२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

लुम्बिनीमा देउवा–मोदी वार्ता हुने

राजेश मिश्र

नयाँदिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता हुने भएको छ । नेपाल र भारतबीच प्रधानमन्त्री तहमा डेढ महिनाभित्रै द्विपक्षीय वार्ता हुने भएको हो । 

लुम्बिनीमा देउवा–मोदी वार्ता हुने

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका अवसरमा सोमबार केही घण्टाका लागि लुम्बिनी आउँदै छन् । नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विनय मोहन क्वात्राले गत महिना देउवाको भारत भ्रमणका बेला भएका संवादकै बिन्दुबाट शीर्ष तहमा कुराकानी हुने उल्लेख गरे । प्रधानमन्त्री देउवाले गत चैत तेस्रो साता भारत भ्रमण गरेका थिए । देउवाको निम्तोमा मोदीले लुम्बिनी भ्रमण गर्न लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

विदेश सचिव क्वात्राले छोटो अवधिमै भारतका तर्फबाट गरिएको ‘रिटर्न’ भ्रमणले दुई देशबीचको निकटतालाई झल्काएको बताएका छन् । ‘नेपाल र भारतबीच धेरै क्षेत्रमा बहुआयामिक सम्बन्ध छ,’ उनले भने, ‘दुई शीर्ष नेताहरूको भेटवार्तामा त्यस्ता धेरै विषयबारे कुराकानी हुन सक्छ ।’ भेटमा ऊर्जा, व्यापार, कनेक्टिभिटी, साझेदारीलगायत विषय छलफल हुन सक्ने उनको भनाइ छ । विदेश सचिव क्वात्राले मोदीको लुम्बिनी भ्रमणका बेला सहमति हुन सक्ने विषयबारे केही बताएनन् ।

मोदीले लुम्बिनीमा मायादेवी मन्दिरको दर्शन, त्यसपछि बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास, प्रधानमन्त्री देउवासँगको द्विपक्षीय वार्ता र बुद्ध जयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । ‘मोदीको भ्रमण संक्षिप्त र व्यस्त रहनेछ । बुद्धको जन्मस्थल लुम्बिनीमा मोदीको पहिलो भ्रमण हुन लागेको हो । नेपालका लागि यो उहाको पाँचौं भ्रमण हो,’ क्वात्राले भने ।

सीमा विवादका विषयमा कुनै कुरा हुन सक्छ कि भन्ने प्रश्नमा क्वात्राले त्यसबारे द्विपक्षीय संयन्त्रबाटै काम हुने बताए । मोदी भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग नगरीकन हेलिकोप्टरबाट लुम्बिनी उत्रन लागेको विषयमा उनले भने, ‘प्रधानमन्त्रीको भ्रमण सुरक्षासँग पनि जोडिने भएकाले त्यस विषयमा म केही बताउन सक्दिनँ,’ उनले भने ।

प्रकाशित : वैशाख ३१, २०७९ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?