मतगणना सुस्त, अन्तिम परिणाम ‘१० दिनभित्र’

ललितपुर महानगरमा एक, भरतपुर महानगरमा दुई र काठमाडौं महानगरमा ६ ठाउँमा गणना, सबै पालिकामा मतगणनास्थल थप गरेर चाँडै नतिजा सार्वजनिक गर्ने आयोगको दाबी

काठमाडौैं — निर्वाचन आयोगले मतगणनास्थल र कर्मचारी थप गरेर देशभरिको मतगणनाको अन्तिम परिणाम १० दिनभित्र सार्वजनिक गर्ने दाबी गरेको छ ।

मतगणना सुस्त, अन्तिम परिणाम ‘१० दिनभित्र’

ललितपुर महानगरमा एक, भरतपुर महानगरमा दुई र काठमाडौं महानगरमा ६ ठाउँमा गणना भइरहेको छ । तर धेरै मतदाता भएका सबै महानगरको गणना निकै सुस्त छ । सबै पालिकामा मतगणनास्थल थप गरेर चाँडै नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायतको टोली शनिबार काठमाडौं महानगरपालिका र भक्तपुरका मतगणनास्थलको अनुगमनमा निस्केको थियो । अनुगमनपछि थपलियाले मतगणनास्थल थप गरेर गणनाको गति बढाउने योजना बनाएका हुन् । २०७४ को निर्वाचनमा अन्तिम मतपरिणाम आउन १७ दिनसम्म लागेको थियो । चुनाव सम्पन्न भएलगत्तै शुक्रबार आयोगले ५ दिनभित्र सबै पालिकाको नतिजा आइसक्ने घोषणा गरेको थियो ।

‘१८ घण्टामा एउटा वडाको मतगणना सकियो भने ५ दिनमा सबै स्थानको मतपरिणाम आउन सक्ने अनुमान गरेका थियौं,’ थपलियाले भने, ‘गणना गर्ने स्थान कम भएपछि अन्तिम परिणाम आउन समय लाग्ने देखियो ।’ आयोगले जनशक्ति र स्थान थप गरी मतगणना बढाउन निर्देशन दिएको छ । बढीमा १० दिनभित्र अन्तिम नतिजा आइसक्ने उनले बताए । काठमाडौंमा तत्काल दुई स्थान थप गर्न निर्देशन दिएको उनले बताए । भरतपुरमा २ बाट बढाउन निर्देशन दिइसकेको आयोगले जनाएको छ । भरतपुरमा सबैभन्दा ढिलो मतगणना भइरहेको आयोगमा रिपोर्टिङ आएको छ । मतदान भएको सबैजसो स्थानमा गणना सुरु भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए ।

काठमाडौं र ललितपुर महानगरपालिकाको मतगणना गति पनि सुस्त छ । ललितपुर महानगरमा २९ वटा वडा छन् । शुक्रबारको मतदानमा ८६ हजार ५ सय ४० मत खसेको छ । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा महानगरको १ नम्बर वडाबाट मतगणना थालिएको छ । उक्त वडामा १७२६ मत खसेको थियो । शनिबार राति १० बजेसम्म ६०० मतमात्र गनिएको छ । यही गतिमा गणना सकिन कम्तीमा २० दिन लाग्ने निर्वाचन अधिकृतहरू नै स्वीकार गर्छन् । ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले उम्मेदवारहरू दलीय प्रतिनिधिमात्र नभई स्वतन्त्रबाट पनि धेरै जना भएकाले व्यवस्थापन गर्न मुस्किल परेको दाबी गरे । ‘मतगणनास्थल दुई ठाउँमा बनाउन कोठाको व्यवस्थापन गर्ने योजनामा छु,’ उनले भने । उनले ठूलो मतपत्र भएकाले पनि गणनामा ढिलाइ भएको बताए । ललितपुर महानगरमा एमालेबाट मेयर प्रत्याशी हरिकृष्ण व्यञ्जनकारले गणना सुधार गर्न प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताए । ‘तीन ठाउँमा गर्ने भन्ने कुरा भएको छ,’ उनले भने । स्वतन्त्र उम्मेदवार अजरमान जोशीले पनि ५ स्थानमा गणना गर्न सुझाव दिएको बताए ।

काठमाडौं महानगरपालिकाको गणनाको गति पनि उस्तै छ । कुल मतदाता ३ लाख २ सय ४२ जना रहेकामा १ लाख ९० हजार १ सय ७० मत खसेको छ । महानगरमा ३२ वटा वडा छन् । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा शनिबार बिहान करिब १० बजेबाट गणना थालिएकोमा राति १० बजेसम्म २ हजार २ सय ८३ मतमात्र गनिएको छ । अहिलेकै गतिमा गणना गरिए अन्तिम परिणाम आउन कम्तीमा पनि एक महिना लाग्ने देखिन्छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले १० छुट्टाछुट्टै ठाउँमा राखेर गणना गर्ने तयारीमा रहेको बताए । ‘मतगणना सुस्त गतिमा भयो भनेर ठाउँ/ठाउँबाट चुस्तदुरुस्त बनाउन सुझाव आइरहेको छ,’ उनले भने, ‘कमीकमजोरी सुधार्दै अगाडि बढ्दै छौं ।’ उनले मतगणनाको गति बढाउन प्रयास भइरहेको बताए । ‘हामी आवश्यक थप जनशक्ति र स्थानको व्यवस्थापन थालेका छौं,’ उनले भने । उपत्यकाका दुवै महानगरमा मत परिणाम सार्वजनिक गर्ने तरिका पनि चुस्तदुरुस्त छैन । उपत्यकाका दुवै महानगरपालिकाले राति पनि मतगणना हुने जनाएका छन् ।

स्थगित भएको १४ मतदानस्थलको मिति तोकियो

राजनीतिक दलहरूबीच विवाद हुँदा स्थगित भएको ८५ मध्ये १० मतदान केन्द्रको पुनः मतदान हुने मिति तय भए पनि अन्यको अझै अनिश्चित छ । पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले स्थगित भएको स्थानमा मिति तय गरेर निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने हुन्छ । आयोगमा अबेरसम्म १४ मतदान केन्द्रको मात्रै प्रस्तावित मितिबारे जानकारी गराएको छ । तीमध्ये १० वटामा ३ गतेभित्रै निर्वाचन गर्न मिति तय भइसकेको हो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिहराको क र ख मतदान केन्द्र, कालिकोटको रास्कोट गाउँपालिका १ भगवती मावि, कालिकोटकै पचालझरना गाउँपालिका, बझाङको जयपृथ्वी नगरपालिका–७ सुनीपीपलचौर मावि क र ख मतदान केन्द्रको निर्वाचन आइतबार हुँदै छ । आयोगका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिकाको ठाकुरदेवी मावि क, ख र गमा सोमबार निर्वाचनको मिति तय गरिएको छ । रामेछापको खाँडादेवी नगरपालिकामा पनि सोमबारै निर्वाचन हुँदै छ । कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि निर्वाचन स्थगित भएको थियो ।

बझाङको केदारस्युँ गाउँपालिका–४ जगनाथ माविको क र ख मतदान केन्द्र, बझाङको सुर्मा गाउँपालिका–७ कृष्ण प्रावि मतदान केन्द्र र सुर्मा–८ को आधाबगर माविको क र ख मतदान केन्द्रको निर्वाचन पनि सोमबारलाई तय भएको आयोगले जनाएको छ । आधारबगरमा एउटै व्यक्तिले दोस्रो पटक पनि मतदान गर्न खोज्दा विवाद भएपछि मतदान अवरुद्ध भएको थियो । यस्तै काभ्रेको पाँचखाल नगरपालिका–१३ श्रीराम मावि कोसीदेखाको क र ख मतदान केन्द्रमा मंगलबार निर्वाचन हुने भएको छ । जुम्लाको गुठीचौर गाउँपालिका शंकर माविको मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास विजय मावि क र ख मतदान केन्द्र, रौतहटको फतवाविजयपुर नगरपालिका ७ स्वास्थ्यचौकी क र ख मतदान केन्द्र, देवाही गोनाही नगरपालिका २ जनप्रिय प्रावि क र ख मतदान केन्द्रको निर्वाचन जेठ ३ भित्रै गराउन गर्न प्रस्ताव आए पनि अझै निर्णय भइसकेको छैन ।

आयोगले ५० प्रतिशतभन्दा कम मतदान भएको स्थानबाट उजुरी परेमा पुनः मतदान गराउने रणनीति लिएको छ । आयोगले साँफेबगरमा १६ प्रतिशतमात्रै मत खसेको मतदान केन्द्रको पुनः मतदान गराउने निर्णय गरेको छ । मतदान स्थगित भएका स्थानमध्ये बाराको पचरौता, रौतहटको देवाही गोनाही नगरपालिका–२ को मतदान केन्द्रमा मतपत्र नपुग्ने जानकारी प्राप्त भएको आयोगले जनाएको छ । त्यस्तै, रौतहटको यमुनामाई, गढीमाई, बोधीमाई, गरुडा नगरपालिकामा स्थगित भएको मतदान केन्द्रमा पनि मतपत्र फेरि छाप्नुपर्ने भएको छ । यस्तै, रौतहटको गरुडा नगरपालिका, सिराहाको गोलबजार नगरपालिकामा स्थगित भएको मतदान केन्द्रको पनि पुनः मतपत्र छाप्नुपर्ने भएको छ । बाजुराको बूढीगंगा नगरपालिकाको पनि मतपत्र छाप्नुपर्ने भएको छ । पुनः मतदान हुने सबै स्थानमा मतदान अधिकृतलगायत सबै कर्मचारी परिवर्तन गरिने आयोगले जनाएको छ ।

बाजुरामा आइतबार आयोगको टोली जाँदै

बाजुराको बूढीगंगा नगरपालिकामा शनिबार निर्वाचन हुन नसकेपछि आयोगले आयुक्तको नेतृत्वमा एउटा टोली अनुगमनका लागि पठाउने भएको छ । आयोगले निर्वाचन हुन नसक्नुको वास्तविकता बुझ्न आयुक्त सगुनशमशेर जबराको नेतृत्वमा आइतबार टोली पठाउन लागेको हो ।

बूढीगंगामा निर्वाचन गराउन २१ वटा मतदान केन्द्र तय गरिएको थियो । निर्वाचन गराउन सम्पूर्ण तयारी भए पनि सुरक्षाकर्मीसमेत नराखी निर्वाचन अधिकृतले निर्वाचन स्थगित गराउन नसक्ने गरी एकपक्षीय मतदान भएको जानकारी आयोगमा आएको थियो । ‘सिंगो नगरपालिकामा नै निर्वाचन हुन सकेन, त्यसैले वास्तविकता बुझ्न आयोगको टोली जान लागेको हो,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने । अनुगमन टोलीले तीन दिनभित्र प्रतिवेदन दिनेछ, यसको आधारमा मिति तय गरिने आयोगले जनाएको छ ।

बाजुरामा पुनः मतदान गर्न मतपत्र र अन्य निर्वाचन सामग्री पठाउनुपर्ने भएकाले १० गतेभित्र निर्वाचन गर्ने योजना रहेको उनले बताए । आयोगले बूढीगंगा नगरपालिकाको मतपत्र पुनः डिजाइन गरेर छाप्नुपर्ने हुन्छ । यसअघि पूरै जिल्लाको एउटै मतपत्र थियो । अब नगरपालिकाको मात्रै छुट्टै मतपत्र छापिनेछ ।

प्रकाशित : जेष्ठ १, २०७९ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?