२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

देशका निम्ति सोच्‍न सांसदहरूको आग्रह

रासस

काठमाडौँ — राष्ट्रियसभा सांसदहरूले सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोपभन्दा माथि उठेर राजनीतिक दलका शीर्षनेताहरूले देशको आर्थिक विकाससँगै समग्र विकासको निम्ति लाग्न आग्रह गरेका छन् ।

देशका निम्ति सोच्‍न सांसदहरूको आग्रह

सभाको बिहीबार तेस्रो बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले भने, “कोभिड, युक्रेन–रसियाबीच भएको युद्धले गर्दा विश्वकै आर्थिक अवस्था संकटमा परेको छ, राजनीतिक दल र दलका नेताहरू आपसमा आरोप–प्रत्यारोपलाई छाडेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने छ, सबै मिलेर देश बनाऔं, सत्तापक्ष र प्रतिपक्षबाट माथि उठौं ।”

प्रतिनिधिसभाबारे सर्वोच्च अदालतले गरेको निर्णयपछि राजनीति एउटा गतिमा अघि बढेको उनले बताए । उनले भने, “प्रतिपक्ष दललाई आग्रह गर्न चाहन्छु, प्रतिपक्षको काम विरोध गर्नेमात्रै होइन, सकारात्मक सुझाव पनि दिनुपर्छ प्रतिपक्षले ।” उनले वर्तमान सरकार गठन भएपछि राजनीतिक स्थिरता आएको बताउँदै देशको विकासका निम्ति राष्ट्रिय सहमतिको विकल्प नरहेको जिकिर गरे ।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट बोल्दै सांसद नारायणकाजी श्रेष्ठले दलहरूले आत्मसमीक्षा गरेर कमीकमजोरी सच्याउँदै देशको आर्थिक विकासमा अगाडि बढ्नुपर्ने धारणा राखे । उनले भने, “चुनावमा कसैले जित्ने वा हार्नेभन्दा पनि चुनाव शान्तिपूर्ण, निष्पक्षरूपमा सम्पन्न भयो, संविधान कार्यान्वयनलाई नयाँ ढंगबाट अगाडि बढाउनु मुख्य विषय हो ।”

उनले उत्पादन र रोजगारीसँग विकासलाई जोडेर स्थानीय तहले विकासको मोडललाई अगाडि बढाउनुपर्ने बताए । राष्ट्रिय नीति, कूटनीति र राष्ट्रियतालाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुनेमा उनले जोड दिए । उनले आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सुझाव दिँदै उनले भ्रष्टाचारको प्रभावकारी कार्यान्वयन र नियन्त्रण गर्नेमा बजेट केन्द्रित हुनुपर्ने बताए ।

आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुनेछ ।

प्रकाशित : जेष्ठ ५, २०७९ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?