भट्टराई र श्रेष्ठले जोगाएनन् आफ्ना पालिका

बाबुराम भट्टराईले आफ्नो वडा जोगाए भने नारायणकाजी श्रेष्ठको वडाको वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
हरिराम उप्रेती

गोरखा — स्थानीय तह निर्वाचन नजिकिएसँगै शीर्ष दुई नेता एक सातादेखि नै चुनावी प्रचारका लागि आफ्नो जिल्लामा ‘अड्डा’ जमाएर बसे । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चुनावी प्रचारको क्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने पालिकामा आफ्नो वर्चश्व स्थापना गर्न खटिएका थिए । 

भट्टराई र श्रेष्ठले जोगाएनन् आफ्ना पालिका

२०७४ को निर्वाचनमा पनि यहि निर्वाचन क्षेत्रबाट दुई नेताको प्रतिस्पर्धा भएको थियो । वैशाख २३ मा एकै दिन जिल्ला आएका दुई नेता चुनावी प्रचार सकेर वैशाख ३० मा मतदान गरेर मात्र राजधानी फर्किए । चुनावी प्रचारको एक साता अड्डा जमाएर बसेका दुई नेताले मतपरिणाम सार्वजनिक हुँदा आफ्नै पालिकाको नतिजा भने आफ्नो पक्षमा पार्न सकेनन् । भट्टराईले आफ्नो वडा जोगाए भने श्रेष्ठले आफ्नै पालिका र वडाको वडाध्यक्षसम्म जोगाउन सकेनन् । श्रेष्ठको वडामा कांग्रेस वडाध्यक्षका उम्मेदवार विजयी बनेका छन् ।

जसपाका संघीय अध्यक्ष भट्टराई सत्ता गठबन्धन दलको चुनावी सभालाई छाडेर चुनावी प्रचारको क्रममा गृहपालिका पालुङटारमा केन्द्रित थिए । एक साताको अवधिमा उनले पालुङटारमै धेरै समय खर्चिए । सत्तारुढ गठबन्धन दलबाहिर चुनावी तालमेल नगर्ने उद्घोष गरेका भट्टराईले आफ्नो गृहपालिकामा एमालेसँग चुनावी तालमेल गरे पनि सफल हुन सकेनन् ।

एमालेसँग तालमेलअघि भट्टराईले कांग्रेससँग चुनावी तालमेलको प्रयास गरेका थिए । पालुङटारमा चुनावी तालमेलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहमत थिए । देउवा र भट्टराईले मेयर र उपमेयरमा चुनावी तालमेलको आन्तरिक सहमति गरेका थिए । सहमतिअनुसार मेयरमा कांग्रेसले जसपालाई सघाउने र जसपाले उपमेयरमा कांग्रेसलाई सघाउने सहमति बन्यो । देउवासँग छलफल गरेर चुनावी तालमेल गरेका भट्टराईको दल जसपाले नारायणी अधिकारीको उपमेयरको उमदेवारी वैशाख १६ मा फिर्ता लियो ।

केन्द्रीय नेतृत्वको सहमतिपछि देउवाद्वारा हस्ताक्षरित कांग्रेस मेयरका उम्मेदवार दिपकबाबु कँडेलको उम्मेदवारी फिर्ताको पत्र वैशाख १६ मा निर्वाचन अधिकृतको कार्यालय आइपुगेको थियो । समय घर्किएपछि निर्वाचन अधिकृतको कार्यालयमा पत्र पुगेपछि कांग्रेस उम्मेदवार कँडेलको उम्मेदवारी जोगियो । त्यसपछि पनि भट्टराईले कँडेलको उम्मेदवारी निष्क्रिय पारी कांग्रेससँग तालमेलको प्रयास जारी राखे । केन्द्रमा भट्टराई-देउवाबीच तालमेलको आन्तरिक सहमति बने पनि स्थानीय स्तरमा वडा बाँडफाँट नमिल्दा तालमेल भाँडियो ।

तीनवटै दल एकल रुपमा अघि बढे । जसपा उपमेयरबिनै चुनावी प्रचारमा थियो । निर्वाचनको मिति नजिकिँदै गर्दा पालुङटारको उपमेयरमा जसपाले एमालेलाई सघाउने र मेयरमा एमालेले जसपालाई सघाउने गरी चुनावी तालमेल भयो । दुई दलबीचको तालमेलले पनि सार्थकता पाउन सकेन । एमालेबाट मेयरमा उम्मेदवारी दिएर पछि निष्क्रिय बनेका हरि भट्टले ९ सय ४१ मत ल्याएका छन् । पालुङटारमा एमालेसँग तालमेलबाट मेयर लडेका जसपा उम्मेदवार गुरुङ तीन सय ५५ मतले मात्र पराजित भएका छन् । एमालेको सबै भोट भने जसपाले तान्न सकेन ।

भट्टराईको गृहपालिकामा माओवादीका उम्मेदवार विवश चिन्तनसँग जसपा उम्मेदवार गुरुङ ३ सय ५५ मतान्तरले पराजित बनेका हुन् । २०७४ को निर्वाचनमा पालुङटार नगरपालिकाको मेयरमा कांग्रेसका दीपकबाबु कँडेल विजयी बनेका थिए । यसपटक तेस्रो बनेका कँडेलले चार हजार ९ सय ९७ मत ल्याएका छन् । उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे विजयी बनिन् ।

५ हजार ५ सय ७९ मत ल्याएर पाण्डे विजयी बनेकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले पाँच हजार ७७ मत ल्याइन् । जसपासँग तालमेल गरेको एमालेको तर्फबाट उम्मेदवारी दिएकी पार्वती देवी पाठकले ४ हजार २ सय ८१ मत ल्याइन् । १० वडा रहेको पालुङटारमा भट्टराईको पार्टी जसपाले वडा नम्बर १, ५ र ८ नम्बर वडाको वडाध्यक्ष जितेको छ । वडा नं. १ भट्टराईको आफ्नै वडा हो । उक्त वडाका वडाध्यक्ष कृष्णबहादुर परियारले ६ सय ४८ मत ल्याएर प्यानलसहित विजयी बने ।

पालुङटारसँगै जोडिएको अर्को पालिका सिरानचोक माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको गृहपालिका हो । श्रेष्ठको दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिरानचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवारबाट पराजित बनेको छ । श्रेष्ठले मतदान गरेको आफ्नै गृहवडा, वडा नं. ८ मा समेत नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी बनेका छन् ।

कांग्रेस वडाध्यक्षका उम्मेदवार दलमान गुरुङले ७ सय १६ मत ल्याएर वडाध्यक्षमा विजयी बनेका हुन् । माओवादी वडाध्यक्षका उम्मेदवार बनेका दीपक श्रेष्ठ ६ सय ६९ मत ल्याएर पराजित बने । वडा सदस्यमा भने माओवादी उम्मेदवार विजयी बनेका छन् । २०७४ को निर्वाचनमा भने उक्त वडाको वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका थिए ।

सिरानचोक गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र गुरुङ र उपप्रमुखमा कांग्रेसकै उम्मेदवार रीता देवकोटा विजयी बनिन् । गुरुङ ५ हजार ४ सय ३ मत ल्याएर विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १ सय ६८ मत ल्याएर पराजित बने । त्यस्तै उपप्रमुखमा विजयी कांग्रेस उम्मेदवार देवकोटाले ४ हजार ८ सय ४ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी पूर्णकुमारी ढकालले ३ हजार ९ सय २ मत ल्याइन् ।

आठवटा वडा रहेको सिरानचोक गाउँपालिका वडाहरू १, २, ३ , ४ र ८ नेपाली कांग्रेसले जितेको छ भने ५, ६, ७ माओवादी केन्द्रले जितेको छ ।

गोरखाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने पालुङटार नगरपालिकाको प्रमुख/उपप्रमुख तथा अजिरकोट र वारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष भने माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् । क्षेत्र नम्बर २ अन्तर्गत नै रहेको सिरानचोकको अध्यक्ष/उपाध्यक्षमा मात्र माओवादीले पराजय बेहोरेको हो ।

प्रकाशित : जेष्ठ ६, २०७९ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?