२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नवराज विकसहितको स्मृतिमा जात व्यवस्थाविरुद्व ‘भेरी प्रतिरोध मार्च’ हुने

काठमाडौँ — रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी नरसंहार भएको दुई वर्ष पुगेको सन्दर्भमा नागरिक अगुवाहरूले जात व्यवस्थाविरुद्व भेरी प्रतिरोध मार्च गर्ने भएका छन् ।

नवराज विकसहितको स्मृतिमा जात व्यवस्थाविरुद्व ‘भेरी प्रतिरोध मार्च’ हुने

दलित समुदायमाथि भएको त्यस्तो गम्भीर नरसंहारको सत्यतथ्य बाहिर ल्याउन, अपराधीहरुलाई कारबाही गराउन र पीडितको न्याय सुनिश्चित गर्न सरकारलाई जवाफदेही बनाउने उद्देश्यले कर्णाली थिएटरको संयोजनमा प्रतिरोध जनअधिकार आन्दोलन र बृहत् नागरिक आन्दोलनले संयुक्तरुपमा भेरी प्रतिरोध मार्च गर्न लागेका हुन् ।

यही जेठ १० गते रुकुम नरसंहारको दुई वर्ष पूरा हुँदैछ । त्यही दिनको सम्झनामा प्रतिरोधस्वरुप नागरिक आन्दोलनसहित नागरिक अगुवाहरूले भेरी किनारसम्म प्रतिरोध मार्च गर्न लागेका हुन् । भेरी नदी किनारमा पुगेर प्रतिरोधका कविता वाचन, गीत गायन, नाटक प्रदर्शन र खबरदारी सभा गर्ने कार्यक्रम रहेको विश्वकर्माले जानकारी दिए ।

रुकुम घटनाका पीडितले अझै पनि न्याय पाएका छैनन् । बरू राज्य प्रशासन नै घटनालाई तोडमोड गरी भवितव्य घटनाका रुपमा परिभाषित गर्ने दुस्साहस गरिरहेको छ । घटनामा आरोपित ३४ जनामध्ये ११ थुनामुक्त भइसकेका छन् भने २३ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

अदालतले घटनाबारे अन्तिम फैसला सुनाएको छैन । पीडित परिवारले न्याय पाउनेमा आशंका उत्पन्न भइरहेका बेला सरकार, राजनीतिक दललगायत सम्बन्धित वर्गलाई खबरदारी गर्न प्रतिरोध मार्च गर्न लागिएको अधिकारकर्मी जेबी विश्वकर्माले बताए ।

‘पीडितलाई न्याय र अपराधीलाई कारबाही गर्नका लागि राज्यको तदारुकता देखिएको छैन, बरु संसदीय र अन्य सरकारी छानबिन समितिको प्रतिवेनसमेत सार्वजनिक भएनँ, ‘उच्चस्तरीय नागरिक आयोग गठन’को माग पनि बेवास्ता गरियो,’ उनले भने ।

जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मा र रुकुम पश्चिम सोतीकी एक गैरदलित किशोरीबीच प्रेम सम्बन्ध थियो । ती किशोरीलाई भगाएर विहे गर्न गएका नवराज र उनका साथीहरूलाई २०७७ जेठ १० गते साँझ रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, सोतीका गैरदलित समुदायको भीडले हत्या गरेको थियो ।

घटनामा परी नवराजसहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको ज्यान गएको थियो भने घटनामा नवराजका १२ जना साथी घाइते भएका थिए ।

‘रुकुम नरसंहारसँगै दलितमाथि भइरहेका अन्य जघन्य अपराधको छानबिन गर्न, अपराधीलाई कानुनको कठघरामा ल्याएर कारबाही गर्न, पीडितलाई न्याय दिलाउन र जात व्यवस्थामा आधारित राज्यप्रणाली बदल्ने अभियानका साथ ‘भेरी प्रतिरोध मार्च’ को आयोजना गरिएको हो,’ विश्वकर्माले भने ।

प्रकाशित : जेष्ठ ५, २०७९ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?