नेपालका लागि भारतको नयाँ राजदूतमा 'चीन विज्ञ' श्रीवास्तव

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि भारतको नयाँ राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै श्रीवास्तवलाई नियुक्त गरेको जानकारी दिएको हो ।श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका छन् ।

पूर्वी एसिया मामिला हेर्ने अतिरिक्त सचिव कूटनीतिज्ञ श्रीवास्तव चीन विज्ञका रूपमा परिचित छन् । नेपालमा रहेका राजदुत विनय मोहन क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेपछि नेपालमा उक्त पद खाली थियो । हर्षवर्द्धन शृंगलाले अवकाश पाएपछि भारत सरकारले क्वात्रालाई विदेश सचिवको जिम्मेवारी दिएको हो ।

भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तवले नेपालसँगको सम्बन्धलाई सम्हाल्ने छन् । उनले यसअघि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछिको तनाव समाधानका लागि विशेष पहल गरेको भारतीय सञ्चार माध्यमले जनाएका थिए ।

नेपाली राजनीतिमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव बढिरहेका बेला श्रीवास्तवको कार्यकाल चुनौतीपूर्ण हुन सक्ने पनि हिन्दुस्तान टाइम्सले लेखेको थियो ।उनी मस्कोमा आयोजित सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलनका क्रममा भएको चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीचको साइडलाइन वार्तामा समेत श्रीवास्तव सहभागी थिए ।

प्रकाशित : जेष्ठ ३, २०७९ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्

ऋषिङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका श्रेष्ठ विजयी

सम्झना रसाइली

तनहुँ — जिल्लाको ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षतमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनु थापा निर्वाचित भएका हुन् । यसघिको निर्वाचनमा पनि दुवै जना निर्वाचित भएका थिए ।

अध्यक्षका उम्मेद्वार श्रेष्ठले तीन हजार ३३५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिराज कँडेलले दुई हजार ७९२ र स्वतन्त्र उम्मेदवार श्रीराम थापाले पुतली चिन्हबाट तीन हजार ३३ मत प्राप्त गरेका थिए ।

यस्तै, उपाध्यक्ष पदमा ४ हजार ४२९ मत प्राप्त गरी पुनः गिनु थापा विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार मधुप्रसाद थापाले तीन हजार ४८९ मत प्राप्त गरेका छन् ।

१८ हजार २३८ मतदाता रहेकोमा १० हजार ६७७ मत खसेको आठ वटा वडा मध्ये २, ३, ४, ५ र ६ नम्बर वडा नेपाली कांग्रेस, ७ र ८ नम्बर वडा स्वतन्त्र र १ नम्बर वडा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×