दलाई लामा भेटेर काठमाडौं आउँदै अमेरिकी उपमन्त्री जिया

जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकाको वासिङ्टन डीसीबाट भारतको नयाँ दिल्ली हुँदै हिमाञ्चलस्थित धर्मशालामा पुगेर दलाई लामालाई भेटि शुक्रबार नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरुका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया काठमाडौं उत्रदै छिन् ।

दलाई लामा भेटेर काठमाडौं आउँदै अमेरिकी उपमन्त्री जिया

मंगलबार नयाँदिल्ली उत्रिएकी उनी बुधबार धर्मशाला पुगेकी थिइन् । त्यहाँ उपमन्त्री जियाले निवार्सित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसहित अन्य प्रतिनिधिहरुसँग बिहीबार बिहान भेटवार्ता गरिन् । उनी धर्मशालाबाट दिल्ली फर्केर शुक्रबार काठमाडौं आउन लागेकी हुन् ।

उपमन्त्री जियाको भ्रमण झन्डै एक दशकमा नेपालमा हुन लागेको अमेरिकी अधिकारीहरुको उच्चस्तरीय भ्रमण हो । नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाईरहँदा उनी नेपालमा आउन लागेकी हुन् ।

अमेरिकी विदेश मन्त्रालयकाअनुसार जियाको भ्रमणमा मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकताहरू अगाडि बढाउन भारत र नेपालमा केन्द्रित हुने उल्लेख थियो । सोहि पृष्ठभूमिलाई टेकेर उनले भारतमा रहेका तिब्बतीहरु र १४ औं दलाई लामासँग धर्मशालामै पुगेर भेटवार्ता गरेकी हुन् । उपमन्त्री जियाले नेपाल सरकारका उच्च अधिकारीहरुसहित तिब्बती शरणार्थीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले बतायो ।

भूराजनीतिक जानकार तथा अवकाश प्राप्त उपरथी विनोज बस्न्यातले उपमन्त्री जियाको भ्रमणलाई अमेरिकीले मुख्य गरि भारत र नेपालमा रहेका तिब्बती शरणार्थीहरुको सवालमा पनि केन्द्रित हुने बताए ।

‘पछिल्लो समय अमेरिका चीनलाई सन्तुलनमा राख्नको लागि पनि नेपाल र भारतमा तिब्बती शरणार्थीका मुद्दालाई उठान गर्नुको साथै मानव अधिकार सम्बन्धित मुद्दाहरुलाई अघि बढाउन खोजेको देखिन्छ,’ उनको टिप्पणी थियो ।

केन्द्रीय तिब्बती प्रशासनकाअनुसार बिहीबार बिहान तिब्बती मुद्दाहरूको लागि अमेरिकी विशेष संयोजक जियाले धर्मशालाको म्याक्लियोड गञ्जमा रहेको दलाई लामाको आधिकारिक निवासमा द्विपक्षीय भेटवार्ता गरेका हुन् । ‘कार्यक्रममा निवार्सित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङलगायत अन्य प्रतिनिधि र अमेरिकी विशेष संयोजकको प्रतिनिधिमण्डलका सदस्यहरुको पनि उपस्थिति रहेको थियो,’ प्रशासनको बेबसाइटमा उल्लेख गरिएको छ ।

छोटो भेटवार्ताका दौरानमा अमेरिकी विशेष संयोजकले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी जनताले दलाई लामालाई शुभकामना व्यक्त गरे । उनले दलाई लामाको सुस्वास्थ्यको कामना गर्दै लामाले दिएको शान्ति सन्देशका लागि विश्वप्रति कृतज्ञता व्यक्त गरेकी थिइन् ।

एक महिना अघि तिब्बती निर्वासित नेता पेन्पा छिरिङले वासिङटन डीसी पुगेर जियालाई भेटेका थिए । तिब्बतको भारत–आधारित निर्वासित सरकार केन्द्रीय तिब्बत प्रशासनका निर्वाचित प्रमुख छिरिङले अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी र अन्य सांसदहरुलाई पनि भेटेका थिए । नेपालको उत्तरी छिमेकी चीनले १४ औं दलाई लामालाई धर्मको आडमा तिब्बतलाई चीनबाट छुट्याउने प्रयास गर्न राजनीतिक निर्वासन आरोप लगाउँदै आइरहेको छ ।

जिया गत वर्ष जुलाई १४ मा विदेश मन्त्री एन्टोनी ब्लिन्केनले नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकारका लागि उपमन्त्रीको रुपमा नियुक्त गरेका थिए । उनी डिसेम्बरमा तिब्बती मुद्दाहरूको लागि अमेरिकी विशेष संयोजक पनि भइन् ।

सुरुआतदेखि नै चीनको कडा आपत्तिका बाबजुद अमेरिकाले तिब्बती शरणार्थीहरुलाई निरन्तर सहयोग प्रदान गर्दै आइरहेको छ । सन् २०२० मा अमेरिकाले दलाई लामाको उत्तराधिकारी छनोट गर्ने र तिब्बतको वातावरण संरक्षण गर्ने तिब्बती जनताको पूर्ण अधिकारलाई फेरि पुष्टि गर्ने कानुन जारी गरेको थियो ।

अमेरिकी कंग्रेसले विधेयक पारित गरेपछि चीनले वासिङ्टनमाथि आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएर विरोध जनायो ।

सन् १९५९ देखि १४ औं दलाई लामा धर्मशालामा निर्वासन भएर बसेका छन् । गत वर्ष नयाँ दिल्ली आउँदा अमेरिकी विदेशमन्त्री ब्लिकेनले दलाई लामाका प्रतिनिधिहरुलाई पनि भेटेका थिए ।

नेपाल एक नीति नीतिमा प्रतिबद्ध

अमेरिकाले तिब्बती शरणार्थीको अधिकार र अन्य विषयमा कुरा उठाउँदै आए पनि नेपालले भने एक चीन नीतिमा आफ्नो प्रतिबद्धता स्पष्ट पार्दै आइरहेको छ । नेपालले राज्य संयन्त्रलाई नै प्रयोग गरेर तिब्बती शरणार्थीमार्फत् हुने चीन विरोध घटनालाई रोक्दै आइरहेको छ । नेपालले सुरक्षा निकाय परिचालन गरेर खम्पा विद्रोहलाई निस्तेज पारेको थियो । पछिल्लो समय तिब्बती शरणार्थीका घटनाहरु नेपालमा छिटफुट मात्र हुने गरेका छन् । एक चीन नीतिमा नेपालले लेखेको भूमिकालाई लिएर चीनले खुसी व्यक्त पनि गर्दै आइरहेको छ ।

नेपालमा बसोबास गर्ने तिब्बती शरणार्थीप्रति अमेरिकाले चिन्ता व्यक्त गर्दै नेपालमा रहेका करिब १० हजार तिब्बती शरणार्थीलाई परिचयपत्र उपलब्ध गराउन आग्रह गर्दै आइरहेको छ । तर एक चीन नीतिमा कटिबद्ध नेपालले सन् १९९५ देखि तिब्बती शरणार्थीलाई परिचयपत्र दिन बन्द गरेको छ । तिब्बती शरणार्थीलाई लिएर नेपालमा चीनको विशेष चासो छ । अमेरिकी उपमन्त्री तथा तिब्बती मामिला हेर्ने प्रमुखकै भ्रमणको पूर्व सन्ध्यामा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृह मन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेकी थिइन् । त्यस अवसरमा अमेरिकाबाट हुन लागेको भ्रमण र तिब्बती शरणार्थीका बारेमा समेत चिनियाँ राजदूत होउले कुरा उठाएको सुरक्षा स्रोतले बतायो । नेपाल सरकारले आफ्नो भूमिमा तिब्बतीहरुको चीनमात्र होइन, कुनै पनि मित्र राष्ट्रहरु विरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिबद्धता गर्दै आइरहेको छ ।

भूराजनीतिक जानकार बस्न्यात एक चीन नीतिलाई लिएर नेपालमा द्वविधा नभए पनि मानव अधिकारलाई लिएर केहि समस्या हुने प्रष्ट पारे । ‘नेपालले मानवअधिकारलाई सुनिश्चित गर्नुपर्छ भन्दै अन्तर्राष्ट्रिय रुपमै हस्ताक्षर गरेको छ । त्यसले गर्दा नेपालमा मानवको मावन अधिकारलाई सुनिश्चित गर्नु हाम्रो जिम्मेवारी हो,’ उनले भने ।

उच्च तहमा अमेरिकी भ्रमण हुँदै

उपमन्त्री जियाको भ्रमण झन्डै एक दशकमा नेपालमा हुन लागेको अमेरिकी अधिकारीहरुको उच्चस्तरीय भ्रमण हो । उनीसँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि भ्रमणको प्रतिनिधिमण्डलमा आउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो समय अमेरिकाबाट उच्च तहको भ्रमण भइरहेको छ । यस अघि वैशाखको ९ देखि ११ सम्म सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय सांसदहरुको टोलीले नेपालको भ्रमण गरेको थियो । वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेश मन्त्री केली केइडरलिङले नेपालको भ्रमण गरेकी थिइन् । त्यस अघि नेपालले फागुन १५ मा एमसीसी अनुमोदन गर्नु अघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गरेका थिए ।

नेपाल–अमेरिकाको सन् १९४७ अप्रिल २५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसअघि सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी शेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए । सन् २००२ मा तत्कालिन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यसयता त्यहि उच्चस्तरको अमेरिकी पक्षबाट नेपालमा भ्रमण हुन सकेको छैन । त्यस यता राजा महेन्द्रले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा) र राजा वीरेन्द्र (सन् १९८३ मा) ले एक पटक राजकीय भ्रमण गरेका थिए । त्यसपछि नेपालबाट राष्ट्रप्रमुखको रुपमा कसैले पनि अमेरिकाको भ्रमण गरेका छैनन् । सरकार प्रमुखको रुपमा भने शेरबहादुर देउवाले सन् २००२ मा प्रधानमन्त्रीको हैसियतमा भ्रमण गरेका थिए ।

नेपालबाट पछिल्लो पटक चार वर्ष अघि सन् २०१८ मा (२०७५, पुस ३–५) तत्कालिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरले दुई पटक (सन् २००७ र २००८) मा नेपालको भ्रमण गरेका थिए । उनी त्यस बेला कार्टर सेन्टरको संस्थापकको रुपमा आएका थिए । अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्रेउले सन् १९७० मा नेपालको भ्रमण गरेका थिए । सन् १९७५ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी श्रीमति (फस्टलेडी) को हैसियतमा हिलारी नेपाल आएकी थिइन् । अमेरिकाका लागि नेपालका पूर्व राजदूत अर्जुन कार्की भने दुवै मुलुकले कुटनीतिक सम्बन्धको ७५ औं वर्षलाई विशेष रुपमा मनाउन लागेको मान्छन् । ‘यसले दुई मुलुकबीच हाम्रो राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र जनस्तरका सम्बन्धहरुलाई पनि थप मजबुद बनाउँदै लाने छ । दुबै मुलुकले उच्च तहको भ्रमणलाई प्राथमिकतामा राख्नुले दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउनको लागि सहि सन्देश दिन्छ,’ उनले टिप्पणी गरे ।



प्रकाशित : जेष्ठ ५, २०७९ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?