सौन्दर्य प्रतियोगितामा आयोजकबाट 'यौन दुर्व्यवहार': आठ वर्षपछि युवतीले सार्वजनिक गरिन् पीडा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सौन्दर्य प्रतियोगितामा आयोजकबाट 'यौन दुर्व्यवहार': आठ वर्षपछि युवतीले सार्वजनिक गरिन् पीडा

सामाजिक सञ्जालमा उनको पक्षमा उभिए कलाकार
रीना मोक्तान

काठमाडौँ — सामाजिक सञ्जाल टिकटकमार्फत एक युवतीले आफू १६ वर्षको हुँदा सौन्दर्य प्रतियोगिताका एक आयोजकले आफूसँग गरेको यौन दुर्व्यवहारबारे बोलेकी छन् । सन् २०१४ को सौन्दर्य प्रतियोगिता 'मिस ग्लोबल इन्टरनेसनल 'मा भाग लिन लगाउँदै आयोजकले आफूलाई ६ महिनासम्म ‍यौन दुर्व्यवहार गरेको कुरा भिडियोमार्फत सार्वजनिक गरेकी छन् ।

दुर्व्यवहारबारे प्रतियोगिताको कोरियोग्राफरसमेत रहेकी मिस नेपाल(नाम खुलाएकी छैनन्)ले आफ्नो कुरासमेत विश्वास नगरिदिएको उनले दाबी गरेकी छन् ।

'६/७ वर्षको हुँदा मैले ३/४ वटा फिल्म खेलेको थिएँ । ठूलो भएपछि अभिनेत्री, मोडल हुने मन थियो । त्यसैले १२ को परीक्षा सकिएपछि म 'हाउस अफ फेसन'मा अडिसन दिन गएँ । म त्यहाँ छानिइनँ । तर अडिसनको तस्बिर बाहिर आएपछि मलाई कसैले म्यासेज गर्‍यो । उसले मलाई फोटोसुट गर्न आउ भन्यो । म एकदमै उत्साहित थिएँ । किनभने मलाई मोडल बन्नु थियो । म गएँ । फोटो खिच्ने व्यक्ति एकदमै चलेको अनलाइनको फोटोग्राफर थियो,'बुधबार 'सुसी खान जाने हो' नामको टिकटक अकाउन्टको भिडियोमा युवतीले भनेकी छन्,'त्यो फोटोग्राफर र त्यो अब्युजर(यौन दूराचारी) दुवैजना मिलेर मेरो फोटो खिच्यो । मलाई फोटोसुटको पाँच हजार दिइयो । त्यो अब्युजरले आफूले सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको बताउँदै मलाई सहभागी हुन प्रोत्साहन गर्‍यो । मैले त्योभन्दा अगाडि पनि सौन्दर्य प्रतियोगितामा भाग लिइसकेको थिएँ । त्यसैले म त्यो सौन्दर्य प्रतियोगितामा सहभागी भएँ ।'

विभिन्न भागमा सार्वजनिक भिडियोमा उनले दाबी गरेअनुसार उक्त प्रतियोगितामा उनी फस्ट रनर्सअप भइन् । भिडियोमा उनले कसैको नाम खुलाएकी छैनन् । आफूले ड्राइभमा राखेको सबै कल रेकर्डिङ र टेक्स्ट मेसेज डिलिट गरेको बताउँदै उनले आफूमाथि भएको बलात्कारको खुलासा गरेकी छन् । 'मैले कल रेकर्डिङ, टेक्स्ट मेसेजहरु ड्राइभमा राखेको थिएँ । म त्यो मेसेज र कल रेकर्डिङ सुन्दै रुने गर्थें । सायद २०१८ तिर मैले त्यो सबै डिलिट गरिदिएँ । मसँग कुनै पनि प्रमाण छैन,'अल अबाउट दी स्किन नामको इन्स्टाग्राममा पनि सार्वजनिक गरेको भिडियोमा उनले भनेकी छन्,'विजेता भइसकेपछि एकदिन त्यही अब्यूजरले मलाई फोन गर्‍यो । तिमी तयार भएर आउ, हामी सक्सेस पार्टी गर्दैछौं भन्यो । कुनै पनि कार्यक्रम भइसकेपछि त्यसको सक्सेस पार्टी गरिन्छ । म तयार भएर एभरेस्ट होटलमा गएँ ।'

होटल पुगेपछि उनले त्यहाँ कोही देखिनन् । 'तिमी चाँडै आयौ, पार्टी ६/७ बजेबाट सुरु हुन्छ,'उक्त यौन दुर्व्यवहार गर्ने व्यक्तिले प्रयोग गरेको वाक्य सम्झँदै उनले भनेकी छिन्,'त्यसपछि उसले मलाई लेमोनेड खान अफर गर्‍यो । त्यो वेलकम ड्रिंक हो भनेर भन्यो । मैले पिएँ । त्यसपछि १०/१५ मिनेटपछि मलाई रिंग्यायो । त्यसपछि मैले त्यो यौन दूराचारीलाई घर जान चाहन्छु म ठीक छुइन भनेर भनें । तिमी विजेता भएर यस्तो गर्ने भनेर मलाई गाली गर्‍यो । पार्टीमा केटीहरुलाई यस्तै होला भनेर अर्को कोठा लिएर राखेको छु । तिमी त्यहाँ गएर आराम गर, सबैजना आएपछि तिमीलाई उठाउन कसैलाई पठाउँछु भनेर मलाई भन्यो ।'

उनी त्यही कोठामा गइन् । त्यतिबेला उनी १६ वर्षकी थिइन् । उनको नागरिकतासमेत बनेको थिएन । 'मलाई त्यतिबेलाको याद भएको भनेको मेरो घरिघरि होस खुलिरहेको थियो । उसले शारीरिक सम्बन्ध राखिरहेको थियो । मलाई एकदम दुखिरहेको थियो । ४:३०/५:३० तिर मेरो होस खुल्यो । त्यो व्यक्ति मेरो छेउमा नग्न सुतिरहेको मैले देखें । ओछ्यानमा रगत लागेको थियो । त्यसपछि म एकदम ठूल्ठूलो आवाजमा रुन थालें,'आँखाभरि आँसु बनाउँदै युवतीले घटनाबारे भनेकी छन्,'त्यो मान्छेले मैले तिम्रो ब्यागमा २० हजार हालिदिएको छु । तिमी यो पैसा राख। तिमीलाई पैसा चाहिएको थियो त्यसैले तिमीले मलाई शारीरिक सम्बन्ध राख्न भन्यौ भनेर उसले मलाई म्यानिपुलेट गर्‍यो । म ढोकाको अगाडि उभिरहेको थिएँ, ढोका बन्द थियो । म घरि त्यो व्यक्तिलाई हेर्दै थिएँ घरि त्यो पैसालाई । आफैंलाई ऐनामा हेरिरहेको थिएँ । मसँग के भयो भन्ने कुरामाथि मलाई विश्वास लागिरहेको थिएन । म पनि बलात्कृत हुन सक्छु भन्ने कुरामा मलाई विश्वास नै लागिरहेको थिएन ।'

त्यो घट्नापछि नग्न तस्बिर र भिडियो सार्वजनिक गरिदिन्छु भन्दै उक्त व्यक्तिले ६ महिनासम्म लगातार आफूमाथि दुर्व्यवहार गरेको पनि उनको दाबी छ । 'उसले मेरो तस्बिर/भिडियो लिएको र यसबारे कसैलाई भन्यो भने तस्बिर सार्वजनिक गरिदिन्छु । एकदम चलेको अनलाइनमा मेरो फोटोग्राफर साथी छ भन्यो । म एकदम डराएको थिएँ । एकदम असहाय अनुभव भयो ।म रुन पनि सकिनँ । मेरो शरीर जमेको जस्तो भएको थियो । मैले कपडा लगाएँ । उसले नै ट्याक्सी बोलाइदियो । मेरो मोबाइलमा परिवारको २ सय भन्दा बढी मिस्डकल थियो,'उनले भनेकी छन् । उक्त व्यक्तिले आफ्नो साथीसँग पनि उनलाई शारीरिक सम्बन्ध राख्न लगाइएको कुरा पनि उनले बताइदिएकी छन् । त्यतिबेला आफू सम्बन्धमा रहेको प्रेम 'खड्का' र उनले उक्त व्यक्तिको कन्सल्टेन्सीमै पुगेर पुराना भिडियो र तस्बिर डिलिट गर्न लगाएको कुरा उनले भिडियोमा बेलिविस्तार लगाएकी छन् । त्यहीबेला कोरियोग्राफरसमेत रहेकी पूर्व मिस नेपाललाई सहयोगका लागि कुरा गर्दा उल्टै आफैंलाई दोष लगाएको कुरा उनले सार्वजनिक गरेसँगै पूर्वमिस नेपाल माल्भिका सुब्बा यो घटनामा जोडेकी छन् ।

'त्यसपछि मैले त्यो 'मिस नेपाल'लाई फोन गरें । मैले भने म्याम यो व्यक्तिले मलाई यस्तो-यस्तो गरेको छ । ६ महिनासम्म यस्तो गर्‍यो । म बल्ल यो सत्यता बाहिर निकाल्दैछु । म्याम हामी उसको अफिसमा छौं । कृपया आउनुस् अनि मलाई सहयोग गर्नुहोस् भन्दाखेरि उनले के भनेकी थिइन् म त्यो शब्द नै भन्न चाहन्छु,'भिडियोको भाग ३ मा उनले उक्त घटना सम्झँदै भनेकी छन्,'तिमी किन यो सबै मलाई सुनाउँदैछौ । तिमी बलात्कृत हुनु त तिम्रो समस्या हो । यो मेरो समस्या होइन, मलाई किन सुनाइरहेको ।'

त्यतिबेला पूर्व मिस नेपाल माल्भिका सुब्बाले उनलाई यस्तो भनेको कुरा खुलेसँगै सामाजिक सञ्जालमा चर्को विरोध भयो । माल्भिकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत लामो पोस्ट लेख्दै क्षमायाचना मागेकी छिन् । 'एकदमै दु:ख लागेको छ । मलाई विस्तृतमा त थाहा छैन । तर तिमीले मलाई कल गरेको थियौ र आफ्नो अब्युजरको बारेको भनेकी थियौ । तर मैले त्यतिबेला तिमीलाई सहयोग गरिनँ जतिबेला तिमीलाई मेरो आवश्यकता थियो । त्यो क्षमालायक होइन । मलाई क्षमा गरिदेउ भन्ने आश पनि गर्दिनँ । तिमीलाई मैले सुनिनँ, विश्वास गरिनँ, सहयोग गरिनँ, त्यसमा एकदमै माफी माग्न चाहन्छु । तिमीलाई सहयोग नगरेर तिमीले भोगेको अन्यायमा साथ दिएँ भन्ने कुरामा स्वीकार गर्छु,'माल्भिकाले लेखेकी छन्,'तिमीसँग क्षमा पाउन एकदमै ढिला भइसक्यो भन्ने मैले बुझेको छु। तर अहिले म तिमी यो कुराबाट बाहिर निस्केको देख्न चाहन्छु । त्यतिबेला मैले गर्नुपर्ने कुरा म गर्छु । त्यतिबेलासम्म म लैंगिक विभेद र यौन दुर्व्यवहारको हरेक प्लेटफर्मबाट हट्न चाहन्छु ।'

त्यस्तै त्यतिबेला उनको तस्वीर खिचिदिने फोटोग्राफर श्रीधर पौडेलले पनि सामाजिक सञ्जालमार्फत मनोज पाण्डेको अनुरोधमा आफूले तस्वीर खिचिदिएको तर एजेन्सी र क्लाइन्टबीचको सम्झौतासँग आफ्नो सरोकार नभएको दाबी गरेका छन् । 'म पेशाले व्यवसायिक फोटोग्राफर हुँ । विभिन्न इभेन्ट तथा व्यक्तिहरुको फोटोसुट गर्नु मेरो व्यावसायिक धर्म हो । त्यसैक्रममा अल अबाउटदिस्किनको फोटोसुट गरिदिनपर्‍यो भनि मनोज पाण्डेले अनुरोध गरेपछि मैले काम गर्ने अनलाइनखबरको स्टूडियोमा फोटो खिचिदिएको हो । त्यसबापतमा मैले मेरो पारिश्रमिक लिएको हुँ । भिडियोमा दुवैजना मिलेर फोटो खिचेको र पाँच हजार दिएको भनेकी छिन्। यसमा मेरो संलग्नता भनेको स्टुडियोमा फोटो खिचिदिने र त्यसबापत पाण्डेसँग पारिश्रमिक लिने हो। एजेन्सी र क्लाइन्टविच के कति पारिश्रमिकमा कुरा भएको हुन्छ त्यसमा मेरो सरोकार हुन्न ।' युवतीले कन्सल्टेन्सीमै पुगेर यौन दुर्व्यवहारको कुरा सार्वजनिक गरिसकेपछि आफूले उक्त व्यक्तिलाई आइन्दा दुर्व्यवहार नगर्नुस् भन्दै हिँडेकोसमेत उल्लेख गरेका छन् ।

आफूले सार्वजनिक गरेको भिडियोमा उक्त युवतीले डिल्लीबजारमा रहेको अर्को एजेन्सीले पनि आफ्नो दुर्व्यवहार गरेको कुरा खुलाएकी छन् । उक्त घटनापछि आफूले मोडल बन्ने सपना नदेखेको उनको दाबी छ । 'त्यतिबेला मलाई लाग्यो यो इन्डस्ट्री नै यस्तै छ । सबैजना यही बाटो भएर जान्छन् । सायद उनीहरु यो कुरासँग ओके छन् । तर मलाई यो कुरा चाहिँदैन। यो इन्डस्ट्रीमा केही चाहिँदैन भनेर मैले अभिनेत्री बन्ने मेरो सपनाको ढोका बन्द गरें,'उनी भन्छिन्,'त्यतिबेला मलाई कसैले सहयोग गरेन । सायद त्यो मेरो गल्ती थियो । त्यो सौन्दर्य प्रतियोगितामा जानु मेरो गल्ती थियो । त्यो लेमोनेड खानु गल्ती थियो । तर मलाई अहिले लाग्छ त्यो मेरो गल्ती थिएन।'

मास्टर इन काउन्सिलिङ साइकोलोजी पढिरहेकी उक्त युवतीले दुर्व्यवहारको कुरा मनभित्रै राख्दा आफू निको हुन नसकेको बताउँदै युवा उमेरका इन्फ्लुएन्सर परिवारसहित अगाडि बढ्न सुझाव दिएकी छन् । 'मैले यो कुराहरु धेरै वर्ष मेरो मनभित्र राखें । र म सन्चो भइनँ । म भइनँ नि त सन्चो । मैले कति पैसा खर्च गरेर थेरापी गरें । कति औषधि खाएँ । म सन्चो भएँ त । भइनँ नि त,'भावुक हुँदै भनेकी छन्,'टिकटकमा बालबालिकाहरूले स्पोन्सर पाएको सुटिङमा गएको देख्छु । तर म उनीहरुका लागि चिन्तित हुन्छु । यदि तपाईंहरु इन्फ्लुएन्सर हौ, अभिनेत्री बन्न चाहन्छौ अथवा मोडल कृपया आफ्नो आमालाई नलिई कहीँ पनि नजाउँ । मैले गरेको गल्ती नगर ।'

युवतीले आफूमाथि भएको दुर्व्यवहारको कुरा सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा उनलाई साथ दिनेहरू बढेका छन् । 'तिम्रो कथा सुनेर हृदय दुखेको छ । त्यो समयमा फर्केर त्यो घटनामा तिम्रो गल्ती छैन भन्ने मन छ । तिमीलाई सुन्न, सुरक्षा दिन र न्याय दिलाउन असफल भएकोमा माफी माग्न चाहन्छु,'पूर्व मिस नेपाल श्रृंखला खतिवडाले इन्स्टाग्रामको स्टोरीमा लेखेकी छन्,'बलात्कार भएको १ वर्षभित्रमा कानुनी प्रक्रियामा आउनुपर्ने हाम्रो कानुनको सीमितता भए पनि हाम्रो सामाजिक न्याय अझै बाँकी छ । तिमी यो लडाईंमा एक्लै छैनौ । सबैले तिमीलाई उक्त यौन दुराचारीबारे मिडियो बोलेको भन्दै साहसिक भन्दैछन् । तर म तिमीलाई त्यस्तो भन्दिनँ । साहसिक हुनु तिम्रो बाध्यता थियो ।'

'आफ्नो सत्यता सुनाउन तिमी साहसिक भयौ । तिमीले सुनाएको सबै कथा मैले सुनें । तिम्रो कथाले मन दुख्यो । सर्भाइभरको रूपमा बाँच्ने तिम्रो अठोटलाई प्रशंसा गर्न चाहन्छु,'गायिका समृद्धि राईले लेखेकी छन्,'उनले आत्महत्याको दुस्प्रयाससमेत गरेको खुलाएकी छिन् । त्यसले उनी कति ट्रमामा थिइन्, कस्तो कुराहरुबाट गुज्रिइन् भन्ने पनि यसले देखाउँछ ।' अभिनेत्री ऋचा शर्मा, गायक रोबिन तामाङ, गायिका अभया सुब्बा र महिला अधिकारकर्मी प्रकृति भट्टराईलगायतले ती युवतीलाई साथ दिइरहेका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्

युद्धका डोब सम्झाउने कथा

'युद्ध भयो तर त्यसलाई पूर्ण रूपमा बिसाउन अझै सकिएको छैन । द्वन्द्व व्यवस्थापनका काम १५ वर्षदेखि अल्झेका अल्झियै छन् । टुप्लुक दैलोमा आफन्त आउलान् कि भन्ने पर्खाइमा बेपत्ताका परिवारले अझै बसेका छन् । नाटकमा रुपान्तरित चर्चित उपन्यास 'पल्पसा क्याफे'ले तीनै युद्धका डोबहरुलाई फेरि एकपटक सम्झाएको छ ।
रीना मोक्तान

काठमाडौँ — 'तिमी किन एक्लै बसेको, मजस्तै कसैलाई कुरिबसेको त होइन नि?' सामान्य भलाकुसारीमै हजुरआमा गम्भीर प्रश्न गर्छिन् । 'होइन, हजुरआमा,'पुस्तक खोज्दै गरेका दृश्यले जवाफ फर्काउँछ,'गाउँ नगएको धेरै भयो ।' 'घर जाँदै गर्नु, घरले पर्खिन्छ…' चर्खामा धागो मिलाउँदै हजुरआमा बोल्छिन् । 

जेलिएका धागो मिलाउन हजुरआमालाई सघाउन थाल्छन्, दृश्य । आफ्नो ग्यालरीमा आएकी एक युवतीले उनका चित्र(पेन्टिङ)का रङ कालो भएको प्रतिक्रिया दिएपछि पुरानो कलासंस्कृतिका सन्दर्भ पुस्तक खोज्दै दृश्य हजुरआमाकहाँ पुगेका हुन् । ती युवतीले चिसो पेन्टिङका पछाडि भित्ताका रङ कारक बनेको सुनाएपछि नै हो दृश्य त्यहाँ पुगेको । हजुरआमा धागो मिलाउँदै हुन्छिन्, दृश्यले पुस्तक खोतल्न थाल्छ । अनि खोतल्न थाल्छन्, कसैको पर्खाइमा बसेकी हजुरआमाका नखोतलिएका कुरा । त्यसपछि हजुरआमा र दृश्यको त्यो मिठो भेटबारे लेखिएको चिठी पार्श्व धून बनेर गुञ्जिन्छ । मण्डला थिएटरमा मञ्चनरत नाटक पल्पसा क्याफेको दृश्य हो यो ।

लेखक नारायण वाग्लेको उपन्यास 'पल्पसा क्याफे'लाई नाट्य रुपान्तरण गरेका हुन् सुरज सुवेदीले । युद्ध र प्रेमको सम्मिश्रण उपन्यासको नाममा विमल सुवेदीले नाटक निर्देशन गरेका छन् । पाठकले मानसपटलमा कोरिसकेका उही पुरानै पात्र, परिवेश र घटनाक्रमलाई उनले मञ्चमा उतार्ने प्रयास गरेका छन् । उपन्यासका पात्रलाई मञ्चमा उभ्याउँदा पाठक आफूले बाँचेको पात्र अनि परिवेशलाई दुरुस्तै देख्न रुचाउँछन् । त्यही पात्र र परिवेश मिल्दोजुल्दो नभइदिँदा पाठक हुँदै दर्शक बनेकाहरुलाई दृश्यमा भनिएका कथा खल्लो लाग्न सक्छ । तर, यो नाटकका लेखक अनि निर्देशकद्वय सुवेदीले भने 'पल्पसा क्याफे'का पाठकलाई केही हदसम्म उही पुरानै दृश्य, पल्पसा, सिद्धार्थसँग भेटाउने प्रयास गरेका छन् । नेपालको राजनीतिको महत्त्वपूर्ण कालखण्डमा उभिएर भनिएको दृश्य र पल्पसाबीचको प्रेम अनि युद्धका डोबहरुमा नाटकले दर्शकलाई डोहोर्‍याउँदै लान्छ ।

पुस्तकमा पल्पसा र दृश्यको प्रेममार्फत युद्धका परिवेश र घटनाहरू लेखिएका छन् । नाटकमा भने प्रेमभन्दा बढी द्वन्द्वका विषय समेटिएका छन् । नाटकको सुरुमै कलाकारहरु बेलुनलाई बेस्सरी मुसार्छन्, त्यसबाट निस्कने कर्कशपूर्ण आवाजले नै युद्ध कस्तो थियो भन्ने झल्को दिन्छ । बम पड्किन थाल्छ । पृष्ठभूमिमा युद्ध भूमिका चित्राकार सुनिन्छन् । युद्धको नमिठो धुनसँगै पृष्ठभूमिमा बज्ने बन्दुक, युद्धको कोलाहलले दर्शकको मुड युद्धतिर तानिन थाल्छ । त्यसपछि मञ्चमा देखा पर्छन् पल्पसा अनि दृश्य । गोवामा संयोगले भेटिन्छन् यी दुई । दृश्य पेशाले चित्राकार । काठमाडौंको कोलाहलबीच शान्त चित्र कोर्न सक्ने चित्रकार ।

अमेरिकाबाट नेपाल फर्किएकी पल्पसा दृश्यका चित्रका फ्यान । अमेरिकाको कथामा डकुमेन्ट्री बनाए पश्चिमा कथाहरुको दास बन्ने सोचले पल्पसालाई काठमाडौं फर्काएको हो । डकुमेन्ट्री फिल्ममेकिङमार्फत उनी आफ्नै देशका कथा भन्न चाहन्छिन् । गोवामा एकअर्कासँग ठोक्किएका यी दुई काठमाडौं फर्केपछि पनि भेटिरहन्छन् । अव्यक्त कुराहरुलाई चिठ्ठीमार्फत आदानप्रदान गर्छन् । चित्रमार्फत नजिक भएका उनी दुईको प्रेमलाई चिठ्ठीहरुले जोडदिन्छ । चिठ्ठीहरु अनि एकाध भेटबाट मौलाउँदै गएको पल्पसा र दृश्यको प्रेममा दुईको प्रेमबीच सशस्त्र संघर्ष मिसिँदै जान्छ । उत्कर्षमा पुग्दै गरेको युद्ध अनि पलाउँदै गरेको यी दुईको प्रेम 'पल्पसा क्याफे'मा प्रस्तुत छ ।

कृतिलाई दृश्यमा परिणत गर्दा कथाको मर्म मर्ने खालका थुप्रै प्रयासहरु विगतमा असफल बने । तर 'पल्पसा क्याफे'मा हजुरआमासँगको भेट, युद्धमा होमिन तयार किशोरी, दृश्यकहाँ सेल्टर माग्न आउने साथी सिद्धार्थ, मीत बा र आमालाई भेट्न जाँदाका घटनाक्रम छुटेका छैनन् । उपन्यासको मर्म समेटिएकै कारण मञ्चमा पल्पसा क्याफे अधुरो लाग्दैन । तर, दृश्य र पल्पसाबीचको प्रेमलाई उपन्यासमा झैं बलियो रूपमा प्रस्तुत गरिएको छैन । तर, युद्धकालको एउटा समय, परिवेश अनि त्यसबेलाका पात्रहरुले बाँचेको जीवनलाई भने नाटकले बोलिदिएको छ ।

थाल फ्याँक्दै गरेको बिम्बात्मक दृश्य निकै सशक्त पूर्ण ढंगले देखाइएका छन् । थालहरू एकापसमा ठोक्किन्छन् । चर्को आवाज गुञ्जिन्छ । दुई विचारको ठक्कर, दुई सिद्धान्तको द्वन्द्व, युद्धमा लडेका दुई पक्षको प्रतिनिधित्व गर्ने उक्त दृश्यमा थालहरू ठोक्किँदाको आवाजले युद्धको कोलाहल देखाइदिन्छ । त्यही दृश्यलाई निकै कलात्मक ढंगले युद्धका लागि तयार भएकी किशोरीसँग जोडिदिएको छ । शब्द जति सशक्त हुन्छन्, दृश्य त्यो भन्दा बढी शक्तिशाली हुन्छ भन्ने कुराको उदाहरण हो यो । युद्धका कमान्डर सिद्धार्थको मृत्युलाई पनि कलात्मक रुपले प्रस्तुत गरिएको छ ।

सेना र जनयुद्धका लडाकुबीचको द्वन्द्वलाई गीतहरुमार्फत निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ । स्टेजको दायाँपट्टि उभिएका जनयुद्धका लडाकुहरु गाउँछन्,'हातमा कलम हुनेहरु कलम लिएर उठ। बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ । गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ । यो देशको मुहार फेर्नलाई उठ…।' त्यसपछि सेनाहरु गाउँछन्,'रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो…।'

नाटकले द्वन्द्वकालले छोडिदिएको आघात, घाउहरुलाई सम्झाइदिन्छ । हुर्कँदै गरेको छोरीलाई जनयुद्धमा पठाउँदा एक बुवाले झारेको आँसु र पीडालाई देखाइदिन्छ । बारुदका आवाज । पर्दामा देखाइने थोत्रा गोल्डस्टार । आफ्नाहरुलाई गुमाउनेहरुको त्रास । दुई पक्षको युद्धका बीचमा पिल्सिएका जनता । मारिएकाहरुको लास । परिवर्तनका लागि क्रान्ति गरेका सिद्धार्थहरु । गलत व्यवस्था सच्याउन हिँडेकाहरुको अनुहार नाटकमा प्रस्तुत गरिएको छ । युद्ध केका लागि र कसका लागि गरियो, कस्ता व्यवस्थाको विरुद्ध थियो युद्ध ? अनुत्तरित यीनै प्रश्नहरूमाथि सोच्न बाध्य पार्छ नाटकले ।

सेल्टर लिन आएको सिद्धार्थले पहिरेको सफा चिट्टिक्क लुगालाई खोलिँदा देखिने रगतका दागहरुले युद्धमा बगेका रगत झल्को दिन्छ । उक्त दृश्यमा क्रान्तिका लागि लड्दै गरेको सिद्धार्थलाई दृश्यले भन्छ,' तिम्रो यो युद्धमा जनता मर्दैछन् । निर्दोष जनता मारेर आएको व्यवस्थामा केही नयाँ चिज हुन सक्दैन । युद्ध हिँड्ने बाटोमा को-को हराए, को-को डराए, को-को पुरिए, विश्व नै हतियारबद्ध छ । यहाँ मान्छेको हिसाब, मान्छेको हिसाब कसले गर्ने ?'

युद्धको समयमा बिहान घरबाट हिँडेकाहरू फर्केर आएनन् । आउँछु भनेर पर्खाउनेहरू फर्किएनन् । उनीहरूलाई पर्खिरहेकाहरूको आवाजमा दृश्यले बोल्छ, 'हो त हजुरआमा एउटा सिंगै मान्छे त्यसै कहाँ हराउँछ । उ हराउन त, धेरै मान्छेहरू चुप बस्नुपर्छ । उ हराउन त धेरै चिजहरु चुप बस्नुपर्छ । हराउँदै गरेको उसलाई कसै न कसैले त देखेको होला । हराउँदै गरेको उसलाई कसै न कसैले त सुनेको होला ?

युद्धमा बेपत्ता छानबिन र सत्य निरूपणका लागि दुई छुट्टाछुट्टै आयोग बनेका थिए। सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६० हजारभन्दा बढी उजुरी परे । तर निकै थोरै घटनामा मात्र छानबिन भएको छ । युद्धमा विद्रोही शक्ति, प्रहरी/सेना र सर्वसाधारण गरी १७ हजारभन्दा बढी मारिए, सयौं बेपत्ता पारिए । करिब १ दशक चलेको राज्य र विद्रोही शक्तिबीचको युद्ध २०६३ साल मंसिर ५ गते शान्ति सम्झौता भएपछि टुंगियो । विद्रोही शक्ति पटक-पटक सरकारमा आए । तर द्वन्द्वका अवशेष अझै बाँकी छन् ।

नाटकमा भनिएझैं युद्ध सुरु गरियो, तर त्यसलाई पूर्ण रूपमा बिसाउन अझै सकिएको छैन । द्वन्द्व व्यवस्थापनका काम अझै बाँकी छन् । टुप्लुक दैलोमा आफन्त आउलान् कि भन्ने पर्खाइमा बेपत्ता परिवार अझै बसेका छन् । आफन्त गुमाएकाहरू न्याय निरुपणको पर्खाइमा छन् । युद्धमा घाइते भएका व्यक्तिहरू शरीरमा गोली र छर्रा बोकेर बसिरहेका छन् । अनि युद्धमा होमिँदै गरेकी छोरीलाई बाबुले सम्झाएको नाटकको एक संवाद समयसान्दर्भिक लाग्छ, 'छोरी शरीरमा गोली बोकेर कहिल्यै नहिँड्नु । त्यसले जीवनभर पोलिरहन्छ ।'

अडियोमा वाचन हुने चिठ्ठी, डिजिटल प्रोजेक्सनमा देखाइने चित्र अनि जीवन्त लाग्ने पात्रहरुमार्फत मञ्चमा द्वन्द्वको वास्तविक स्वरूप र दु:ख देखाइदिएको छ । 'ल्यामपोस्टमुनि आगो तापिरहेछन् नानीहरु । युगौंदेखि छ जाडो…'बोलको गीत, मिठा संवाद, बिम्बको बेजोड प्रयोग गरिएको यो नाटकमा दर्शकहरूका लागि अवसर हो, युद्धलाई फर्केर हेर्ने । अनि प्रश्न गर्ने, व्यवस्था फेरिए, क्रान्ति सकियो के युद्धले खोजेको परिवर्तन आयो ? ।नाटकमा प्रप्सहरुका प्रयोग प्रशंसालायक पक्ष हुन् ।

हजुरआमासँगको भेटमा दृश्यले प्रयोग गर्ने पुस्तकहरू त्यसका उदाहरण हुन् । आफ्नो अभिनयमार्फत संगीता थापाले सबैभन्दा बढी दर्शकको ध्यान तानेकी छन् । उनले हजुरआमाको अभिनयलाई सशक्त ढंगले प्रस्तुत गरेकी छन् । सानी 'फुच्ची' को भूमिकामा पूर्णिमा आचार्यले गरेको अभिनय उम्दा लाग्छ । पल्पसाको भूमिकामा सृष्टि श्रेष्ठ र दृश्यको भूमिका निर्वाह गरेका निर्देशक विमल सुवेदीको अभिनय पनि प्रशंसनीय नै छ ।

प्रकाशित : वैशाख १९, २०७९ १७:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×