प्रारम्भिक रुझान : सुधारतर्फ कांग्रेस–माओवादी

शनिबार मध्यरातिसम्म मतगणना सकिएका र भइरहेका ६१२ पालिकाको मतपरिणामका आधारमा

काठमाडौँ — स्थानीय तह निर्वाचनको प्रारम्भिक रुझानले कांग्रेस र माओवादीका लागि सकारात्मक संकेत गरेको छ । पाँच वर्षअघिको परिणाममा सुधार गर्दै दुवै दलले एमालेलाई दबाबमा राखेका छन् ।

प्रारम्भिक रुझान : सुधारतर्फ कांग्रेस–माओवादी

शनिबार मध्यरातिसम्म अन्तिम परिणाम आएका १४ पालिकामध्ये एमालेले ६, कांग्रेसले पाँच, एकीकृत समाजवादी २ र माओवादीले एक स्थान जितेका छन् । तर मतगणना भइरहेका ६ सय १२ पालिकामा भने कांग्रेसले स्पष्ट अग्रता लिएको छ । कांग्रेस २ सय ५९ स्थानीय तहमा र एमाले एक सय ६६ पालिकामा अगाडि छन् । त्यस्तै माओवादीले एक सय तीन स्थानीय तहमा अग्रता कायम गरेको छ । जसपाले २३, एमालेबाट विभाजित एकीकृत समाजवादीले १३ र लोसपाले ६ स्थानमा अग्रता कायम गर्दा २८ पालिकामा स्वतन्त्र उम्मेदवारहरू अगाडि छन् । खासमा काठमाडौं महानगरमा बालेन्द्र साह र धनगढी उपमहानगरमा गोपाल हमालले ठूला दलका उम्मेदवारलाई पछाडि पारेका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा पनि एमाले अहिलेजस्तै मूलतः एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो, त्यो बेला देशका कुल सात सय ५३ मध्ये दुई सय ९४ अर्थात् ३९ प्रतिशत पालिका जितेर एमाले पहिलो दल बनेको थियो । अहिलेको प्रारम्भिक रुझानमा भने एमाले दोस्रो स्थानमा छ । शनिबार मध्यरातिसम्म मतगणना सकिएका र भइरहेका ६ सय १२ पालिकामध्ये एमाले २८ प्रतिशतमा अगाडि छ ।

अघिल्लो निर्वाचनमा ३५ प्रतिशत पालिका जितेको कांग्रेस जारी मतगणनामा ४३ प्रतिशतसहित अगाडि छ ।

२०७४ को निर्वाचनमा कांग्रेसले २ सय ६६ पालिकामा जितेको थियो । अहिले ६ सय १२ पालिकामा गणना हुँदा प्रमुख पदमा कांग्रेसले २ सय ५९ स्थानमा अग्रता लिएको छ ।

स्थानीय निर्वाचनमा प्रारम्भिक मतगणनाअनुसार माओवादीको अवस्थामा सामान्य सुधारको संकेत गरेको छ । एक स्थानीय तहमा विजयी घोषित माओवादी १ सय ३ पालिका अर्थात् १७ प्रतिशतमा अग्रस्थानमा छ । २०७४ को निर्वाचनमा माओवादीले कुल १ सय ६ स्थान अर्थात् १४ प्रतिशतमा प्रमुख जितेको थियो ।

एकीकृत समाजवादीले भने सामान्य नतिजाको संकेत गरेको छ । दुई स्थानमा जितेको यो दल १३ स्थानमा अगाडि छ । यो करिब साढे २ प्रतिशत हो । एकीकृत समाजवादीले गठबन्धनबाट उम्मेदवारी पाएका एक महानगर (पोखरा) र एक उपमहानगर (हेटौंडा) मा सामान्य संख्याको अग्रता लिइरहेको छ । त्यस्तै जनता समाजवादी पार्टीले २३ स्थानमा अग्रता लिएको छ, गणना जारी रहेका स्थानमध्ये यो साढे तीन प्रतिशत हो ।

जसपाले अघिल्लो चुनावमा मधेस प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये २६ र बाँकी प्रदेशमा चार गरी ३० स्थानमा जितेको थियो । जुन करिब ४ प्रतिशत थियो ।

प्राप्त मत परिणामले गठबन्धन ‘सुरक्षित’ गन्तव्यतिर गएको सम्बन्धित दलका नेताहरूको बुझाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रतिको अविश्वास पनि निर्वाचनमा प्रकट भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतको भनाइ छ । ‘प्रारम्भिक मत परिणामले कांग्रेसको अवस्था सुधार भएको देखिएको छ, एमाले अध्यक्ष ओलीप्रति विश्वास कम हुँदै गएको पनि प्रस्ट भएको छ । एमालेको विकल्प कांग्रेस हो भन्ने सन्देश आएको छ,’ उनले शनिबार राति कान्तिपुरसँग भने, ‘परिणाम सकारात्मक हुनुमा स्वाभाविक रूपमा गठबन्धनले पनि भूमिका खेलेको छ ।’

एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रारम्भिक मत परिणाममा आफ्नो दललाई अपेक्षाभन्दा कम देखिएको उल्लेख गर्दै यसो हुनुको पछाडि सत्ताको घेराबन्दी मुख्य कारण भएको बताउँछन् । ‘सर्वत्र घेराबन्दीबीच पनि निर्वाचनको यो प्रदर्शन हुनु उल्लेख्य हो, यद्यपि यो मत परिणाम हामीले अपेक्षा गरेभन्दा कम हो,’ उनको टिप्पणी छ, ‘कांग्रेसले आफ्नै पौरखले प्रगति नगरेको देखाउँछ । कांग्रेसको सफलतामा एकल पौरख होइन, सत्ताको चरम दुरुपयोगले यो अवस्थामा आएको हो ।’ उनले कतिपय पालिकामा पार्टीविरुद्ध उठेका बागीले पनि केही असर पुर्‍याएको ज्ञवालीको भनाइ छ । ‘सबै परिणाम आइसकेपछि गम्भीर रूपमा समीक्षा गरी अघि जान्छौं,’ उनी भन्छन् ।

माओवादी नेता वर्षमान पुन एमाले अध्यक्ष ओलीको अहंकारका कारण पनि कांग्रेस र माओवादीको अवस्था सुधार भएको बताउँछन् । ‘एमाले विभाजन भयो, त्यसको फाइदा हामीलाई पनि भयो,’ उनले भने, ‘यो परिणामले ओलीजीले अहंकार छोड्नुपर्छ, यो मत परिणामले सबै दलले शिक्षा लिनुपर्छ ।’

गठबन्धनका अन्य चार दलले भने कांग्रेसका तर्फबाट आफूहरूलाई अपेक्षाकृत मत नपरेको प्रारम्भिक विश्लेषण गरेका छन् । ‘संविधान र लोकतन्त्रका लागि बनेको गठबन्धन हो, यही मर्मअनुसार गठबन्धनका अन्य दलका उम्मेदवारलाई कांग्रेसका मत अपेक्षाकृत ट्रान्सफर भएको देखिएन । प्रारम्भिक मत परिणाम भएकाले यसैका आधारमा यही हुन्छ भन्ने अवस्था त छैन तर निर्वाचन परिणामपछि गठबन्धन र भविष्यको तालमेलबारे नयाँ ढंगले छलफल त गर्ने ठाउँमा पुगिन्छ,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने । तर, धेरै ठाउँमा गठबन्धनकै बलमा एमालेलाई हराउन सफल भएको उनको बुझाइ छ ।

राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालले २०४९ पछि कांग्रेस सहज क्षेत्रमा प्रवेश गरेकाले चुनावी परिणाममा पनि सुधार हुने विश्लेषण गर्छन् । ‘कांग्रेसमा सिद्धान्तको समस्या थिएन, नेतृत्वको समस्या हो, अहिले महामन्त्रीमा दुई युवा निर्वाचित भएका छन् । अब कांग्रेस सहज क्षेत्रमा प्रवेश गर्‍यो,’ भन्छन्, ‘पहिला नेकपा र त्यसपछि एमाले विभाजन हुनुले पनि कांग्रेसलाई सहज भएको हो ।’

यो निर्वाचनमा नयाँ पार्टीको खास उदय हुने देखिएको छैन । विवेकशील साझा, जनमत र नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले चुनावमा भाग लिए पनि प्रभाव जमाउन सकेनन् । पार्टी विभाजनपछि राप्रपाको केही स्थानमा मत बढाएको देखिन्छ ।

६ महानगर र ११ उपमहानगरपालिकामा केन्द्रबाटै सिट बाँडफाँट गरेर तथा जिल्लाहरूमा स्थानीय समझदारीमा गठबन्धन गरिएको थियो । जिल्ला तहबाट देशव्यापी प्रयास भए पनि २ सय ९ पालिकामा मात्रै ‘सेट’ मा तालमेल भएको छ । एकतिहाइभन्दा पनि कम अर्थात् २८ प्रतिशतमा मात्रै तालमेल सम्भव भएको हो । सेट तालमेल भएकामध्ये कांग्रेसले १ सय ३४, माओवादीले ४९, एकीकृत समाजवादीले १८, जसपाले ४ र राष्ट्रिय जनमोर्चाले ४ पालिकामा प्रमुख/अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

तर गठबन्धन जस्ताको त्यस्तै कार्यान्वयन नभएको भन्दै अन्य दलले गुनासो गरेका छन् । जनकपुर उपमहानगरपालिकामा गठबन्धनबाट जसपाका उम्मेदवार मेयरमा उठेका थिए, तर कांग्रेसबाट विद्रोह गरेका स्वतन्त्र मेयर उम्मेदवार मनोजकुमार साहले अग्रता कायम राखेका छन् । जसपाका उम्मेदवार यो समाचार तयार गर्दासम्म छैटौं स्थानमा छन् ।

विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयरमा कांग्रेस र उपमेयर जसपाका उम्मेदवार छन् । प्रारम्भिक नतिजामा कांग्रेस उम्मेदवारले अग्रता लिँदा उपमेयरमा जसपाका उम्मेदवार एमालेभन्दा धेरै पछि छन् । जसपा आफूमाथि कांग्रेसबाट धोका भएको निष्कर्षमा पुगेको छ । ‘प्रारम्भिक मत परिणाम हेर्दा गठबन्धनमा कांग्रेस इमानदार देखिएन । यसलाई नोटिसमा राखेका छौं,’ जसपाका एक नेताले भने ।

एकीकृत समाजवादीले मेयर पाएको हेटौंडा उपमहानगरपालिकाको प्रारम्भिक मत परिणाममा पनि एकीकृत समाजवादी र एमालेका मेयर उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ । तर उपमेयरमा कांग्रेसका उम्मेदवार धेरै मतले अगाडि छन् । ललितपुर महानगरपालिकामा कांग्रेस मेयर र उपमेयरमा माओवादीको उम्मेदवारी थियो । प्रारम्भिक नतिजाअनुसार मेयरमा कांग्रेस उम्मेदवारले धेरै मतअन्तरले अग्रता गरिरहेका छन् भने उपमेयरमा माओवादी उम्मेदवारले धेरै कम मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसको भोट नगएको माओवादी नेता लीलामणि पोखरेलको टिप्पणी छ । ‘प्रारम्भिक नतिजा हेर्दा गठबन्धन भएका केही ठाउँमा खासगरी कांग्रेसबाट भोट ‘ट्रान्सफर’ कम देखिन्छ,’ माओवादी नेता पोखरेलले भने, ‘अर्कोतर्फ माओवादी भर्सेस अरू राजनीतिक दलको गठबन्धन पनि देखियो ।’

प्रकाशित : जेष्ठ १, २०७९ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?