अमेरिकाबाट ५ मूर्ति फिर्ता ल्याइँदै

देवेन्द्र भट्टराई

काठमाडौँ — अमेरिकाका विभिन्न संग्रहालय तथा स्रोत/सूचना खुलाउन नचाहने संकलककहाँ रहेका ५ पुरातात्त्विक मूर्तिहरू नेपाल फिर्ता पठाउन वासिङ्टन डीसीस्थित नेपाली दूतावासले प्रक्रिया अघि बढाएको छ ।

अमेरिकाबाट ५ मूर्ति फिर्ता ल्याइँदै

कोलोराडोस्थित डेनभर म्युजियममा रहेको दसौं शताब्दीमा निर्मित उमामहेश्वर, सिकागो म्युजियममा भेटिएको छैटौं शताब्दीमा बनेको चतुर्मुखी शिवलिङ्गसहित आफ्नो पहिचान खुलाउन नचाहेका व्यक्तिबाट प्राप्त नागराजा, पद्मपाणि र शाक्यमुनि बुद्धमूर्ति स्वदेश पठाउन अमेरिकी कार्गो कम्पनी यूपीएसलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । यूपीएसले आफ्नै खर्चमा यी सम्पदालाई नेपाल ल्याइदिने भएको छ ।

नागराजा, पद्मपाणि र शाक्यमुनि बुद्धको मूर्ति ल्याएर बुझाउने कला संकलकको सर्तअनुसार यी सम्पदा प्राप्ति र स्रोतबारे दूतावासका अधिकारीले विस्तृतमा बताउन चाहेनन् । यसरी गुपचुपमै आफूसँग रहेका पुरातात्त्विक सम्पदा दूतावासमा ल्याएर बुझाउने क्रम बढेको पनि दूतावासका एक अधिकारीले बताए । यी सम्पदा आगामी सोमबार काठमाडौंस्थित पुरातत्त्व विभागमा आइपुग्नेछन् ।

करिब ६० वर्षअघि पाटनको गाःहिटी (कुम्भेश्वर परिसर) बाट हराएको उमामहेश्वरको मूर्ति डेनभर म्युजियममा रहेको बारे कला/सम्पदाको खोजी अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले २ वर्षअघि नै सूचना सार्वजनिक गरेको थियो । त्यसपछि विभागसहितका सरोकारवाला निकायले गरेको सम्पदा उत्पत्तिको पहिचान र प्रमाणीकरणपछि उक्त सम्पदामा हकदाबी गरिएको थियो । चोरिएको मूर्ति प्रदर्शनीमा रहेकोबारे विवाद र प्रमाण बाहिरिएपछि म्युजियमले गत वर्ष नै मूर्ति वासिङ्टनस्थित नेपाली दूतावासलाई बुझाएको थियो । सार्वजनिक तथ्यअनुसार सन् १९६८ मा भारतको नयाँदिल्लीबाट कला संकलक जेम्स एन्ड मार्लिन एल्सडर्फले यो मूर्ति खरिद गरेर लगेको र सन् १९८० मा डेनभर म्युजियमलाई उपहारमा दिएका थिए ।

यसैगरी, पशुपतिनाथ मन्दिर परिसरबाट २०४१ असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिङ्ग २ वर्षअघि मंसिरमा सिकागो म्युजियममा फेला परेको थियो । सन् १९९७ सम्म लन्डनको क्रिस्टिज कलेक्सनमा रहेको उक्त मूर्ति त्यसपछि अमेरिकी कला संकलक खर्बपति एल्सडर्फ दम्पतीले किनेर लगेको र सिकागो म्युजियमलाई बुझाएका थिए । २ वर्षअघि संकलक श्रीमती एल्सडर्फको मृत्यु भएपछि उनको इच्छापत्रमा उल्लेखित जानकारीपछि यो सम्पदा नेपालबाट लगिएको थाहा भएको थियो । अन्वेषक लैनसिंह वाङ्देलको सन् १९८९ मा प्रकाशित पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’ मा समेत चतुर्मुखी शिवलिङ्गबारेमा उल्लेख (११७ पृष्ठ) गरिएको छ । यो मूर्ति पशुपतिनाथस्थित पञ्चदेवलको बाहिरपट्टि रहेको र सन् १९८४ जुलाईदेखि हराएको विवरण पुस्तकमा छ ।

वाङ्देलकै खोजमूलक कृतिअनुसार नक्साल (भगवान्बहाल) बाट सन् १९८२ मा हराएको नागराजा मूर्तिलाई बाह्रौं शताब्दीको सिर्जना मानिएको छ । वंशावली र पौराणिक साहित्यमा उल्लेख भएको नागराजाबारेमा वाङ्देलकै अर्को पुस्तक ‘अर्ली स्कल्पर्चस अफ नेपाल’ मा पनि लेखिएको छ । यसैगरी, सातौं शताब्दीमा निर्मित पद्मपाणि र १६ औं शताब्दीमा निर्मित शाक्यमुनि बुद्धमूर्तिको नेपाल अवस्थितिबारे स्पष्ट हुन नसके पनि यी सम्पदा नेपालकै रहेको पुष्टि भएपछि पुरातत्त्व विभागलाई जिम्मा लगाउन लागिएको हो । यी दुवै सम्पदाबारे भारतीय अन्वेषक प्रतापआदित्य पालको पुस्तक ‘अ कलेक्टिङ ओडेसी ः द एल्सडर्फ कलेक्सन अफ इन्डियन एन्ड इस्ट एसियन आर्ट’ मा उल्लेख गरिएको छ । पालको पुस्तकमा बौद्धमार्गमा बोधिसत्व अवलोकितेश्वर समेत भनिने

पद्मपाणिको नेपालको ढोकाबहालस्थित चैत्यको बोधिसत्वसँग समान विशेषता रहेको भनेर बयान गरिए पनि यो सम्पदा कहिले र कहाँबाट चोरिएको हो भन्ने उल्लेख छैन ।

शाक्यमुनि बुद्धमूर्तिलाई नेपालबाट चोरेर लागिएको सबैभन्दा ठूलो बुद्धको मूर्ति भनेर व्याख्यासमेत गरिएको छ । ‘यसबाहेक भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरबाट ४५ वर्षअघि चोरिएको पार्वती (तारा) मूर्ति पनि छिट्टै प्राप्त हुँदै छ,’ पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले कान्तिपुरसँग भने, ‘अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटीको आर्ट ग्यालरीमा रहेको यो मूर्ति नेपालको भन्ने पुष्टि भएपछि घर फर्कने प्रक्रियामा छ ।’

प्रकाशित : जेष्ठ ६, २०७९ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?