प्रस्तावित राजदूतद्वय तुलाधर र ढकाल संसदीय सुनुवाइमा

काठमाडौँ — रुसका लागि प्रस्तावित राजदूत मिलन तुलाधरले आफूले दुई मुलुकबीचको राजनीतिक सम्बन्ध बढाउन पहल गर्ने कार्ययोजना प्रस्तुत गरेका छन् ।
बुधबार संसदीय सुनुवाइ समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, क्षमता र कार्ययोजना पेश गर्दै प्रस्तावित राजदूत तुलाधरले रुससँग राजनीतिक सम्बन्ध बढाउन मुख्य जोड दिने बताए ।
उनले भारत र चीन दुवैसँग अत्यन्तै निकट सम्बन्ध कायम राख्न सफल रुससँग नेपालले पनि राजनीतिक सम्बन्ध बढाउँदा चीन र भारतसँगको सम्बन्धलाई अझै सन्तुलित बनाउन सघाउ पुग्ने पनि समितिमा उल्लेख गरे ।
नेपालले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाएर जानुको विकल्प नभएको भन्दै प्रस्तावित राजदूत तुलाधरले त्यो सम्बन्धलाई अझ सुदृढ बनाउन रुससँगको सम्बन्ध जरुरी रहेको स्मरण गराए ।
‘रुस एउटा यस्तो देश हो, भारतसँग पनि अत्यन्त निकट सम्बन्ध छ । र चीनसँग पनि उसको रणनीतिक सम्बन्ध छ । चीन र भारत दुवैसँग अत्यन्त निकट रहेर रुसले काम गरिराखेको छ । यसको अन्तर्राष्ट्रिय छवि के छ भने हिन्दु स्थानसँग पनि अत्यन्त राम्रो सम्बन्ध छ । चीनमा पनि एकदम राम्रो छ । त्यो भएकाले हामी नेपाल पनि चीन र भारतसँग मिलेरै जानुपर्ने देश हो । हामी यो भन्दा अलग भएर जान सक्दैनौं । चीन र भारतलाई सन्तुलनमा नराखिकन हामी जानै सक्दैनौं,' प्रस्तावित राजदूत तुलाधरले भने।
यस्तै संसदीय सुनुवाइ समितिको बैठकमा स्पेनका लागि प्रस्तावित राजदूत शर्मिला पराजुली ढकालले आफूले राजदूतका रुपमा कुनै पनि गलत काम नगर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
ओमानमा राजदूतको जिम्मेवारी लिँदा आफूले कुनै गल्ती नगरेको उल्लेख गर्दै उनले स्पेनमा पनि राजदूतको रुपमा कुनै पनि गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् । प्रस्तावित राजदूत ढकालले देश र जनताप्रति उत्तरदायी भएर लिइएको जिम्मेवारीलाई आफूले अन्यथा ठाउँमा दूरुपयोग गर्न नमिल्ने समेत बताइन् ।
‘अब हाम्रो फोकस भनेको हाई स्किल वर्कर हुनुपर्छ भन्ने नै हो । ओमानमा नेपालबाट चिकित्सकहरू जान थालिसकेका छन् । आफूले कहिल्यै पनि गलत काम गर्ने छैन । देश र जनताप्रति यतिधेरै उत्तरदायी भएपछि अन्यथा गर्ने कुरै हुँदैन,’ सुनुवाईको क्रममा ढकालले भनिन् ।
प्रकाशित : जेष्ठ ४, २०७९ १४:५६