१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
नेपाल–अमेरिका सम्बन्धको ७५औं वर्षगाँठ

उपमन्त्री उज्रा जिया नेपाल आउँदै 

जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकी विदेश मन्त्रालयले नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले नेपालको तीनदिने भ्रमण गर्ने आधिकारिक मिति सार्वजनिक गरेको छ । उपमन्त्री जियाले जेठ ६ देखि ८ सम्म तीन दिने औपचारिक भ्रमण गर्न लागेकी हुन् ।

उपमन्त्री उज्रा जिया नेपाल आउँदै 

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा अमेरिकाबाट नेपालमा अर्को एक माथिल्लो तहको भ्रमण हुन लागेको हो । उक्त भ्रमणका सन्दर्भमा भने परराष्ट्र मन्त्रालयले कुनै पनि आधिकारिक धारणा बाहिर ल्याएको छैन । परराष्ट्र स्रोतका अनुसार भ्रमणका क्रममा उपमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र अन्य वरिष्ठ अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा बसोबास गर्ने तिब्बती शरणार्थीप्रति अमेरिकाले चिन्ता व्यक्त गर्दै नेपालमा रहेका करिब १० हजार तिब्बती शरणार्थीलाई परिचयपत्र उपलब्ध गराउन आग्रह गर्दै आइरहेको छ ।

तर ‘एक चीन नीति’मा कटिबद्ध नेपालले सन् १९९५ देखि तिब्बती शरणार्थीलाई परिचयपत्र दिन बन्द गरिसकेको छ । तिब्बती शरणार्थीलाई लिएर नेपालमा चीनको विशेष चासो छ । नेपाल सरकारले आफ्नो भूमिमा तिब्बतीहरुको कुनै पनि चीन विरोध कार्यक्रमलाई सम्पूर्ण राज्य संयन्त्र प्रयोग गर्दै रोक्दै आएको छ । साथै, नेपाल सरकारले आफ्नो भूमि कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिने पटक–पटक प्रतिबद्धता दिइरहेको छ ।

उपमन्त्री जियाको भ्रमण झन्डै एक दशकमा नेपालमा हुन लागेको अमेरिकी अधिकारीहरुको उच्चस्तरीय भ्रमण हो । नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाउन जुटेका छन् । लगत्तै अमेरिकाबाट एकपछि अर्को भ्रमण हुन थालेका छन् ।

यसअघि वैशाखको ९ देखि ११ सम्म सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय सांसदहरूको टोलीले नेपालको भ्रमण गरेको थियो । वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले नेपालको भ्रमण गरेकी थिइन् । त्यसअघि नेपालले फागुन १५ मा एमसीसी अनुमोदन गर्नु अघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गरेका थिए । नेपाल–अमेरिकाको सन् १९४७ अप्रिल २५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

यसअघि सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी शेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए । सन् २००२ मा तत्कालिन विदेश मन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यसयता त्यहि उच्चस्तरको अमेरिकी पक्षबाट नेपालमा भ्रमण हुन सकेको छैन ।

त्यसयता राजा महेन्द्रले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा) र राजा वीरेन्द्र (सन् १९८३ मा) ले एक पटक राजकीय भ्रणण गरेका थिए । त्यसपछि नेपालबाट राष्ट्रप्रमुखका रूपमा कसैले पनि अमेरिकाको भ्रमण गरेको छैन । सरकार प्रमुखको रूपमा भने शेरबहादुर देउवाले सन् २००२ मा प्रधानमन्त्रीको हैसियतमा भ्रमण गरेका थिए ।

नेपालबाट पछिल्लो पटक चार वर्षअघि सन् २०१८ मा (२०७५, पुस ३–५) तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए ।

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरले दुई पटक (सन् २००७ र २००८) मा नेपालको भ्रमण गरेका थिए । उनी त्यस बेला कार्टर सेन्टरको फाउन्डरको रुपमा आएका थिए ।

अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्रेउले सन् १९७० मा नेपालको भ्रमण गरेका थिए । सन् १९७५ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी श्रीमति (फस्टलेडी) को हैसियतमा हिलारी नेपाल आएकी थिइन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कूटनीतिक सम्बन्ध ७५औं वर्ष पुगेको अवसरमा अमेरिकाबाट अझै उच्च तहको भ्रमण हुन सक्ने आकलन गरिएको उल्लेख छ । उपमन्त्री जियासँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियालका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि भ्रमणको प्रतिनिधिमण्डलमा आउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

जियाले मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकताहरू अगाडि बढाउन भारत र नेपाल भ्रमण गर्न लागेको विदेश मन्त्रालयले जनाएको छ । उनले लोकतन्त्रका लागि शिखर सम्मेलनका लागि यो वर्षको कार्यकालमा भारत र नेपालसँग साझेदारी गर्ने विषयमा पनि छलफल गर्ने विदेश मन्त्रालयको प्रवक्ताको भनाइमा उल्लेख छ । जिया नेपाल आउनुअघि भारतले तीन दिने भ्रमण पूरा गर्ने छिन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?