबै स्थानीय तहमा प्रमुख–उपप्रमुख माओवादीले हारेको छ । दाहालको निर्वाचन क्षेत्रसमेत पर्ने माडीको पराजयले उनलाई थप दबाब सिर्जना गरेको भरतपुरका कानुन व्यवसायी उद्धव लोहनी बताउँछन् । ‘हरेक निर्वाचनमा माओवादीका लागि माडी प्रतिष्ठाको क्षेत्र हुने गर्छ, त्यही ठाउँमा गठबन्धन गरेर पनि हारेको छ,’ उनले भने, ‘यसले पार्टी अध्यक्ष दाहालका आगामी चुनावी राजनीतिलाई असर पार्नेछ ।’


एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका १५ स्थानीय तहमध्ये बिहीबार रातिसम्म ६ वटाको नतिजा सार्वजनिक भएको छ । तीमध्ये ३ तहमा कांग्रेस, २ तहमा एमाले र एक तहमा राप्रपा विजयी भएका छन् । मत गणना जारी रहेका अन्य स्थानीय तहमा एमालेलाई ढुक्क हुने अवस्था देखिँदैन । ओलीको गृहनगर दमकमै राप्रपाले अग्रता लिइरहेको छ । त्यहाँ राप्रपा, कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन भएको थियो । एमालेले २०७४ को निर्वाचनमा ७ स्थानीय तहमा प्रमुख जितेको थियो । यसपटक राप्रपाका साथै सत्तारूढ दलबीच भएको चुनावी गठबन्धनका कारण एमालेलाई स्थानीय तहमा अघिल्लो पटकको हैसियत कायम राख्न मुस्किल परेको छ ।


झापामै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि प्रतिष्ठाको परीक्षामा छन् । राप्रपाले २०७४ को निर्वाचनमा झापाका ३ वटा स्थानीय तहमा प्रमुख जितेको थियो । यसपटक पार्टी अध्यक्ष रहेका उनीमाथि पुरानो परिणामलाई कायम राख्ने चुनौती छ । लिङ्देनको गृहपालिका हल्दीबारीमा उनका माहिला भाइ राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाले जितेको छ । दमकमा अग्रता लिइरहेको छ भने गत निर्वाचनमा जितेको गौरीगन्जमा बिहीबार रातिसम्मको मत गणनामा तेस्रो स्थानमा छ ।


एकीकृत समाजवादीले देशभर अपेक्षाअनुसार परिणाम नआएको भनिरहेका बेला अध्यक्ष माधवकुमार नेपालको जिल्ला रौतहटले भने इज्जत धानिदिएको छ । एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको एकीकृत समाजवादीले गौर नगरपालिका र राजदेवी नगरपालिकामा प्रमुख–उपप्रमुख जितेको छ । यी दुवै पालिका नेपालको निर्वाचन क्षेत्रमा पर्छन् । बिहीबार रातिसम्मको मत गणनामा वृन्दावन नगरपालिकामा पहिलो र गुजरा नगरपालिकामा एकीकृत समाजवादी दोस्रो स्थानमा छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल राय यादव रौतहटले आफ्नो पार्टीका लागि ‘शुभ संकेत’ दिएको बताउँछन् । ‘नयाँ पार्टीले स्थापनाको छोटो समयमै एक्लै लडेर पालिकाहरूमा जितेको छ, यसले अध्यक्ष (नेपाल) लाई उत्साहित बनाएको छ, जिल्लालाई पनि राम्रो भएको छ,’ उनले भने ।


जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका लागि गृहजिल्ला गोरखाले निराश बनाएको छ । जिल्लाका ११ स्थानीय तहमध्ये एउटैमा पनि उनको पार्टीले जित्न सकेन । उनको घर रहेको पालुङटार नगरपालिकामा कांग्रेसको सहारा लिए पनि सफलता पाउन सकेनन् । राजपाका प्रेमबहादुर गुरुङ माओवादी उम्मेदवार विवश चिन्तनसँग पराजित भए । गोरखामा ८ स्थानीय तहमा माओवादी केन्द्रले जितेको छ भने दुइटामा कांग्रेसले जितेको छ । मत गणना जारी रहेको चुमनुव्री गाउँपालिका अध्यक्षमा जसपाको उम्मेदवार छैन भने उपाध्यक्षमा चौथो स्थानमा छ । ‘उहाँले काठमाडौं बसेर कांग्रेस सभापतिसँग तालमेलको प्रयास गर्नुभयो, तर बेलैमा जिल्लामा आएर चुनाव जिताउन प्रयास गर्नुभएन,’ जसपाका एक जिल्लास्तरीय नेताले भने, ‘यसले गर्दा आफ्नै जिल्लामा शून्य अवस्था देख्नुपर्‍यो ।’ स्थानीय तहको निर्वाचन परिणामले आगामी संसदीय निर्वाचनमा पनि भट्टराईलाई दबाब सिर्जना गर्ने उनले बताए ।


विराटनगर महानगरको निर्वाचन कांग्रेस नेता शेखर कोइरालाको प्रतिष्ठासँग जोडिएको छ । देउवाइतर समूहको नेतृत्व गर्ने कोइरालानिकट नागेश कोइराला गठबन्धनका तर्फबाट विराटनगर महानगरमा प्रमुखको उम्मेदवार बनेका छन् । उनी प्रतिस्पर्धी एमाले उम्मेदवार सागर थापाभन्दा करिब ५ हजार मतले अगाडि छन् । सुरुमा कांग्रेसभित्र चुनावी गठबन्धन गर्न नहुने धारणा राख्दै आएका कोइरालाले पछिल्लो समय गठबन्धनको निर्णयलाई समर्थन गरेका थिए । ‘उहाँ चुनावभन्दा अगाडिदेखि विराटनगरमै हुनुहुन्छ, नागेशको जित–हार उहाँको प्रतिष्ठासँग जोडिएको छ,’ मोरङका कांग्रेसका एक नेताले भने ।

प्रकाशित : जेष्ठ ६, २०७९ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?