१४ पालिकाको परिणाम सार्वजनिक, कुन दलले कति जिते ? - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्थानीय तह निर्वाचन

१४ पालिकाको परिणाम सार्वजनिक, कुन दलले कति जिते ? 

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । शनिबार मध्यरातिसम्ममा १४ वटा स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा एमालेले ६, नेपाली कांग्रेसले ५, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ पालिकाको प्रमुख जितेका छन्।

माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिका एमाले, कांग्रेस, एकीकृत समाजवादीसहितको गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिट जितेको छ। अहिलेसम्म निर्वाचित भएकामध्ये मनाङको नासोँ गाउँपालिकामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल थियो। त्यहाँ गठबन्धनबाट कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ निर्वाचित भएका छन् । त्यसबाहेक अन्यमा भने दलहरु एक्ला-एक्लै प्रतिस्पर्धामा थिए। कांग्रेस गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर, उपमेयर र बहुसंख्यक वडाध्यक्ष समेत जितेको छ । २०७४ सालमा भएको स्थानीय तह निर्वाचन सदरमुकाम रहेको रेसुङा नगरपालिकामा एमालेले जीत हासिल गरेको थियो।

निर्विरोध निर्वाचित भएका तीन स्थानीय तहलाई अलग गर्ने हो भने अहिलेसम्म ११ स्थानीय तहको अन्तिम परिणाम आएको छ । त्यसमध्ये नेकपा एमालेले ५, कांग्रेस ५ र माओवादी केन्द्रले १ स्थानमा जितेको छ ।

शनिबार राति १२ बजेसम्मको परिणामअनुसार कांग्रेसले २६० स्थानमा अग्रता लिएको छ भने एमालेले १६७ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १०३, एकीकृत समाजवादीले १० र जसपाले २३ स्थानमा अग्रता बनाएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ ००:११
प्रतिक्रिया
पठाउनुहोस्

पोखरा महानगरमा एमालेको अग्रता

कान्तिपुर संवाददाता

काठमाडौँ — कास्कीको पोखरा महानगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ । पोखरा महानगरमा एमालेको तर्फबाट मेयरका प्रत्याशी कृष्णबहादुर थापाले ११३ मतका साथ अग्रता बनाएका हुन् ।

त्यस्तै गठबन्धन दल नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरका प्रत्याशीले १०९ मतका साथ थापालाई पछ्याइरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शंकर खरालले ११ र स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले २ मत प्राप्त गरेका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ ००:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×