कोभिडले रोकिएको हज यात्रा खुला 

काठमाडौँ — कोभिड संक्रमणका कारण अघिल्ला दुई वर्ष हज (तीर्थाटन) गर्न नपाएका नेपाली मुसलमानहरुले यो वर्ष हज गर्न पाउने भएका छन् । यो वर्षको हज असार २३–२८ मा हुनेछ । तर, हज गर्न नेपालबाट भने हजयात्री असार पहिलो साता नै साउदी अरबको जेद्दा हुँदै मक्का जानेछन् ।   

कोभिडले रोकिएको हज यात्रा खुला 

गृह मन्त्रालयमातहतको नेपाल हज समितिले हजमा जान चाहनेहरुलाई आवेदन दिन सूचना जारी गरेको छ । समितिका अध्यक्ष शमशेर मियाँका अनुसार सन् २०२२ को हज गर्न साउदी अरबले ५३७ जना (हज प्रतिनिधिमण्डलबाहेक) को कोटा तोकेको छ ।

सन् २०२० र त्यसभन्दा अगाडिका वर्षहरुमा हज गर्नका लागि आवेदन दिएका आवेदकमध्ये हजयात्रा गर्न नपाएका तथा अहिलेसम्म धरौटी रकम फिर्ता नलिएका तर ६५ वर्षभन्दा कम उमेरका पुरुष र महिलाले हज गर्न पाउनेछन् । हज यात्राका लागि साउदी सरकारले यो वर्षदेखि उमेर तोकेको हो ।

‘कोभिडविरुद्धको कुनै पनि खोप पूरा गरेकामध्येले जेठ १० भित्र आवेदन दिन सक्नेछन्,’ अध्यक्ष मियाँले कान्तिपुरसित भने, ‘यो पटक अनलाइन प्रणालीबाट समेत आवेदन दिन सक्ने व्यवस्था मिलाएका छौं ।’ समितिका अनुसार बढीमा ५ सय नयाँ आवेदकले आवेदन दिन सक्नेछन् । सम्बन्धित जिल्लाको प्रशासन कार्यालय र अनलाईनबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको हो ।

विगतमा हजयात्राका लागि आवेदन दिएका र शुल्क बुझाइसकेका र साउदी सरकारको नियमानुसार ६५ वर्षभन्दा कम उमेर भएका र कोभिडको पूरा डोज लगाएका आवेदकबाट कोटा पूरा नभएको अवस्थामा मात्र नयाँ आवेदकले हजयात्रा गर्न पाउनेछन् ।

नयाँ आवेदकले हजयात्राको शुल्क भने जम्मा गर्नुपर्ने छैन, तर हजयात्राको लागि छनोट भएका हरुले एकै पटक आवश्यक शुल्क एकमुष्ट जम्मा गर्नुपर्ने समितिका सदस्य सचिव कृष्ण पौडेलले बताए । हज यात्राका लागि बुझाउनुपर्ने शुल्क भने निर्धारण भइसकेको छैन ।

प्रकाशित : जेष्ठ २, २०७९ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?