कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जसले १५ वर्षसम्म शोषण भोगिरहिन्

लेबनानमा मुनामाथि सुरूदेखि नै कुटपिट भइरह्यो, परिवारसँग सम्पर्क गर्न दिइएन । जब श्रम शोषणबारे खबर बाहिरियो, कारबाही हुने डरले घरधनीले पूरा पारिश्रमिक नदिई नेपाल पठाइदिए ।
होम कार्की

काठमाडौँ — लेबनानमा पाइला टेकेदेखि नै मुना गिरीले आफ्नो स्वतन्त्रता गुमाइन् । उनी काम गर्ने घरका धनीले कोही कसैसँग भेट्न त परै जाओस्, बोली मिसाउन पनि दिएनन् । यसैगरी १५ वर्ष २ महिना बित्यो । अन्ततः अनेक प्रयासपछि उनीमाथि भइरहेको श्रम शोषणको खबर बाहिरी दुनियाँसम्म आइपुग्यो । तब मात्रै कारबाही हुने डरले घरधनीले पूरा ज्याला नदिई उनलाई तत्काल नेपाल पठाइदिए ।

जसले १५ वर्षसम्म शोषण भोगिरहिन्

गत अप्रिल २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा गिरीको हातमा ७ सय डलर मात्रै थियो । ‘ज्यानमा न एक जोडी लुगा छ, न खुट्टामा चप्पल नै । यत्रो वर्ष काम गरेर नांगेझारजस्तै बनाएर पठाइदिए,’ मुनाले भनिन्, ‘उनीहरूले एउटा टालो पनि दिन सक्तिनँ, सबै खोलेर जा भने ।’ डेढ दशक सकिनसकी दुःखजिलो गरे पनि मालिकबाट ६० हजार ७ सय डलर पाउन बाँकी रहेको उनले सुनाइन् ।

झापाकी ४३ वर्षीय मुना ४ जना स–साना छोराछोरी छाडेर सन् २००७ फेब्रुअरी २१ मा लेबनान गएकी थिइन् । उनी जहरातस्थित एन्टोइन र ग्रजिऐला माउवादको घरमा काम गर्थिन् । सुरुदेखि नै उनलाई परिवारसँग फोन सम्पर्क गर्न सहज भएन । ‘गएको १/२ वर्षपछि नै मलाई नेपाल आउन निकै मन थियो । कति पटक जान्छु भन्दा पनि रोकिरहे । जहिले पनि तेरो यहाँ कोही छैन, के गरी जान्छेस् भनिरहे,’ उनले भने, ‘मेरो साथमा कहिले पासपोर्ट भएन । त्यत्रो हिसाबकिताब थपिँदै पनि गयो । तर यहाँको कति हो डलर ? न पैसा चिन्छु न डलर चिन्छु । घरबाट बाहिर निस्कन दिइएको भए पो केही थाहा हुन्थ्यो ।’

ग्रजिऐलाकी छोरी सन्द्राको घरमा काम गरेकी एक फिलिपिनो घरेलु कामदारले पनि मुनामाथि निकै अत्याचार भएको बताइन् । ‘मुना अंग्रेजी भाषा बोल्न जान्थिनन् । उनको साथमा फोन पनि थिएन । तलब नै दिँदैनथे । कहिलेकाहीँ घरमा ३ मिनेट मात्रै कुराकानी गर्न दिइन्थ्यो,’ ती महिलाले भनिन्, ‘मालिक्नी उनीसँग धेरै जंगिने गर्थिन् । पिट्ने पनि गर्थिन् । त्यो थाहा पाएपछि म पनि डराएको थिएँ ।’ आफूसँगको कुराकानीपछि मुनाले त्यहाँस्थित श्रम एजेन्सीमा लगिदिन आग्रह गरेकी ती महिलाले सुनाइन् । ‘म पनि नयाँ थिएँ । एजेन्सीबारे केही थाहा थिएन । जब मलाई पहाडको घरमा लगाइयो । खाली काम, काम र काम मात्रै गराइयो । पेटभरि खाना खान पनि दिइएको थिएन । अनि मैले उनीहरूलाई छोडेर हिँडिदिएँ,’ ती महिलाले भनिन् ।

श्रीमान् छत्र गिरीको मृत्यु हुँदासमेत मुना घर आउन पाइनन् । छत्रको सन् २०१३ अगस्ट २२ मा मृत्यु भएको थियो । झन्डै एक महिनाअघि मात्रै मुनाको अवस्थाबारे दुबईमा कार्यरत उनकी छोरी चित्रकुमारीले सामाजिक संस्था ‘दिस इज द लेबनान’ लाई जानकारी गराएपछि मात्र उनीमाथि भइरहेको ज्यादती सार्वजनिक भएको हो । ‘जब हामीले मुनाको अवस्थाबारे थाहा पायौं, इजिप्टको कायरोस्थित नेपाली दूतावास र बेरुतस्थित अवैतानिक महावाणिज्य दूतको कार्यालयलाई गत अप्रिल ८ मा जानकारी दियौं,’ दिस इज द लेबनानका संस्थापक दीपेन्द्र उप्रेतीले भने, ‘हामीले सिधै मुनालाई काम लगाउने म्याडमसँग संवाद गर्न थाल्यौं ।’

लेबनानका लागि अवैतानिक महावाणिज्य दूत मोहम्मद गोजएलले मुनालाई लिएर कार्यालयमा उपस्थित हुन ग्रजिऐलालाई सूचित गरे । तर, उनी मुनालाई लिएर कार्यालय आउन सहमत भएनन् । अप्रिल १० मा मोहम्मदले अनुसन्धानका लागि वकिललाई घरमा पठाए । वकिलसमक्ष ग्रजिऐला मुनालाई लिएर अप्रिल २६ मा कार्यालय आउन तयार भए । तर, २५ अप्रिलमा नै बिनातलब नेपाल पठाइदिए । अचानक काठमाडौं उत्रिएकाले आमालाई लिनका लागि मुनाका छोरा मोहन झापादेखि काठमाडौं समयमै आउन सकेका थिएनन् । अन्ततः वर्षौंपछि आमा–छोराको भेट भयो । ‘मैले विमानस्थलमा भेट्दा मुनाको अगाडिको दाँत भाँचिएको थियो । शारीरिक रूपमा कमजोर देखिन्थिन्,’ दिस इज द लेबनानका प्रतिनिधि हरि उप्रेतीले भने, ‘यत्रो वर्ष खाली हात फर्कनुपरेको भन्दै निकैबेर रोएकी थिइन् ।’

मुनालाई काममा लगाउने माउवाद दम्पतीमाथि कारबाही गर्न त्यहाँस्थित महावाणिज्य दूतको कार्यालयले कानुनी बाटो लिने तयारी गरेको छ । मुनाले मुद्दा दायर गर्न कार्यालयलाई आफ्नोतर्फबाट कानुनी प्रतिनिधित्व गर्ने अधिकारसमेत दिइसकेकी छन् । कार्यालयले कुटपिट र शारीरिक हिंसा भएको भन्दै फरेन्सिक रिपोर्ट पनि बनाएर पठाएको छ ।

एन्टोइनले भने आफूहरूले मुनालाई सबै रकम भुक्तान गरिसकेको दाबी गर्दै आएकी छन् । ‘उसको तलब मासिक ३ सय डलर हो । ११ वर्षदेखि मात्रै मसँग काम गरिरहेकी थिइन् । उनको इच्छाअनुसार नै करारपत्र नवीकरण गरिरहेको हो,’ लेबनानस्थित अन्तर्राष्ट्रिय घरेलु श्रमिक महासंघका प्रतिनिधिसमक्ष उनले भनेकी थिइन्, ‘उनका छोरीहरूको उपचार गर्न पैसा पठाएका छौं । उसको मलेसिया बस्ने छोरीमाथि चक्कु प्रहार भएको थियो । केही पैसा भने अर्को छोरीलाई नेपालमा पनि पठाएका थियौं ।’ रकम पठाएको दाबी गरे पनि उनीहरूले त्यसको प्रमाण भने देखाउन सकेका छैनन् ।

मुनाले भने एन्टोइनको उक्त दाबीको खण्डन गरिन् । ‘म्याडमले आफू बच्न र पैसा नतिर्न बहानाबाजी गरिरहेकी छन्,’ मुनाले भनिन्, ‘म १५ वर्षसम्म एउटा घरभित्र कैदीजस्तो भएर बसें । संसारबाट अलग हुनुपर्‍यो । अहिले संसारसँग जोडिन त पाएँ तर आफ्नो मजदुरीको फल पाइनँ ।’

प्रकाशित : जेष्ठ ३, २०७९ ०६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?