१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दाङका ४/४ पालिकामा माओवादी र कांग्रेसको अग्रता, १ मा एमाले

दुर्गालाल केसी

दाङ — दाङ जिल्लाको ९ पालिकामध्ये कांग्रेस र माओवादी केन्द्रले चार/चार पालिकामा अग्रता लिएका छन् भने एमाले एक पालिकामा मात्र अगाडी छ ।

दाङका ४/४ पालिकामा माओवादी र कांग्रेसको अग्रता, १ मा एमाले

२०७४ मा दुई उपमहानगरपालिका, एक नगरपालिका र तीन गाउँपालिकासहित ६ पालिका जितेको एमालेले यसपटक एक पालिकामा मात्रै अग्रता लिइरहेको छ ।

घोराही उपमहानगरपालिकाका साथै बंगलाचुली, राजपुर र राप्ती गाउँपालिकामा माओवादी केन्द्रको अग्रता छ । लमही नगरपालिकाका साथै बबई, दंगीशरण र शान्तिनगर गाउँपालिकामा कांग्रेसको अग्रता छ । गढवा गाउँपालिकामा भने एमालेको अग्रता छ ।

२०७४ मा राजपुर, राप्ती र शान्तिनगर गाउँपालिका जितेको कांग्रेस चार पालिकामा अग्रता लिइरहेको छ । कांग्रेस अहिले एक्लै निर्वाचन लडेको पालिकामा अग्रता लिइरहेको छ । त्यतिबेला बंगलाचुली गाउँपालिका मात्रै जितेको माओवादी यसपटक चार पालिकामा अग्रता लिन सफल भएको छ । घोराही, बंगलाचुली र राप्तीमा गठबन्धनमा सहभागी भएर माओवादीले अग्रता लिएको छ भने राजपुरमा एक्लै प्रतिस्पर्धा गरेर पनि अग्रता लिइरहेको छ ।

घोराहीको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेल १ सय ७२ मतका साथ अग्रस्थानमा छन् । उनलाई एमालेबाट नरुलाल चौधरीले १ सय ४५ मतका साथ पछ्याइरहेका छन् । चौधरी २०७४ मा मेयरमा निर्वाचित भएका थिए । घोराहीमा कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । उपमेयरमा गठबन्धनबाट कांग्रेसका भूपबहादुर डाँगी १ सय ८० मतका साथ अग्रस्थानमा छन् । एमालेबाट हुमा कुमारी डिसीले १ सय ४० मतका साथ पछ्याइरहेकी छन् ।

बंगलाचुलीको अध्यक्षमा माओवादी केन्द्रका सुवास पुन २ सय ५० मतका साथ अग्रस्थानमा छन् । उनी कांग्रेससँगको गठबन्धनका उम्मेद्वार हुन् । एमालेका भेषराज खत्रीले २ सय १६ मतका साथ पछ्याइरहेका छन् । उपाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका भक्तबहादुर जिसी २ सय ५९ मतका साथ अग्रस्थानमा छन् । एमालेकी सरस्वता कुमारी घर्ती २ सय ११ मतका साथ पछ्याइरहेकी छिन् ।

राजपुरको अध्यक्षमा २ सय ८६ मतका साथ माओवादी केन्द्रका चक्रबहादुर खड्का अगाडि छन् । एमालेका कुलराज गिरी २ सय ४० मतका साथ दोस्रो र कांग्रेसका शरदकुमार बुढाथोकी १ सय ११ मतका साथ तेस्रो स्थानमा छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकै पुष्पा यादव २ सय ९३ मतका साथ अग्रस्थानमा छन् । एमालेकी सिता यादवले २ सय ३५ मतका साथ पछ्याइरहेकी छिन् । कांग्रेसकी धनपतीदेवी यादव १ सय १४ मतका साथ तेस्रो स्थानमा छन् । उनी २०७४ को निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

लमही नगरपालिकाको मेयरमा कांग्रेसका जोगराज चौधरीले अग्रता लिएका छन् । उनले २ सय १५ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका वसन्तराज शर्माले १ सय ६८ मतका साथ पछ्याइरहेका छन् । एमालेका दण्डीराम चौधरी १ सय ४६ मतका साथ तेस्रो स्थानमा छन् ।

लमहीको उपप्रमुखमा भने एमालेकी सुशीला शर्मा १ सय ४८ मतका साथ अग्रस्थानमा छन् । माओवादी केन्द्रकी गंगा पाण्डेले १ सय २३ मतका साथ पछ्याइरहेकी छिन् भने कांग्रेसकी लक्ष्मी योगी १ सय २२ मतका साथ प्रतिस्पर्धा गरिरहेकी छन् ।

राप्तीमा पनि माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट माओवादीका प्रकाश विष्ट अगाडि छन् । अध्यक्षमा विष्टले १ सय ६७ प्राप्त गरेका छन् भने कांग्रेसका जगदम्बाकुमारी चौधरी १ सय १६ मतका साथ दोस्रो स्थानमा छिन् । चौधरी २०७४ मा उपाध्यक्ष निर्वाचित भएकी थिइन् । एमालेका जगतप्रसाद पोख्रेल ३८ मतका साथ तेस्रो स्थानमा छन् । उपाध्यक्षमा गठबन्धनबाट जनमोर्चाका केशवराज खनालले १ सय १३ मतका साथ अग्रता लिएका छन् भने एमालेकी कमलापती चौधरीले ३४ मतका साथ पछ्याइरहेकी छिन् ।

बबई गाउँपालिकामा पनि ६ सय ४५ मतका साथ कांग्रेसका कुलबहादुर खत्री क्षेत्रीले अध्यक्षमा अग्रस्थान हासिल गरेका छन् । एमालेका भुवनेश्वर पौडेल ५ सय २१ मतका साथ दोस्रो स्थानमा छन् । पौडेल २०७४ मा अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी केन्द्रका भिमबहादुर वली ३ सय ११ मतका साथ तेस्रो स्थानमा छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकी बमकुमारी खड्का ५ सय ९७ मतका साथ अग्रस्थानमा छन् । एमालेकी सावित्रा विश्वकर्मा ५ सय १२ मतका साथ दोस्रो स्थानमा छन् । उनी पनि २०७४ मा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । माओवादी केन्द्रकी अञ्जु घर्ती ३ सय ३२ मतका साथ तेस्रो स्थानमा छिन् ।

दंगीशरणको अध्यक्षमा ५ सय ९६ मतका साथ कांग्रेसका शम्भु गिरी अग्रस्थानमा छन् । एमालेका मेघनाथ शाह ३ सय २२ मतका साथ दोस्रो र माओवादी केन्द्रका मनिराम चौधरी १ सय १ मतका साथ तेस्रो स्थानमा छन् । उपाध्यक्षमा कांग्रेसकै पिमाकुमारी चौधरी ५ सय ५० मतका साथ अगाडि छन् । उनी २०७४ मा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । एमालेकी बुधनी चौधरी ३ सय ४३ र माओवादी केन्द्रकी निर्मला वली १ सय ९ मतका साथ प्रतिस्पर्धा गरिरहेका छन् ।

यसैगरी शान्तिनगर गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसका प्रमोद बस्नेत ४ सय ६९ मतका साथ अग्रस्थानमा छन् । माओवादी केन्द्रका मोहनलाल वली ४ सय १७ मतका साथ दोस्रो र एमालेका विष्णुबहादुर केसी २ सय ५३ मतका साथ तेस्रो स्थानमा छन् । उपाध्यक्षमा कांग्रेसकी प्रेमाकुमारी बुढाथोकी ४६१ मतका साथ अग्रस्थानमा छिन् । माओवादी केन्द्रकी राधिका परियार ४ सय २२ मतका साथ दोस्रो र एमालेकी कमला भण्डारी २ सय ५० मतका साथ तेस्रो स्थानमा छिन् ।

तुलसीपुर उपमहानगरपालिकामा भने जेठ ३ गते मात्रै मतगणना हुने भएको छ । तुलसीपुर १७ मा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार लबरु चौधरीको बिरामी भएर मृत्यु भएपछि उक्त वडाको निर्वाचन निर्वाचन जेठ ३ गते सरेको छ । त्यहाँ उनका छोरा प्रदिप चौधरीले उम्मेद्वारी दिएका छन् । जेठ ३ मा वडाको मतदान सकेर मात्रै मतगणना थालिने भएको छ । अन्य १८ वडामा भने शुक्रबार नै मतदान भइसकेको छ ।

गढवा गाउँपालिकामा भने एमालेले अग्रता लिएको छ । एमालेका सहजराम अहिरले अध्यक्षमा २ सय १६ मतका साथ अग्रता लिएका छन् । माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेलले २ सय ३ मतले पछ्याइरहेका छन् । कांग्रेसका सर्वजीत डिसीले ६६ मत प्राप्त गरेका छन् । अहिर २०७४ मा पनि अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा एमालेकै सीताकुमारी चौधरी २ सय १५ मतका साथ अग्रस्थानमा छिन् । काँग्रेसकी शारदाकुमारी चौधरी ५९ मतका साथ दोस्रो र नेकपा एकिकृत समाजवादीकी शान्ति चौधरी ३६ मतका साथ तेस्रो स्थानमा छिन् । शान्ति २०७४ मा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गढवामा माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धन छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?