६ सय पालिकामा तारजाली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ सय पालिकामा तारजाली

दलका कार्यकर्तामाथि अविश्वास बढ्दा सम्भावित दुर्घटना रोक्न कतै तारजाली, कतै सीसी क्यामराको निगरानी
प्रदेश ब्युरो

काठमाडौँ — चितवनको भरतपुर महानगरपालिकामा मतगणना चलिरहेको थियो । कभर्ड हलमा जारी गणना टुंगिनै लाग्दा माओवादी केन्द्रका प्रतिनिधिले अचानक मतपत्र च्यातेर चपाएपछि विवाद सुरु भयो । पुनः मतगणना हुँदा एमालेका देवी ज्ञवालीलाई पछि पार्दै माओवादीकी रेनु दाहालले प्रमुख पदमा जित हासिल गरिन् ।

२०७४ को ‘भरतपुर काण्ड’ पछि मतगणनास्थल सुरक्षाको विषय पेचिलो बन्यो । देशैभरका मतगणनास्थलमा सुरक्षाका लागि फलामे बार वा तारजाली राख्न निर्वाचन आयोगलाई त्यही एउटा घटना काफी बन्यो ।

मतगणना जारी रहेका ६ सय ३ स्थानीय तहमध्ये १२ वटाबाहेक सबै मतगणनास्थलमा तारजाली लगाइएको छ । केन्द्रीय सुरक्षा समितिबाट पारित कार्यविधिअनुसार ७१ हजारभन्दा धेरै नेपाली सेना, ३२ हजारभन्दा धेरै सशस्त्र प्रहरी, ६२ हजारभन्दा धेरै प्रहरी निर्वाचन सुरक्षामा खटिए पनि सबैजसो मतगणनास्थलमा तारजालीको प्रयोग गरिएको छ । भरतपुरमा हाल भरतपुर एक्स्पो सेन्टरको हलमा मतगणना चलिरहेको छ । जहाँ निर्वाचनअघिदेखि नै जिल्ला निर्वाचन कार्यालयले फलामका पाइपको सपोर्ट राखेर तारजाली नै वेल्डिङ गरेको थियो ।

गणक र मतदान अधिकृत जालीभित्र बस्छन्, दलका प्रतिनिधि जालीबाहिर बेन्चमा । फलामका डन्डीलाई भुइँ र छतमा वेल्डिङ गरेर जाली कसिएको छ । भित्रबाहिर गर्न ढोका बनाइएको छ, जहाँ दुईवटा चुकुल छन् । लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा तारबार र कडा सुरक्षा व्यवस्थाबीच मतगणना जारी छ । दाङका १० वटै पालिकामा तारजाली लगाएर गणना गर्ने व्यवस्था मिलाएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । ‘मतगणना असुरक्षित हुँदै गएपछि तारबार लगाउनुपरेको हो,’ उनले भने, ‘समयअनुसार सुरक्षा सतर्कता अपनाइएको छ ।’


कपिलवस्तुका अधिकांश मतगणनास्थलमा तटबन्धका लागि प्रयोग गरिने जीआई तारकै जाली प्रयोग गरिएको छ भने कपिलवस्तु नगरपालिकामा भने फलामका डन्डीले गणनास्थल बारिएको छ । रोल्पामा पनि सबै गणनास्थलमा तारजाली र सीसी क्यामेराले निगरानी गरिएको छ । त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले तारजाली लगाएको देख्दा लोकतान्त्रिक प्रणाली र दलका आचरणप्रति थप आशंका लाग्ने स्थिति उत्पन्न भएको बताए । ‘जनताले स्वेच्छाले प्रदान गरेको मतदानप्रति स्वतन्त्र रूपमा गणना गर्दा विश्वास नहुने आचरण दलका नेता–कार्यकर्ताले देखाउनु दुःखद अवस्था हो,’ उनले भने, ‘यो आफैंप्रति अविश्वास गरिएको अवस्था हो ।’ प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मतपेटिका र गणनास्थलको सुरक्षाका लागि तारजाली लगाउने निर्णय भएको बताए ।

पाल्पाका १० वटै स्थानीय तहको मतगणनास्थलमा तारजाली छ । नागरिक समाजका सचिव भेषराज सुवेदीले भने तारजाली लगाउनु दल आफैंप्रतिको अविश्वास हुन सक्ने बताए । ‘अघिल्ला निर्वाचनमा मतपत्र च्यात्ने, खाने, लुट्ने प्रयास तिनै दलका कार्यकर्ताले गरे,’ उनले भने, ‘त्यस्ता उच्छृंखल कार्यकर्ताकै लागि तारजाली जरुरी हुन थाल्यो ।’ लोकतन्त्रको नाममा छाडातन्त्र मौलाएकाले नै यस्तो अवस्था आएको उनले बताए । नागरिक अगुवा तथा शिक्षासेवी चित्रवलीराम सुवालले राजनीतिक दल, सञ्चारमाध्यमले नै सही ढंगले अनुगमन गर्न नपाउने गरी गरिएको मतगणना जनताको मतलाई हेयभाव राखिएको ठहर हुने बताए । रूपन्देही, अर्घाखाँची, नवलपरासी, रुकुम पूर्व, बर्दियालगायत जिल्लाका सबै स्थानीय तहमा तारजालीभित्र मतगणना जारी छ । रूपन्देहीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जनताले दिएको मत गन्न पनि तारजाली लगाउनुपर्ने अवस्था आउनु दुर्भाग्य भएको बताए ।

गण्डकी प्रदेशका एकाधबाहेक मतगणनास्थलमा तारजालीले बारिएको छ । यसका लागि कतिपय पालिकामा विभिन्न सरकारी निकायबाट तारजाली सहयोगस्वरूप लिइएको छ भने कतिपयमा छुट्टै बजेटको व्यवस्था गरिएको छ । १ महानगर, २६ नगरपालिका र ५८ गाउँपालिका गरी ८५ स्थानीय तह रहेको प्रदेशमा ५ बाहेक सबै पालिकाका मतगणनास्थलमा तारजाली लगाइएको छ । पर्वतको फलेबास, म्याग्दीको बेनी र धवलागिरि, मनाङको नार्पाभूमिमा भने तारजाली लगाइएको छैन । तनहुँको व्यासमा तारजालीको सट्टा बाँसले बारिएको छ ।


पोखरा महानगरपालिकाको मतगणनास्थलमा सिँचाइ कार्यालयबाट तारजाली ल्याई बाँस किनेर बारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत नील पनेरुले बताए । पर्वतको कुस्मा नगरपालिकाको मतगणनस्थलमा तारजाली बेर्न करिब ४० हजार रुपैयाँ खर्च भएको एक कर्मचारीले बताए । गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जिल्लाका सबै मतगणनास्थलमा तारजाली लगाइएको बताए । नेपाल बारका निवर्तमान उपाध्यक्ष सुरेन्द्र थापामगरले मतको सुरक्षा गर्ने दृष्टिकोणबाट तारजाली लगाउनुलाई लोकतान्त्रिक अभ्यास नै रहेको ठान्छन् । ‘विगतमा भएका घटनाबाट पाठ सिकेर निर्वाचन आयोगले सुरक्षाको प्रबन्ध गर्नु लोकतान्त्रिक अभ्यास हो,’ उनले भने, ‘मतपत्र कागज होइन जनताको अभिमत हो ।’

प्रदेश १ का १ सय ३७ पालिकामध्ये १ सय ३० वटा स्थानीय तहको मतगणनास्थल तारजालीले घेरिएको छ । उदयपुरका ८ स्थानीय तहमध्ये चौदण्डीगढीमा मात्रै तारजालीले घेराबन्दी गरिएको छैन । मोरङका १७ वटै पालिकाको मतगणना तारजालीको घेराभित्रै सुरु गरिएको छ । अघिल्लो वर्ष झापाका १५ वटै स्थानीय तहको मतगणनास्थल सामान्य बैठक कोठामा थियो । कचनकवलका निर्वाचन अधिकृत वीरेन्द्र बस्नेत भन्छन्, ‘मतपत्र सुरक्षित होस् भन्ने हेतुले गणना व्यवस्थित गरिएको हो ।’ निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपाल मत च्यातिने, अर्कोतिर मिसिने, हावाले उडाउने समस्याबाट बचाउन यस्तो व्यवस्था गरिएको बताउँछन् । सुनसरीका १२ पालिकाकै मतगणनास्थलमा तारजाली हालिएको छ । चुनावी नतिजा पनि करिब सय मिटर टाढैबाट सुन्नुपर्ने व्यवस्था गरिएको सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले बताए । धनकुटामा पनि बन्द कोठाभित्र तारघेरा हालेर मतगणना गरिएको छ । मतगणना कार्यमा अवरोध भएका केही घटनाका कारण सुरक्षा अपनाइएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए ।


गणना गरिने कोठामा सीसीटीभी क्यामेरासहित संखुवासभाका पनि १० वटै पालिकाको मतगणना स्थलमा तारजाली छ । जिल्ला बार एकाइका अध्यक्ष उमेश शाक्य ५ वर्षअघिको ‘भरतपुर काण्ड’ ले सबैलाई त्रसित पारेको बताउँछन् । आठवटा पालिका रहेको सोलुखुम्बुको सबै गतगणनास्थलमा पहिलो पटक तारजाली लगाइएको छ । खोटाङका १० र भोजपुरका ९ गणनास्थलमा समेत तारजाली हालिएको छ । १० पालिका भएको इलाम, ६ पालिका भएको तेह्रथुम, ८ पालिका भएको ओखलढुंगा, ८ पालिका भएको पाँचथर र ९ पालिका भएको ताप्लेजुङमा पनि सबैतिर तारजालीभित्र मतगणना भइरहेको छ ।

कर्णालीका सबैजसो स्थानीय तहमा मतगणनास्थलमा तारजाली लगाइएको छ । ‘मतपत्रको सुरक्षाका लागि यति त गर्नैपर्‍यो नि,’ सल्यानका डीएसपी सुमित खड्काले भने, ‘माथिसम्म नलगाइए पनि घुँडासम्म पुग्ने गरी गणनास्थलमा तारबार लगाएका छौं ।’ सुर्खेतमा भने सिसाको ‘पार्टेसन’ गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । सुदूरपश्चिमका ९ जिल्लाका ८८ वटै मतगणना स्थल ग्याबेन वायरको तारजालीभित्र सुरु गरिएको छ । निर्वाचन आयोगको कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले मतपत्रको सुरक्षाका साथै स्थानीय सुरक्षा चुनौतीलाई मध्यनजर गरी यस्तो गरिएको बताए । बझाङ नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहले यस्तो हुनुमा लोकतन्त्रमा ‘बाँदर प्रवृत्ति’ हावी भएको बताए । लोकतन्त्रमा मतको सुरक्षा चुनौती हुनु भनेको शासन व्यवस्थामाथि नै चुनौती थपिएको उनको भनाइ छ ।

२०७४ को स्थानीय निर्वाचनमा मतगणनाका बेला धनुषाको नगराइन नगरपालिकामा मतपत्र नै चपाउन खोजेपछि ठूलै हल्लीखल्ली भएको थियो । मतगणना गर्ने क्रममा आफूपक्षीय उम्मेदवारले सन्तोषजनक मत नपाएको झोंकमा मतपत्र नै चपाउने प्रयास गरे । तर, सुरक्षाकर्मीको सहयोगमा गणकले उनको मुखभित्र हालिएको मतपत्र सुरक्षित रूपमै निकाल्न भ्याए । त्यतिबेला, मतगणनास्थल खुल्ला र सहज पहुँचमा थियो । त्यसकै फाइदा उठाउँदै उम्मेदवारका समर्थकले मतपत्र सजिलैसँगै थुतेर चपाउने प्रयास गरे ।

मधेस प्रदेशका सबै १ सय २६ स्थानीय तहमा मतगणनास्थल तारजालीले बारिएको छ । सर्लाही सदरमुकाम मलंगवा नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको हलमा भइरहेको छ । जहाँ कडा सुरक्षा व्यवस्थाबीच तारजालीसमेत राखिएको छ । दलहरूले आफ्ना कार्यकर्तालाई लोकतान्त्रिक संस्कार दिन नसक्दा मतगणनास्थलमा तारजाली बारबेर गर्नुपर्ने अवस्था आएको पूर्वनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेती बताउँछन् । उनले प्रत्येक निर्वाचनमा मतपत्रको सुरक्षाको विषय पेचिलो बन्दै गएको र तारजाली लगाउनुपर्ने अभ्यासबाट लोकतन्त्र संस्थागत नहुने बताए । ‘विवेक र संस्कारयुक्त राजनीति विकसित गर्नुपर्नेमा तारजाली नै लगाउनुपर्ने बाँदरे संस्कृति विकास भयो । यसलाई सुधार गर्न दलहरू नै नलागी हुन्न ।’

स्थानीय तह निर्वाचन निर्देशिकामा गणना कार्यका लागि खटाइएका कर्मचारी, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि, आयोगबाट पर्यवेक्षकका लागि अनुमति प्राप्त व्यक्ति वा आयोगबाट खटिएको पदाधिकारी वा अनुमति पाएको कर्मचारी वा व्यक्ति मात्र गणनास्थलमा बस्न पाउने व्यवस्था छ । त्यस्तै, गृह मन्त्रालयको स्थानीय तह निर्वाचन ‘सुरक्षा निर्देशन’ ले पनि मतगणनास्थल सुरक्षाका लागि ‘पारदर्शी छेकाबार’ लगाउन निर्देशन गरेको छ ।

प्रकाशित : जेष्ठ १, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्

उम्मेदवार नै नभएका चिह्नमा मत

राजनीतिक दलहरुको बहुरंगी गठबन्धन र ठूलो मतपत्रले मतदाता अलमलिए
कतिपय मतदाताले प्रमुख/उपप्रमुखमा दुईभन्दा धेरैमा मत दिएका छन् भने केहीले औंठाछाप लगाए
विराटनगर महानगरमा शनिबार साँझसम्म १ हजार २ सय ८२ मतगणना हुँदा १० प्रतिशत बदर
प्रदेश ब्युरो

काठमाडौँ — स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूबीच गठबन्धन र ठूलो मतपत्र हुनाले मतदाता अलमलमा परेको पाइएको छ । कतिपयले उम्मेदवार नै नभएका चिह्नमा र कतिपयले प्रमुख/उपप्रमुखमा दुईभन्दा धेरैमा मत दिएका छन् भने केहीले औंठाछाप लगाएका कारण मत बदर भएका छन् । गठबन्धन नभएको र राजनीतिक दल तथा उम्मेदवारले मतदाता शिक्षा दिएको क्षेत्रबाट भने मत बदर कम भएको देखिएको छ ।

विराटनगर महानगरमा शनिबार साँझसम्म १ हजार २ सय ८२ मत गणना हुँदा १० प्रतिशत जति मत बदर पाइएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए । निर्वाचन चिह्नका आधारमा ६ प्रतिशत र अन्य प्रकारले ४ प्रतिशत मत बदर पाइएको उनले बताए । एक गणकका अनुसार गठबन्धनका कारण मत बदर बढी भएको पाइएको छ । यहाँ प्रमुखमा रुख र उपप्रमुखमा छाता चिह्न भएका दलबीच गठबन्धन भएको छ । तर केहीले सातै छाप रुखमा र छातामा लगाउँदा बढी मत बदर भएको हो । ती गणकका अनुसार यसपालि औंठाछाप लगाएर मत बदर न्यून छ । अघिल्लो निर्वाचनमा यहाँ खसेको मतको करिब २५ प्रतिशत बदर भएको थियो ।

मोरङको सीमावर्ती धनपालथान गाउँपालिकामा बदर मत संख्या बढेको निर्वाचन अधिकृत टिकेन्द्रजंगवीर राणाले बताए । उनका अनुसार २ हजार मतगणना गर्दा पूर्ण बदर मत ७० वटा छ । अर्ध बदरको संख्या धेरै छ । ‘१० वटा मतगणना गर्दा ५ वटासम्म अर्ध बदर मतपत्र भेटिन्छन्,’ राणाले भने, ‘मतदाता शिक्षा नहुँदा अर्ध मत बदर धेरै छ ।’ झापाको प्रारम्भिक गणनामा शिवसताक्षी नगरमा १ हजार १ सय २ मत गणना हुँदा करिब २३.२३ प्रतिशत बदर पाइएको छ । ९ सय ४ मतगणना गर्दा खुला सदस्यमा २ सय १ मत बदर छन् । वडामा कांग्रेस, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धन थियो । यता माओवादी केन्द्र र एमाले वडाध्यक्ष एक पदका लागि एक्लाएक्लै चुनावी मैदानमा थिए । बढीजसो मतदाताले एउटै पदमा दुईपटक मत संकेत गरेको पाइएको छ । ‘अधिकांशले दुई चिह्नमा दुई मत संकेत गरेको भेटिएको छ,’ प्रमुख निर्वाचन अधिकृत ऋषिराम पौडेलले भने ।

निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार सबै पालिकामा बदरको अवस्था उस्तै छ । मत बदरको परिणामले मतदातामा पर्याप्त मतदान शिक्षा नपुगेको प्रस्ट देखिएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा दलहरू एक्लाएक्लै चुनावी मैदानमा थिए । बदर मत ज्यादै न्यून थियो । त्यो बेला मतदाता शिक्षा पनि थियो । शिवसताक्षीमा अघिल्लो पटक ११ वटै वडामा २ सय १२ मतमात्र बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

पाँचथरको कुम्मायक गाउँपालिकामा १ हजार ४ सय ९५ मत गणना हुँदा अध्यक्ष पदमा १ सय ५८ र उपाध्यक्षमा ३ सय १५ मत बदर भयो । यस्तै फिदिम नगरपालिकामा १ हजार ५ सय मतगणना हुँदा प्रमुख र उपप्रमुख दुवै पदमा १२ प्रतिशतभन्दा धेरै बदर भएको छ । जिल्लाका तुम्बेवा, फाल्गुनन्द, याङवरक र फालेलुङ गाउँपालिकामा पनि बदर मत उल्लेख्य छ ।

वाग्मती प्रदेशको मकवानपुरस्थित भीमफेदी गाउँपालिका—१ र २ को ३२ सय मत मतगणनामा १२ मत पूर्ण र ५० भन्दा बढी आंशिक बदर पाइएको छ । ‘सिंगो मतपत्र बदर भएको १२ वटा छ,’ निर्वाचन अधिकृत रुद्रहरि भण्डारीले भने, ‘एउटै चिह्नमा दुई पटक छाप लगाएको, एउटै पदमा २ स्थानमा छाप लगाएको ५० वटाभन्दा बढी मत बदर भएका छन् ।’ यहाँ ग्रामीणभन्दा बजार क्षेत्रका मतदाताबाट बढी मत बदर गएको देखिएको उनले बताए । मनहरी गाउँपालिकामा १६ सय मतगणना सक्दा २५ पूर्ण बदर र ६० आंशिक बदर पाइएका छन् । ०७४ मा मकवानपुरमा ३.९ प्रतिशतभन्दा बढी मत बदर भएको थियो । गत वर्षको तुलनामा यो वर्ष मत बदर कम हुने अनुमान गरिएको छ ।

प्रमुखमा २७ उम्मेदवार रहेको भरतपुर महानगरपालिकामा ३ सय मत गन्दासम्म ३९ मत बदर भयो । मतगणना स्थलमा खटिएका एमाले नेता कृष्ण भुर्तेल गठबन्धनका कारण मत संकेत गर्न अलमल हुँदा गणना नहुने गरेर मत बदर हुने समस्या देखिएको बताए । ‘गठबन्धन छ । मेयरमा एउटा पार्टीको चिह्नमा छाप लगाएर उपमेयरमा अर्कोमा लगाउनुपर्ने थियो । मतदाता यो कुराले अलमलमा परेको देखे । कसैले प्रमुख उपप्रमुख एउटै पार्टीको चिह्नमा छाप लगाएर गठबन्धनको अर्को दलको प्रमुख उपप्रमुखकै चिह्नमा पनि छाप लगाएको भेटियो,’ भुर्तेलले भने ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्की मतदाता अलमलिएको देखिएको र जिल्लामा सरदर १० प्रतिशत हाराहारी मत बदर हुने सम्भावना रहेको बताउँछन् । सात स्थानीय तह रहेको चितवनमा सत्तारूढ गठबन्धनले सातै पालिकामा तालमेल गरेका छन् । एमालेले राप्रपासँग भरतपुर र माडी नगरपालिकामा तालमेल गरेको छ । ‘गठबन्धनकै कारण मतदाता अलमलमा परेर बदर संख्या बढ्न सक्छ,’ निर्वाचन अधिकृत कार्कीले भने ।

काभ्रेमा शनिबार साँझसम्म अन्तिम परिणाम आएका धुलिखेल–१, भुम्लु–१ र महाभारत–१ मा उम्मदेवार नै नभएका चिह्नमा मत संकेत गरिएकाले धेरै मत बदर भएको छ । गठबन्धनका कारण ती दलका चिह्नमा संकेत गरेका मत धेरै बदर भएका हुन् । ‘उम्मेदवार नै नभएका उपाध्यक्ष पदमा धेरै मत संकेत भएको कारण धेरै बदर भएको छ,’ महाभारत गाउँपालिकाका निर्वाचन अधिकृत खुबीराम अधिकारीले भने, ‘आंशिक बदर भएका मत धेरै छन्, पूर्ण बदरको संख्या भने कम छ ।’ उनका अनुसार, वडा १ मा खसेको १ हजार ९८ मतमध्ये १५ मत पूर्ण बदर भएका छन् ।

भुम्लु गाउँपालिकाका निर्वाचन अधिकृत रुद्र कोइरालाले पनि आशिंक बदर हुनेको संख्या धेरै रहेको बताए । उनका अनुसार वडा १ का १७ सय २२ मतदाताले खुला सदस्य पदका लागि गर्न पाउने ३४ सय ४४ मतसंकेतमध्ये ५ सय ७२ वटा बदर भएका छन् । ‘पूर्ण बदरभन्दा पनि आंशिक बदर नै धेरै छ,’ उनले भने । भुम्लु १ मा २६ मत मात्रै पूर्ण बदर भएका छन् । धुलिखेल नगरपालिकाका सहायक निर्वाचन अधिकृत शेषराज दाहालका अनुसार कुनै पनि मत संकेत नगरी खाली छोडेको, उम्मेदवार नभएको चिह्नमा मत संकेत गरेको, ल्याप्चे लगाएको कारण मत बदर भएका छन् । धुलिखेलमा पनि आंशिक बदर नै बढी छ । धुलिखेल १ मा गणना भएको १२ सय ८४ मतमध्ये पूर्ण बदर ११ वटा छ ।

सुदूरपश्चिमको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रारम्भिक मतगणनामा बदर मत गतवर्षकै हाराहारी छ । भीमदत्तको तुलनामा धनगढी उपमहानगरका बदर मत केही बढी छन् । भीमदत्त—२ को २ सय मतगणना गर्दा ६ मत बदर देखिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका—१ मा १६ सय ४६ मत गणना गर्दा २० वटा बदर भएका छन् । मतदाता शिक्षा अभाव भए पनि प्रारम्भिक नतिजाअनुसार बदर मत गत वर्षभन्दा घटेको देखिएको छ । धनगढी उपमहानगरपालिकामा भने २ सय मत गणना हुँदा ४६ मत बदर भएको छ । डडेलधुरामा पनि बदर मत बढी छ । अमरगढी नगरपालिकाको २ सय मत गणना हुँदा २९ वटा बदर भएको छ । भागेश्वर गाउँपालिका १ मा १ सय मतगणना हुँदा २० मत बदर भएको छ । डडेलधुराकै परशुराम नगरपालिकाको प्रारम्भिक मतगणनामा १६ प्रतिशत मत बदर भएको छ । गतवर्ष कञ्चनपुरमा साढे ३ प्रतिशत मत बदर गएको थियो ।

डोल्पाको जगदुल्ला गाउँपालिकामा १ हजार ५ सय ३६ मत खसेकामा अध्यक्षमा निर्वाचित माओवादी केन्द्रका नारसिं रोकायाले ७ सय ७० मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका हेमबहादुर महताराका पक्षमा ७ सय ४६ मत थियो । दुर्गम गाउँपालिका भएकाले प्रमुख पदमा धेरै मत बदर हुने अनुमान गरिए पनि २० मत मात्र बदर भएको निर्वाचन अधिकृत जवाहरलाल हमालले बताए । ‘यस्तो दुर्गममा पनि बदर मत निकै कम हुँदा अचम्म लाग्यो,’ उनले भने । वडाहरूमा भने झन्डै २ सय मत बदर भएको उनले जानकारी दिए । जगदुल्लामा झन्डै १३ प्रतिशत मत वडा तहमा बदर भएको छ ।

कर्णाली प्रदेश राजधानी सुर्खेतमा भने शनिबार रातिसम्म झन्डै १५ सय मत गणना हुँदा २ सय ४१ मत बदर भएको छ । गाउँमा बदर नहुने मत सहरतिर किन भयो त ? प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले भने, ‘उम्मेदवार नभएको चिह्नमा छाप हानेको पाइएको छ । २ खण्डको मतपत्र थियो, त्यसमा वारिपारि पनि मत हालेको धेरै भेटियो ।’ कतिपयले वडा सदस्य पदमा २ भन्दा बढीमा छाप लगाउँदा पनि मत बदर भएको छ । उनका अनुसार केही मतदाताले स्वस्तिक छापको सट्टा औंठाछाप पनि लगाएको भेटिएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले भने यसपालि धेरै मत बदर हुने आकलन गरिए पनि कम भएको बताए । उनले भने, ‘मतदाता धेरै सचेत भएको यो निर्वाचनले देखायो ।’

– विनोद भण्डारी (विराटनगर), पर्वत पोर्तेल (झापा), लक्ष्मी गौतम (पाँचथर), प्रताप विष्ट (हेटौंडा), रमेशकुमार पौडेल (चितवन), नगेन्द्र अधिकारी (काभ्रे), अनिश तिवारी (सिन्धुपाल्चोक), मोहन बुढाऐर (धनगढी), डीआर पन्त (डडेलधुरा), भवानी भट्ट (कञ्चनपुर) र कृष्णप्रसाद गौतम (सुर्खेत)

प्रकाशित : जेष्ठ १, २०७९ ०६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×