अमेरिकी उपमन्त्री जिया आज आउँदै

एक दशकपछि अमेरिकी अधिकारीको उच्चस्तरीय भ्रमण

काठमाडौँ — अमेरिकाको वासिङ्टन डीसीबाट नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया भारतको नयाँदिल्ली हुँदै शुक्रबार काठमाडौं उत्रँदै छिन् ।

अमेरिकी उपमन्त्री जिया आज आउँदै

उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण हो । नेपालले एमसीसी सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण तय भएको हो ।

उपमन्त्री जिया मंगलबार नयाँदिल्ली उत्रिएकी थिइन् । उनले बुधबार हिमाचल प्रदेशको धर्मशाला पुगेर दलाई लामालाई भेटेकी थिइन् । त्यहाँ उनले निर्वासित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसहितका प्रतिनिधिहरूसँग भेटवार्ता गरिन् । उपमन्त्री जियाले नेपालमा नेपाली अधिकारीहरूका अलावा तिब्बती शरणार्थीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

जिया नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । जियाको नेपाल र भारत भ्रमण मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ सुदृढ बनाउन र मानवीय प्राथमिकता अगाडि बढाउन केन्द्रित रहने विदेश मन्त्रालयले जनाएको छ ।

भूराजनीतिक जानकार तथा अवकाश प्राप्त उपरथी विनोज बस्न्यात भने जियाको भ्रमण मुख्य गरी भारत र नेपालमा रहेका तिब्बती शरणार्थीको सवालमा केन्द्रित हुने बताए । ‘पछिल्लो समय अमेरिकाले चीनलाई सन्तुलनमा राख्न नेपाल र भारतमा रहेका तिब्बती शरणार्थीका मुद्दालाई उठाउनुका साथै मानवअधिकार सम्बन्धित मुद्दालाई अघि बढाउन खोजेको देखिन्छ,’ उनले भने ।

केन्द्रीय तिब्बती प्रशासनका अनुसार बिहीबार बिहान हिमाचलमा जियाले धर्मशालाको म्याक्लियोड गन्जमा रहेको दलाई लामाको आधिकारिक निवासमा द्विपक्षीय भेटवार्ता गरेका हुन् । ‘कार्यक्रममा निर्वासित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङलगायत प्रतिनिधि र अमेरिकी विशेष संयोजकको प्रतिनिधिमण्डलको उपस्थिति रहेको थियो,’ प्रशासनको वेबसाइटमा उल्लेख गरिएको छ । छोटो भेटवार्ताका दौरान जियाले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी जनताले दलाई लामालाई शुभकामना व्यक्त गरेकी थिइन् । उनले दलाई लामाको सुस्वास्थ्यको कामना गर्दै लामाले दिएको शान्ति सन्देशका लागि कृतज्ञता व्यक्त गरेकी थिइन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?