कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

‘सुन्दरी प्रतियोगिताका आयोजकबाट किशोरीमाथि बलात्कार’

विद्या राई

काठमाडौँ — आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी छन् । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको बताएकी छन् । 

‘सुन्दरी प्रतियोगिताका आयोजकबाट किशोरीमाथि बलात्कार’

बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत उनले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेकी हुन् । भिडियोमा उनले सानैदेखि मोडलिङमा रुचि राख्ने गरेको र कक्षा १२ को परीक्षा दिएपछि हाउस अफ फेसनमा अडिसन दिएको बताएकी छन् । त्यसमा छनोट नभए पनि उनको फोटो सार्वजनिक भएपछि भिसा ग्लोबल कन्सल्टेन्सीले ‘फोटोसुट’ का लागि अफर गरेको उनको भनाइ छ । ‘अफर आएपछि म निकै उत्साहित भएँ, कन्सल्टेन्सीको मान्छे र एक जना फोटाग्राफर मिलेर मेरो फोटोसुट गराए, कन्सल्टेन्सीको मान्छेले मलाई पाँच हजार रुपैयाँ दियो,’ उनले भनेकी छन्, ‘कन्सल्टेन्सीको मान्छेले मलाई सुन्दरी प्रतियोगिता आयोजना गर्न लागेको बतायो, म पहिले पनि यस्ता प्रतियोगितामा भाग लिएकाले सहभागी हुन तयार भएँ ।’

‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा उनी सहभागी मात्र भइनन्, ‘फर्स्ट रनर–अप’ को ताज पनि पाइन् । त्यसपछि प्रतियोगिताको आयोजकले उनलाई फोन गरेर नयाँ बानेश्वरको एभरेस्ट होटलमा ‘सक्सेस पार्टी’ हुन लागेको भनेर बोलाएको र त्यहाँ जाँदा अरू सहभागी पनि नदेखेको उनको भनाइ छ । आयोजकले अरू पछि आउँछन् भन्दै फकाएको, पेय पदार्थ दिएको र केही समयपछि आफूलाई चक्कर आएर असहज भएको तर घर जान नदिएको उनले बताएकी छन् । ‘त्यसपछि मैले घर जान चाहन्छु भनेकी थिएँ तर उसले तिमी विजेता भएर यस्तो भन्ने भन्दै बस्न दबाब दियो ।’

अरू सहभागी आएपछि बोलाउने भन्दै आयोजकले केहीबेर आराम गर्न उनलाई कोठामा पठाएको तर त्यसपछि बेलाबेलामा होस खुल्दा आफूमाथि बलात्कार भइरहेको थाहा पाए पनि प्रतिकार गर्न नसकेको उनले बताएकी छन् । एकैचोटि भोलिपल्ट बिहान होस खुल्दा आयोजक आफूसितै सुतिरहेको थाहा पाएको उनले भिडियोमा भनेकी छन् । आफू चिच्याएर रुन थालेपछि पैसा देखाएर फकाउन खोजेको र भिडियो तथा फोटो खिचिसकेको भन्दै धम्क्याएको उनले बताएकी छन् । ‘नग्न तस्बिर र भिडियोहरू लिएको छु, सार्वजनिक गरिदिन्छु भन्दै ब्लाकमेल गरेर ६ महिनासम्म यौन शोषण गरिरह्यो,’ उनले भनेकी छन् ।

आफ्ना एक जना पुरुष साथीलाई यो कथा भनेपछि उनको साथमा आयोजक एजेन्सीको कार्यालयमा गएको र अडियो रेकर्ड, टेक्स्ट मेसेजहरू सुनाएको उनले खुलाएकी छन् । आक्रोशित साथीले आयोजकलाई कुटेको, आफूले पनि एक–दुई झापड हानेको र माफी माग्न लगाएको उनको भनाइ छ । तर यही घटनाले गर्दा आफ्ना सामाजिक सम्बन्धहरू टुटेको, दोषीलाई कारबाही नभएको देखेर आत्मबल कमजोर भएको र विभिन्न औषधिको सहारा लिनुपरेको विस्तृत विवरण उनले सुनाएकी छन् ।

सन् २०१४ देखि हालसम्म लगातार औषधि उपचार र थेरापी गरे पनि आफूमा मानसिक पीडा भइरहेकाले सार्वजनिक गरेको उनको भनाइ छ । ‘म सत्य कुरा बोल्दै छु किनकि यत्रो वर्ष मनमा राखेर न म सन्चो भएँ न मेरो थेरापीले काम गर्‍यो न मेडिसिनले । तर, मेरो साइकियाट्रिकले यो लुकाउनु हुँदैन, बोल भन्नुभयो, हिम्मत बटुलेर सार्वजनिक गरेकी हुँ,’ उनले भनेकी छन् ।

पीडितले उल्लेख गरेको प्रतियोगिता आयोजना गर्ने भिसा ग्लोबल कन्सल्टेन्सीका प्रमुख मनोज पाण्डे भिडियो सार्वजनिक भएपछि सम्पर्कविहीन छन् । बानेश्वरमा कार्यालय चलाउँदै आएका उनले प्रतियोगिता आयोजना गर्दै आएका थिए, त्यस्तै अस्ट्रेलियालगायतका देशमा विद्यार्थी पनि पठाउँदै आएका छन् ।

पीडितले चर्चा गरेका फोटोग्राफर आफू नै भएको श्रीधर पौडेलले नै सार्वजनिक गरेका छन् । पौडेलले मोडलिङ एजेन्सीले बोलाएकाले व्यावसायिक रूपमा फोटो खिचेको र त्यसबापतको पारिश्रमिक लिएको बताएका छन् । तर, पछि पीडित र उनका साथी आयोजककै कार्यालयमा पुगेको दिन होहल्ला भएपछि कार्यालयकै मान्छेले बोलाएकाले आफू पनि पुगेको उनको भनाइ छ । ‘पाण्डेले यौन शोषण गर्‍यो भनेर बहिनीले भनेपछि मलाई पनि त्यो मान्छेसँग रिस उठेको थियो । उनीहरूले आक्रोश पनि पोखे तर त्यो बेला के गर्ने त भन्दा यो इभेन्ट आइन्दा नगर्नॅ भनेर चेतावनी दिएपछि पाण्डेले पनि गर्दिनँ भन्यो,’ उनले कान्तिपुरसित भने, ‘पुलिसकोमा जाऊँ भनेको भए त्यतिबेला पनि गइन्थ्यो तर ती बहिनी पीडित भएकाले अहिले पनि कानुनी उपचारमा जान चाहे सहयोग गर्न म तयार छु ।’

घटना हुँदा उनी १६ वर्षकी थिइन् । कानुनी उपचारमा जान चाहे पनि सुन्दरी प्रतियोगिताकी कोरियोग्राफरले साथ नदिएकोमा उनले आक्रोश पोखेकी थिइन् । यो प्रतियोगिताको कोरियोग्राफी पूर्वमिस नेपाल माल्भिका सुब्बाले गरेकी थिइन् । ‘मलाई यौन शोषण गर्नेको कार्यालयमै गएको दिन मैले कोरियोग्राफरलाई फोन गरेकी थिएँ तर मलाई किन भन्छेस् भन्दै उल्टै हप्काएर फोन राखिदिइन्’ उनको भनाइ छ । पीडितको भिडियो सार्वजनिक भएपछि माल्भिकाले सामाजिक सञ्जालमार्फत माफी मागेकी छन् । तर, कान्तिपुरले प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता विष्णुकुमार केसीले यो विषयमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘भिडियो बाहिर आएको रहेछ, हामी पनि हेर्दै छौं, बुझ्ने काम भइरहेको छ ।’ घटनाका सम्बन्धमा थप कानुनी प्रक्रियाका बारेमा भने उनले थप बताउन चाहेनन् ।

यता राष्ट्रिय महिला आयोगले घटनाबारे जानकार रहे पनि चासो देखाएको छैन । अध्यक्ष कमला पराजुलीले पीडितको पहिचान नखुलेकाले घटनाबारे थाहा नभएको बताइन् । ‘इन्स्टाग्रामको भिडियोहरू त हेरें तर को मान्छे हो, त्यो बहिनीको पहिचान खुल्दैन, पहिचान नभईकन त कसरी थाहा पाउने र ?’ उनले भनिन् । साथै उनले यस्ता घटनामा छानबिन अगाडि बढाउन आयोगमा उजुरी हाल्नुपर्ने र त्यस्तो उजुरी आएमा प्रहरीको ‘साइबर ब्युरो’ मा पठाउने बताइन् ।

मुलुकी ऐनमा बलात्कारविरुद्ध उजुरी गर्न एकवर्षे हदम्याद तोकिएको छ । ‘प्रचलित कानुनले बन्धक बनाएर बलात्कार गरे पनि, बन्धकमुक्त भएको एक वर्षभित्रमा कानुनी उपचारमा पुग्नुपर्छ भन्छ’ अधिवक्ता सुष्मा गौतम भन्छिन् । तर, अदालतले नजिरहरू पनि स्थापित गर्दैर् जाने अभ्यास भएकाले यो विषयलाई प्रहरी र सरकारी वकिल कार्यालयले सरकारवादी मुद्दाका रूपमा अघि बढाउनुपर्ने कानुन व्यवसायीहरूको सुझाव छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?